Suvadin, Home

Cover Image

नेपाली संगीतः सर्जक भन्छन् - रोयल्टी खोई ?

साङगितीक बजारमा निकै लोकप्रिय गीत पस्केर पनि रोयल्टीको नाममा सुको हात नपरेको अधिकांश सर्जकहरुको गुनासो छ । उता संगीतकार लक्ष्मण शेषले संगीत रोयल्टी संकलन समाजमा व्यापक अनियमितता भएको दाबि गर्दै आएका छन् ।

काठमाडौं, जेठ २३ - कला, संस्कृति र सर्जक देशका शान हुन, गहना हुन् भन्ने भनाई नौलो होईन । तर, गहना जोगाई राख्न त्यति सहज भने छैन । यी तब जोगिन्छन् जब  यीनकाे संरक्षण, सम्वद्र्धन र उत्थान भईरहन्छ । प्रसंग हो नेपाली संगीत क्षेत्रको । नेपालमा कलाकर्मीलाई पेशामै लामो समय टिकी रहन असहज छ नै । तर, कलाकर्मीकाे उत्थानका लागि भनेर कैंयौँ संघ-संगठन गठन नभएका पनि होईन ।

तथापी,यथोचितरुपमा कलाकारकै हितमा त्यति देखिदैनन् संघ-संगठन गठन । कैयौँ कलाकारको यस्तै गुनासो छ, संगठन नाममै सिमित छन् । कलाकारको हितमा कुनै काम गरेको देखिदैन । भन्छन् - आफ्नै हित भए पुग्यो नेतृत्व गर्नेहरुलाई  ।

यतिबेला कला क्षेत्रकै ( गीतकार, संगीतकार, गायक, एरेन्जर) हितमा भनी गठन भएको स‌‌‌‌गीत रोयल्टी संकलन समाजमा आर्थिक अनियमितताको प्रश्न उठिरहेको बेला उक्त समाजप्रतिको आरोप र उसको पछिल्लो गतिविधीबारे आम स्रोतालाई शुभदिनमार्फत संक्षिप्त जानकारी दिन खोजिएको छ । 

कुन उद्येश्यले गठन भयो रोयल्टी संकलन समाज ?

२०६४ सालमा संगीत रोयल्टी संकलन समाज गठन भयो । समाजको मुख्य उद्देश्य हो, सार्वजनिकरूपमा गीत–संगीत प्रयोग गर्ने क्षेत्रबाट रोयल्टी उठाउने । र संकलित रोयल्टी कसरी वैज्ञानिक रूपमा वितरण गरि संगीतकर्मीको उत्थान गर्ने । यीनै उद्येश्य राखि गठन भएको समाजले हाल बाटो विराएको संगीतकर्मीको आरोप छ । विशेषगरि यस समाजभित्रै भएको आर्थिक अनियमिताले यसको शाख गिराएको छ भने समाजका पदाधिकारीको नियतमाथिप्रति नै विभिन्न शंका उब्जाएको छ ।  

कुन आधारमा संकलन गरिन्छ रोयल्टी ? 

हाल समाजले १ सय वाटसम्मका रेडियोले वार्षिक २५ सय रुपैयाँ, १ सयदेखि पाँचसय वाटसम्मका रेडियोले ४५ सय रुपैयाँ, ५ सयदेखि १ हजार वाटसम्मका रेडियोले वार्षिक ८ हजार रुपैयाँ र १ हजारभन्दा बढीका रेडियोले वार्षिक १२ हजार रुपैयाँ रोयल्टी संकलन गरिरहेको स्रोत बताउँछ । यस्तै समाजले सानो सवारीको वार्षिक ८ सय रुपैयाँ देखि ठूलाको २ हजारसम्म रोयल्टी पर्ने जनाएको छ। यस्तै डान्सबारमा बज्ने गीतको पनि विभिन्न आधारमा रोयल्टी संकलन गरिदै आएको छ । 

रोयल्टी नपाएको गुनासो गर्छन सर्जक 

साङगितीक बजारमा निकै लोकप्रिय गीत पस्केर पनि रोयल्टीको नाममा सुको हात नपरेको अधिकांश सर्जकहरुको गुनासो छ । शुभदिनसँग कुरा गर्दै गीतकार हर्क साउँदले भने, रोयल्टीको कुरा मात्रै सुने, मैले रचना गरेको सुन साईली, कर्लि कर्ली कपाल जस्ता गीत दर्शकले निकै मन पराए । जताततै बज्यो पनि गीत बजाएमार्फत कुन आधारमा रोयल्टी उठ्छ र कसले पाउँछ आफुलाई थाहा नभएको बताए । 

यस्तै एरेञ्जर नरेन्द्र वियोगीको भनाई पनि मिल्दो जुल्दो छ, उनले भने, रोयल्टी संकलन समाज नै सहि तरिकाले चलेको छैन । कलाकारको हितमा भन्नु र कलाकारलाई रोयल्टी उपलब्ध गराईने भन्नु गफै जस्तो लाग्छ, नजिकका कलाकारको चित्त बुझाए होलान् । आफुले रोयल्टीको नाममा पाँच पैसा नपाएको उनले बताए ।

संगीत उद्योगमा निजी क्षेत्रको वार्षिक एक अर्ब ३५ करोड बराबर रुपैयाँ लगानी भएपनि प्राय: कलाकारले त्यसको रोयल्टी पाउन नसकेको गुनासो गरेका छन् । संगीतजन्य उत्पादनको सार्वजानिक प्रयोग गर्दा रोयल्टी तिर्नुपर्ने कानूनी व्यवस्था भएपनि त्यसको कार्यान्वयन हुन नसकेको पाईएको छ । 

समाज सर्जककै हितमा रहेको दाबि 

शुभदिनसँग कुरा गर्दै संगीतकार चेतन सापकोटाले करोडौँ अनियमिता भयो भन्ने कुरामा कुनै सत्यता नभएको बताए । समाज सर्जककै हितमा रहेको र केहि गुनासा रहँदैमा ठुलो आर्थिक अनियमिता भयो भन्नु अन्यायपुर्ण हुने बताए । केहि प्राविधिक त्रुटिलाई सच्याउनु पर्ने उनको तर्क छ । संगीतकार सापकोटा समाजको पुर्व कार्यसमिति सदस्य हुन् ।  उता संगीतकार लक्ष्मण शेषले संगीत रोयल्टी संकलन समाजमा व्यापक अनियमितता भएको दाबि गर्दै आएका छन् ।

उसो त समाजका अध्यक्ष महेश खड्काले आफ्नो दुईबर्षे कार्यकालमा सम्पुर्ण नेपाली सर्जकले रोयल्टी पाउने बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका भएपनि उनकै कार्यकालमा संगीतकर्मी बढी असन्तुष्ट छन् । यसबारे हामीले अध्यक्ष खड्कासँग थप जानकारी लिने प्रयास गर्दा उनीसँग सम्पर्क हुन सकेन । 

हाल श्रीकृष्ण बम मल्ल, पिएन सापकोटा, शशी शर्मा मजगैया, सुमन बैरागी, चन्द्र शर्मा, शिरीष देबकोटा, बिपीन किरण, सुवास रेग्मी, बिक्रम राई, अमृत खाती समाजका कार्यसमिति सदस्य छन् ।


 

More form the Internet

loading...