Suvadin, Home

Cover Image

 मोबाइलको स्क्रिनमा तीन गुणा र माउस र किबोर्डमा ट्‍वाइलेट सिटमा जत्तिकै किटाणु !

एजेन्सी । ब्याक्टेरिया सम्बन्धि गरिएको नयाँ अनुसन्धानपछि हामीले हरेक समय प्रयोग गर्ने मोबाइल फोनमा ट्वाइलेटको सिटमा जत्तिकै र सामान्य ठाउँ भन्दा १० गुना बढी हानिकारक किटाणुहरु बस्ने गरेको पत्ता लगाइएको छ । 

डेलीमेलमा प्रकाशित समाचारअनुसार सो अनुसन्धानमा विशेषगरी हाम्रो फोनको स्क्रिनमा सबैभन्दा बढी ब्याक्टेरियालगायतका किटाणुहरु हुने देखिएको हो । अध्ययनकर्ताहरुले यसलाई पुष्टि गर्न यसबाट प्राप्त तस्बिरहरु समेत सार्वजनिक गरेका हुन् जसकारण यसलाई अहिले गम्भीर समस्याका रुपमा हेरिएको बताइएको छ । 

त्यसैगरी सबैभन्दा बढी प्रयोगमा आउने फोनको पछाडिको भाग, लक गर्ने बटन र  होम बटनमा पनि अधिक किटाणुहरु फैलने गरेको अनुसन्धानको दाबी छ । उनीहरुका अनुसार हामीले फोनलाई कहिल्यै सफा नगर्ने र त्यसैलाई लामो समयसम्म निरन्तर प्रयोग गर्ने प्रवृत्तिकै कारण यस्तो हुने गरेको हो । 

सो अनुसन्धानमा अध्ययनकर्ताहरुले आइफोन, स्यामसङ र गुगल पिक्सेलजस्ता फोनहरुका विभिन्न भागको जाँच गरेका थिए जसमा अरु भाग भन्दा सबैको स्क्रिनमा नै बढी किटाणु हुने गरेको पाइएको हो । 

त्यसमा पनि हरेक पटक १०० को सङ्ख्यामा बढ्दै  जाने किसिमका उच्च स्तरीय ब्याक्टेरियाहरु यसरी फैलिएर जम्मा हुने गरेको बताइएको छ । मोबाइल बाहेक अफिसमा प्रयोग गरिने माउस र किबोर्डमा भने केही कम स्तरका ब्याक्टेरियाहरु पाइने गरेको उनीहरुको भनाइ छ । 

विशेषज्ञ डाक्टर सरिन लखानीका अनुसार यसले छाला सम्बन्धि गम्भीर समस्या निम्त्याउन सक्छ । उनी भन्छिन्, “हाम्रो फोन नै हाम्रा छाला सम्बन्धी समस्याका प्रमुख कारण हुन् । विशेषगरी डन्डिफोर लगायतका संक्रमण यसैबाट फैलिने गरेको हो ।”

त्यसकारण यसबाट बच्ने सबैभन्दा उपयुक्त उपाय लामो समयसम्म मोबाइलमा कुरा गर्नु पर्दा हेडफोनको प्रयोग गर्ने र फोनलाई दुईदुई दिनमा सफा गरिरहँदा पनि यसले धेरै ब्याक्टेरियालाई हटाउन सक्ने उनी बताउँछिन् । 

यस अभियानका प्रमुख ग्यारि बिस्टनले भनेका छन्, “हाम्रो फोन हरेक समय हाम्रो नजिक हुने गर्दछ र हामीले त्यसलाई हामीसँगै सबै ठाउँ लगिरहेका हुन्छौँ । त्यसकारण प्रत्येक चोटी बाहिर निस्कँदा फोनमा नयाँ ब्याक्टेरिया थपिँदै जानु स्वभाविक कुरा हो ।” तर यति थाहा भएर पनि हामीले दैनिक प्रयोग गर्ने फोनका यस्ता हानिकारक पक्षलाई बेवास्ता गरिरहेका हुन्छौँ र हाम्रो अनुहारकै नजिक लगिरहेका हुन्छौँ ।

त्यसैले पनि आफूहरुले यो अनुसन्धानमार्फत हाम्रो फोनमा अदृश्य रुपमा थुप्रिरहेका किटाणु बढ्दै जाँदा कस्तो देखिन्छ भन्नेबारे सचेत गराउन यो अभियान सुरु गरेको उनले बताए । 


 

More form the Internet

loading...