रेकर्ड ब्रेकर
लण्डनमा बन्यो विश्वकै ठूलो समोसा, तौल कति होला?
काठमाडाैं, भदाै ८–बेलायतमा बनाइएकोे एउटा समोसाले विश्व कीर्तिमान कायम गरेको छ।
बेलायतकोे राजधानी लण्डनमा बनाइएका एक ५३.१ किलो तौल बराबरको समोसा हालसम्मकै सबैभन्दा बढी वजन भएको समोसाको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन सफल भएको अन्तर्राट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उत्तरी बेलायतस्थित ब्रेडफोर्ड कलेजमा सो समोसा बनाइएको हो। यसअघि उक्त कीर्तिमान एक सय १०.८ किलो तौल भएको समोसाको नाममा थियो।
कार्यक्रमका आयोजक फरिद इस्लामका अनुसार उक्त समोसा बनाउन १५ घण्टा लागेको थियो। ‘पहिले त हामीलाई निकै सजिलो लागेको थियो तर पछि थाहा भयो कि यो देशमा यति ठूलो भाँडा नै छैन जसमा यत्रो समोसा बनाउन सकियोस्। अनि हामीले एउटा छुट्टै भाँडा बनाउन लगायौँ,’ उनले भनेका छन्।
’गिनिज बुक अफ रेकर्ड्स’का अधिकारी प्रवीण पटेलले समाचार संस्था एएफपीसँग कुरा गर्दै भनेका छन्, ‘विश्व कीर्तिमान बनाउनका निम्ति समोसा जस्तै स्वरुप हुनुपर्छ, मैदाभित्र प्याज र केराउ मिसिएको हुनुपर्छ। तेलमा पकाएपछि त्यसको आकारमा परिवर्तन हुनुहुँदैन। र, मान्छेले खान मिल्ने जस्तो समोसा देखिनुपर्छ। मानिसहरुले पूरै समोसा खान पनि सक्नुपर्छ।’
कीर्तिमान कायम भएको घोषणा गरिएपछि समोसा स्थानीयलाई बाँडिएको थियो।