Suvadin, Home


सेलाएन आईफा अवार्डको चर्चा, नेपालमै गर्न सरकार प्रयासरत  

बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले पनि आइफा रद्द नभएको संकेत गरे । स्रोतका अनुसार सरकार राज्यकोषको पैसा कम खर्च गरेर अवार्ड नेपालमै गर्न चाहन्छ । स्रोत जुटाउन निजी क्षेत्रलाई परिचालन गर्ने सरकारको योजना छ । 

काठमाडाैं, असार २७ - भारतको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ नेपालमा आयोजना गर्ने प्रयास अझै सरकारले जारी राखेको पाइएको छ । संसदीय समितिले निर्देशन दिएपछि पर्यटन बोर्डका सीईओ दिपकराज जोशीले अवार्ड स्थगित गरिएको सञ्चारमाध्यमलाई बताएका थिए ।

तर, अहिलेसम्म सरकारले आइफाको आयोजक विजक्र्याफ्ट इन्टरनेसनल प्रालिलाई यस सम्वन्धि निर्णय सुनाएको छैन । विजक्राफ्ट नेपालमै अवार्ड आयोजना हुनेमा ढुक्क छ । कम्पनीको एउटा टोली यसै साता काठमाडौं आएर भारत फर्किएको छ ।

नक्सालस्थित होटेल मेरियटमा बसेको सो टोलीले सरकारलाई प्रत्यक्ष–परोक्ष दवाव दिएर गएको स्रोतले बतायो । मेरियोट होटेल सञ्चालक शशीकान्त अग्रवालले विजक्राफ्टको टोली होटेलमा बसेको पुष्टी गरे । यद्यपी सरकारी अधिकारीहरु भने उनीहरुसँग कुनै औपचारिक छलफल नभएको बताउँछन् ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले थोरै पैसा खर्च गरेर धेरै फाइदा पाउने भन्दै आइफाको विरोध गर्नु अनुचित भएको बताएका थिए । यसैगरी बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले पनि आइफा रद्द नभएको संकेत गरे । स्रोतका अनुसार सरकार राज्यकोषको पैसा कम खर्च गरेर अवार्ड नेपालमै गर्न चाहन्छ । स्रोत जुटाउन निजी क्षेत्रलाई परिचालन गर्ने सरकारको योजना छ । 


 

More form the Internet

loading...