Suvadin, Home

Cover Image

बौद्धिक चोरी गर्ने को हुन् ?
आफ्नो शब्द, संगीत चोरी भएको भन्दै संगीतकार चेतन सापकोटाले हाले टेकुमा उजुरी

सापकोटाको २०६५ सालमा स्रोतामाँझ आईसकेको उक्त गीतलाई तोडमोड गरी भजन मण्डलीमा काम गर्ने दाहालले नयाँ रेकर्ड गरेको र युवामन नेपाल युट्युव च्यानलमा राख्ने तयारी गरेको पाईएको छ । प्रहरी परीसरले दुबै पक्षलाई बोलाई वास्तविकता बुझ्ने प्रयास गरेको हो ।

काठमाडाै‍, साउन २२ - केहि महिनाअघि वरिष्ठ गायक तथा संगीतकार सम्भु राई र लोकदोहोरी गायक प्रकाश सपुतबीचको विवाद सेलाएसँगै फेरी यस्तै प्रकृतिको घटना बाहिर आएको छ । संगीतकार एवम् गायक चेतन सापकोटाले आफ्नो शब्द/संगीत चोरी भएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी हालेका छन् । 

सापकोटाले 'यो देशमा अर्को एउटा बुद्ध पठाईदेउ' बोलको स्वदेशगानको शब्द तथा लय चोरी भएको भन्दै उजुरी हालेका हुन् । उनको यस गीतको शब्द र संगीतलाई केहि तोडमोड गरी सर्लाहि हरिवनका अर्जुन दाहालले नयाँ रकर्ड गराएका हुन् । बजारमा सार्वजनिक गर्ने तयारी भईरहेकै बेला शब्द, संगीत चोरी भएको थाहा पाएको सापकोटाले बताए ।  

प्रहरी परिसरमा शुभदिनसँग कुरा गर्दै संगीतकार एवम् गायक सापकोटाले आफ्नो बौद्धिक चोरी भएको र एउटा सर्जकमाथी अन्याय भएको दुखेसो । यसअघि पनी यस्ता कैयौँ बौद्धिक चोरीका घटना आफूले देखे, सुनेको र हाल आफैले भोग्नुपरेको उनले बताए । उनले आफू न्यायका लागि कानूनी बाटो अपनाउने र जसका लागि अदालतमा मुदा दर्तासमेत गर्ने बताए । 

सापकोटाको २०६५ सालमा स्रोतामाँझ आईसकेको उक्त गीतलाई तोडमोड गरी भजन मण्डलीमा काम गर्ने दाहालले नयाँ रेकर्ड गरेको र युवामन नेपाल युट्युव च्यानलमा राख्ने तयारी गरेको पाईएको छ । प्रहरी परीसरले बुधबार दुबै पक्षलाई बोलाई वास्तविकता बुझ्ने प्रयास गरेको हो ।

परिसरमा संगीतकार सापकोटा उनको बौद्धिक चोरी गरी गीत रेकर्ड गर्ने दाहाल र त्यस गीतलाई आफ्नो युट्यूब च्यानलमा राख्ने तयारी गरेका किशोर श्रेष्ठलाई बोलाईएको हो भने अर्कोतर्फ संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का, संगीतकार संघ नेपालका संरक्षक लक्ष्मण शेषसमेतलाई बोलाईको प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीले बताए । सकभर दुबै पक्षलाई आपसी समझदारीमा विवाद हल गर्न आफूले सुझाव दिएको उनको भनाई छ । समझदारी नभए कानुनी न्यायको बाटो खुला गरीदिने उनले बताए । 

भजन गाउँदै हिड्ने दाहाललाई एकाएक यूट्यूवमार्फत चर्चामा पुर्याउन सहयोग गर्ने आश्वास दिई श्रेष्ठले गीत रेकर्ड गर्न लगाएको खुल्न आएको हो । दाहालले आफूले गीत रेकर्ड गरेपनि  प्रतिलिपी अधिकार ऐन अन्तर्गत कानुनी प्रकृयाबारे जानकारी नहुँदा सहि गरेँ या लगत छुट्याउनै नसकेको बताए भने श्रेष्ठले आफूले पनि अरु यूट्यूब च्यानलको सिको गर्न पुगेको बताए । 

द्धयले गल्ति भएको भन्दै क्षमा समेत मागे र आगामी दिनमा यस्तो कार्य नगर्ने वाचा समेत गरे । तर संगीतकार सापकोटा,  खड्का र शेषले यस्तो गल्तिको क्षमा माग्दैमा सर्जकलाई न्याय नहुने बताउँछन् । संगीतकार महेश खड्काले अरुको शब्द, संगीत एवम् सृजना चोरी गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै कानुनी कारबाही फितलो छ ठानी यो गल्ति भएको शुभदिलाई प्रतिकृया दिए । यस्तै संगीतकार शेषले यसलाई कानुनी प्रकृयातर्फ अगाडी बढाएरै छाड्ने बताए ।

शेषले नाम नलिईकन नेपालका चल्तिका अनलाईन च्यानलले समेत कलाकारको सृजनाको अवमूल्यन गरी केवल आर्थिक उपार्जनका लागि च्यानलमा गीत एवम् भिडियो राख्ने गरेकोप्रति आपत्ति जनाए । आज सामान्य छलफल मात्रै भएपनि भोली प्रतिलिपी ऐन अन्तर्गत मुदा दर्ता गर्न आफूहरु बाध्य हुने पीडित पक्षको भनाई छ । प्रहरी परिसरले कमीकमजोरी स्वस्कार्न र समझदारीबाटै अघि बढ्न दुबै पक्षलाई सुझाव दिएको छ । 

प्रतिलिपी अधिकार ऐन-२०५९ मा के व्यवस्था छ ? 

प्रतिलिपी अधिकार एउटा कानुनी व्यवस्था हो । जसले कुनैपनि बौद्धिक सम्पत्तिको कृतिकारलाई आफ्नो कृति वा सृजनाको प्रयोग वा पुनःप्रयोगको व्यवस्थापन गर्ने विशेष अधिकार दिन्छ । प्रतिलिपी अधिकारले कृतिकारलाई आफ्नो सृजना अरूले के कस्तो शर्तमा प्रयोग वा पुनःप्रयोग गर्न दिने भन्ने तय गर्ने अधिकार दिएको हुन्छ ।

सर्जकका रचना, पुस्तक लेखन, गीत, संगीत, नाटक, मूर्तिकला, चित्रकला, आर्किटेक्चरल डिजाईनमा सो सृजनाको सम्पुर्ण अधिकार  जस्तै आर्थिक तथा नैतिक अधिकार सर्जकमा रहन्छ । नैतिक अधिकार भित्र रचनाको सर्वा्धिकार जस्तै संशोधन वा परिमार्जन जस्ता अधिकार सर्जकको हो यो अधिकार सर्जकको जिन्दगीभर र मृत्युपछि पनि पचास बर्षसम्म सर्जकको अधिकार कायम रहन्छ । आर्थिक अधिकारमा सृजनाको उत्पादन बिक्रिबितरण, सार्बजनिक प्रदर्शन, प्रस्तुति एवं प्रसारण गर्ने अधिकार आर्थिक अधिकार हो । यो सहमति तथा सम्झौता बमोजिम कसैलाई हक हस्तान्तरण गर्न सकिन्छ ।

यसमा सर्जकको मञ्जुरी बिना नक्कल गर्न, उत्पादन गर्न, बिक्रि वितरण गर्नबाट रोक लगाउने कानूनको रुपमा प्रतिलिपी अधिकारको व्यवस्था गर्न नेपालमा प्रतिलिपी अधिकार ऐन २०५९ र नियमावली २०६१ जारी भएको छ ।  अतः यसविपरित भए, गराईएको पाईए प्रकृति अनुसार कारबाहीको व्यस्थासमेत छ ।  

   
 
 

 
 


 

More form the Internet

loading...