Suvadin, Home

Cover Image

गर्मीमा छल्‍न स्विमिङ : यस्ता छन् फाइदा र संक्रमणको जोखिम

काठमाडौं । पछिल्लो समय सहरमा स्विमिङ पुल जाने संस्कृति विकास हुँदै गएको छ । अझ गर्मी बढेसँगै काठमाडौंलगायतका सहरमा बिहानैदेखि बेलुकासम्म स्विमिङ पुलमा नुहाउनेको भिड नै लाग्ने गर्छ । स्विमिङ व्यायामको राम्रो उपाय हो । पौडिँदा शरीरको अधिकांश भागको व्यायाम हुन्छ । शारीरिक फिटनेसका लागि पौडी उपयोगी हुने भएकाले गर्मी सुरु भएसँगै स्विमिङ गर्नेको संख्या पनि बढ्छ । ग्रामिण भेगमा खोला पोखरीमा पौडिने गरिन्छ । सहरी क्षेत्रमा यसका लागि आधुनिक पौडी पोखरी खुलिरहेका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार २५ मिटर लम्बाई र २५ मिटर चौडाइको छोटो दूरीको पौडी पोखरी हुन्छ भने अर्को ५० मिटर लम्बाई २५ मिटर चौडाइ भएको लामो दूरीको पौडी पोखरी हुन्छ । गहिराइ भने दुवैमा एक मिटरदेखि दुई मिटरसम्मको हुन्छन् ।  

मापदण्डअनुसार स्विमिङ पुलको पानीको तापक्रम २४ देखि २८ डिग्रि सेल्सियसको हुन्छ । २४ देखि २८ डिग्री सेल्सियस तापक्रम भएको पानीमा स्विमिङ खेल्नु उपयुक्त हुन्छ । धेरै चिसो पानीमा स्विमिङ गर्दा स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ ।

स्विमिङ गर्नु पूर्व साधारण व्यायाम गर्नु उत्तम हुन्छ । व्यायाम नगरी स्विमिङ खेल्दा मांशपेशी बटारिने लगायतका समस्या हुने पौडि प्रशिक्षक शंकर कार्कीले बताए ।  उनले भने, "भर्खर स्विमिङ खेल्न थालेका व्यक्तिले एकै पटकमा लामो समय खेल्नु हुँदैन । विस्तारै खेल्दै समय बढाउँदै लैजान सकिन्छ । सुरुकै अवस्थामा जथाभावी खेल्नु हुँदैन । विस्तारै बानी पार्दै खेल्न सिक्दै जानु पर्छ । पहिलोपटक पौडिदा प्रशिक्षकको सहायता लिनुपर्छ । पौडिदा खेलाडीलाई डर लागेको अवस्थामा प्रशिक्षकले नडराउने वातावरण बनाइदिनु पर्छ ।"

पौडी खेल्नेको तीक्ष्ण बुद्धि

जुनसुकै उमेर समूहका व्यक्तिले स्विमिङ गर्न सकिन्छ । स्विमिङ गर्न उमेरले छेक्दैन । साना बालबालिकाले स्विमिङ गर्दा बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्छ । नियमित स्विमिङ गर्ने बालबालिका तीक्ष्ण बुद्धिका हुन्छन् । त्यसैले बालबालिकाका लागि पनि स्विमिङ उपयोगी छ । स्विमिङले बालबालिकाको वृद्धिविकासमा समेत सघाउ पुर्याउँछ ।
 
स्विमिङका फाइदा

स्विमिङ गर्दा हात, खुट्टा, पेट लगायत शरीरका अधिकांश भागको व्यायाम हुन्छ । हात खुट्टा र शरीरका अन्य अंगसमेत पानीमा चल्ने भएकाले शरीर लचकदार हुन्छ । पानीमा तैरिँदा शरीरका मांशपेशी साथै हड्डीसमेत सक्रिय भई मजबुत हुनुका साथै शरीरको तौल सन्तुलनमा आउँछ ।

थकान मेट्न र तनावबाट मुक्त हुन स्विमिङ लाभदायक छ । पानीमा खेल्दा आनन्द हुनुका साथै शारीरिक व्यायाम हुने भएकाले राम्रोसँग निद्रा लाग्छ । जसको कारण शारीरिक मात्रै नभएर मानसिक रुपमा पनि स्वस्थ हुन सहयोग गर्छ ।

नियमित ३० मिनेट स्विमिङ गर्ने व्यक्तिको मुटु दह्रो हुनुको साथै दमको समस्याबाट छुट्कारा पाउन सकिन्छ । त्यति मात्रै हैन स्विमिङ गर्न जानेको खण्डमा भेल, बाढीजस्तो प्राकृतिक प्रकोपबाट पनि बच्न सकिन्छ ।

कस्ता व्यक्ति पौडी नखेल्ने ?

कहिल्यै पनि एक्लै स्विमिङ गर्नु हुँदैन । लाइफ गार्ड वा कोचको निगरानीमा मात्रै स्विमिङ गर्नुपर्छ । लाईफ गार्ड वा कोचको निगरानीमा स्विमिङ गर्दा डुब्नेलगायतका सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

छालामा घाउ, खटिरा आदि समस्या भएका व्यक्तिले पौडी पोखरिमा स्विमिङ गर्दा अन्य व्यक्तिलाई सर्ने जोखिम हुन्छ । छारे रोग भएका व्यक्तिले पनि स्विमिङ नगर्नु नै उचित हुन्छ ।

छारे रोगको समस्या भएका व्यक्ति स्विमिङ गरिरहेको अवस्थामा रोगले च्यापे पानीमा डुबेर ज्यान जान सक्छ । त्यसैले यस्तो समस्या भएका व्यक्ति स्विमिङ गर्दा  सतर्क हुन आवश्यक छ । मादक पदार्थ, नशालु पदार्थ सेवन गरेर स्विमिङ गर्दा दुर्घटना हुने जोखिम भएकाले त्यस्ता नशालु पदार्थ सेवन गरेर स्विमिङ गर्नु हुँदैन ।

संक्रमणको जोखिम

हिजोआज स्विमिङ पुलमा जाने संस्कृतिको विकास हुँदै गएको छ, तर स्विमिङ पुलमा प्रयोग गरेको पानी कस्तो छ कसैले पनि चासो गरेको देखिँदैन । स्विमिङमा जम्मा भएको पानी क्लोरिन हालेर शुद्ध पार्ने प्रयास गरिन्छ, तर क्रिपटोइस्पोरिडियम नामक किटाणु क्लोरिन हाले पनि कम्तीमा दस दिनसम्म जीवित नै रहने देखिएको छ । त्यसैले, यसले जुनसुकै समयमा पनि प्रकोपको रूप लिन सक्छ ।

चिकित्सकहरूले भने स्विमिङ पुलको पानीले शरीरमा विभिन्न रोगको संक्रमणको खतरा रहेकाले सावधानी अपनाउन सल्लाह दिएका छन् । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले स्विमिङ पुलमा जाँदा विशेष सतर्कता अपनाउनुपर्ने बताए । ‘पौडी खेल्ने पानी (स्विमिङ पुलमा जम्मा भएको) को राम्रो व्यवस्थापन नहुँदा संक्रमणको दर बढ्दै गएको विभिन्न अनुसन्धानले देखाएको छ,’ डा. पुनले भने, ‘सरसफाइमा क्लोरिन प्रयोगको बाबजुद पनि क्रिपटोइस्पोरिडियम नामक परजीवी केही दिन जीवित रहने भएकाले प्रकोप लिने देखिन्छ ।’ विभिन्न देशमा भएका अध्ययन–अनुसन्धानले स्विमिङ पुलको पानीले संक्रमणको दर हरेक वर्ष बढ्दै गएको देखाएको उनले बताए ।

क्रिपटोइस्पोरिडियम नामक परजीवीको संक्रमण भएमा सम्बन्धित व्यक्तिलाई पानीजस्तो पखाला लाग्ने, शरीरका मासु बाउँडिने, बान्ता हुनेजस्ता लक्षण देखिने चिकित्सकहरूको भनाइ छ । श्वास–प्रश्वासमा समस्या भएका, अंग प्रत्यारोपण गरेका, क्यान्सर भएका, एचआइभी संक्रमितलगायत रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिमा संक्रमणदर धेरै हुन्छ ।

स्वास्थ्यमा ख्याल नगरे यसको संक्रमणबाट मृत्युसमेत हुन सक्ने डा. पुनले बताए । उनका अनुसार पानीजस्तो पातलो दिसा तारन्तर लागेमा चिकित्सकको सल्लाह लिनु अति आवश्यक हुन्छ ।

अमेरिकामा क्रिपटोइस्पोरिडियम नामक किटाणुको प्रभाव दोब्बरले बढेको देखिएको छ । अमेरिकाको सिडिसीको प्रतिवेदनमा सन् २०११ मा २०, २०१२ मा १५, २०१३ मा १०, २०१४ मा १५ र सन् २०१६ मा स्विमिङ पुलको पानीमा जीवाणुको मात्रा ३५ पुगेको उल्लेख छ ।

तथ्यांकअनुसार सन् २०१४ देखि सन् २०१६ को बीचमा क्रिपटोइस्पोरिडियम प्रभावितको संख्या दोब्बरले बढेका हुन् । सिडिसीलाई संसारकै विश्वासिलो अनुसन्धानका रूपमा लिइन्छ । डा. पुनका अनुसार क्रिपटोइस्पोरिडियम नामक किटाणु खानेपानीमा समेत हुन सक्छ । एचआइभी भएका र क्यान्सरको औषधि खाँदै गरेकाहरूले समयमा उपचार गराउन नसके उनीहरूको मृत्युसमेत हुन सक्छ ।


 

More form the Internet

loading...