Suvadin, Home
Citizen Bank 422k

Cover Image

विभेदले थिचिएकी लोकगायिका डिक्रा

सुरिलो स्वरकी धनी सुदूरपश्चिमकी यी चेलीलाई त्यहाँका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ। त्यस्ता महोत्सवमा काठमाडौँ र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर लगिन्छ तर, कञ्चनपुरकी डिक्रालाई बोलाइन्नँ। बोलाइए पनि काठमाडौँबाट लगिने कलाकारको तुलनामा अति न्यून पारिश्रमिक दिइन्छ। 

काठमाडौँ, १ फागुन 
“बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु 
साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।” 

दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुन सक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन्।

सुरिलो स्वरकी धनी सुदूरपश्चिमकी यी चेलीलाई त्यहाँका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ। त्यस्ता महोत्सवमा काठमाडौँ र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर लगिन्छ तर, कञ्चनपुरकी डिक्रालाई बोलाइन्नँ। बोलाइए पनि काठमाडौँबाट लगिने कलाकारको तुलनामा अति न्यून पारिश्रमिक दिइन्छ। 

डिक्राले डेउडा र ठाडी भाकामा दिएको योगदानलाई सम्मान र संरक्षण गरिनुपर्नेमा उल्टै उपेक्षा भइरहेका बेला गएको शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा एकल डेउडा गायनपछि डिक्राको परिचय देशभर फैलिएको छ।

तारादेवी, नारायण गोपाल जस्ता मूर्धन्य कलाकारहरुले रेडियो नेपालमा गाएको सुनेर कलाकार बनेकी डिक्रालाई आफूले पहिला पहिला गाएका आफ्नै गीत र भाकाहरु बिर्सने स्थिति भइसकेको छ। 

कोइली झैँ सुरिलो आवाज निकालेर पति सङ्गीतकार कित्थ्या बादीका साथ भाका हालेर काठमाडौँका कलाप्रेमी र दर्शकमाझ पहिलोपटक प्रस्तुत भएपनि डिक्रालाई यस क्षेत्रमा पुनरागमन हुन उत्साह थपिएको छ।

उचित वातावरण नपाएपछि विसं २०५२ तिर उहाँले गायनलाई स्थगन गर्नुभएको थियो। डिक्राले भन्नुभयो – “खोजीखोजी काठमाडौँमा गायनका लागि ल्याउन पहल गर्ने अमृत भादगाउँले र हेमन्त विवशका कारणले मलाई आँट मिलेको छ। मेरो भाग्य खुलेको छ। अब बाटो पाएँ जस्तो लागेको छ।” 

कन्सेप्ट नेपालको आयोजना तथा रैथाने साङ्गीतिक समूह र अलिमियाँ लोक वाङ्यमय प्रतिष्ठानको सहयोगमा डिक्राको एकल गाउन भएको थियो जहाँ उहाँलाई आर्थिक सहयोग, गीत रेकर्ड र उपचारमा सहयोगको घोषणा गरिएको थियो। डिक्राको भगोष्ट समस्या (युटेरस) को पनि यही काठमाडौँ बसाइमा उपचार शुरु भएको छ। 

बाजुरा माइत र घर बझाङबाट झरेर हाल कञ्चनपुरको कृष्णनगर नगरपालिका–२ बङ्कमा बस्दै आउनुभएका बादीलाई दलित भएकै कारण स्थानीय महोत्सवहरूमा कलाकारका रुपमा महत्व नदिइएको ठान्नेहरु पनि छन्।

“पहिला पहिला सिक्न आउनेहरू परेवा जोडी आया छन्, हात मिलाऔं भन्थे, अहिले हामीलाई भेट्न आउनेहरुलाई समेत पनि बास भएको ठाउँ ठेगाना देखाउन पछि हट्छन्,” डिक्रा दम्पतीको व्यथा छ – “रोजगारी छैन, मागेर खान भएन ।” पहाडमा डेउडा र ठाडी भाका घन्काएर हिँड्ने डिक्रालाई यो संस्कृति लोप हुन लागेकामा पनि चिन्ता छ। 

उहाँको ¬‘प्याउली फूल्न दे¬’ एल्बम तयार भएर पनि रेकर्ड भएको छैन। त्यसमा रहेका “हिउँदका पहाडी दिन भँवरा डुल्न दे, 
अब त फूलका भारी फुल्न दे” जस्ता मार्मिक गीतहरु अत्यधिक लोकप्रिय छन्। 

अनामनगरमा विशेष डिजिटल सञ्चालन गर्ने शोभा थापाले काठमाडौँबाट महङ्गो शुल्कमा कलाकार लगेर ठाउँ ठाउँमा महोत्सव गर्ने आयोजकहरुले डिक्रालाई नसम्झिएकामा दुःखेसो पोख्नुभयो।

उहाँले भन्नुभयो – “डिक्रा दिदीबाट गीत सिकेकाहरुले बढी कमाउन थालिसके। उहाँको आर्थिक अवस्था दयनीय भएको चाहीँ कसैले देखेन। त्यही भएर हामीले दिदीका लागि केही गर्न खोजेका छौँ।”

डिक्राको सम्पत्तिका नाममा बैङ्कमा नौ धुर ऐलानी जग्गा छ। त्यहीँको एक झुप्रोमा उहाँहरुको जोडी बस्दै आएको छ। चार छोराछोरी लाखापाखा लागिसके। कामकै सिलसिलामा एक छोरो मलेशियामा छ। 

नेपालको सुदूर तथा मध्य क्षेत्रमा गाइने प्रचलित लोकगायन शैली ठाडी भाका र डेउडा बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालीकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लामा मुख्य रूपमा अपनाइन्छ। ठाडी भाकामा आलाप गर्ने लोकप्रिय परम्परा छ। 

सामान्य साक्षर डिक्रा बादीले २०५२ सालदेखि डेउडा गीत रेकर्ड गराउनुभएको हो। यसैबाट लोकप्रियता हासिल गरेर करीब एक दर्जन गीति एल्मब निकाल्नुभएका डिक्राका टेप्रिकाट (चक्कावाला) मा रेकर्ड भएका गीतहरु डिजिटलाइज्ड हुन नसक्दा सामाजिक सञ्जालमा हेर्न र सुन्न सकिँदैन। 

काठमाडौँमा उहाँको यो पहिलो एकल गायन हो। उहाँको पहिलो एल्बम ‘बसिबियाँलो’ गायक नरेन्द्रराज रेग्मी र गोरख थापाको पहलमा भारतको पलियामा रेकर्ड गरिएको थियो।

डिक्रा यसअघि बादी समुदायका महिलाले विसं २०६४ भदौ १ गतेदेखि ४८ दिनसम्म अधिकारका लागि सिंहदरबार पश्चिम ढोकाअगाडि निकालेको अद्र्धनग्न जुलुसमा सहभागी हुन काठमाडौँ आउनुभएको थियो। आन्दोलनपछि सरकारले २०६५ पुस २३ गते एक निर्णय गर्दै बादी महिलालाई यौनशोषणमुक्त र पुनःस्थापना गर्ने घोषणा गरेको थियो। 

अहिलेसम्म त्यो कार्यान्वयन नहुँदा आफ्नो समुदाय उपेक्षित भएको उहाँ ठान्नुहुन्छ। वादी समुदायका महिलाले आफूहरुको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने मागलाई अहिले पनि उठाइरहेका छन्।

सरकारले आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममा बादी महिलाका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न रु तीन करोड विनियोजन गरेको थियो। 

दलित समुदायभित्र पनि सबैभन्दा धेरै बहिष्करणमा पर्दैआएका बादीहरु दाङ, कैलाली, सल्यान, रोल्पा, बर्दिया, सुर्खेत, बाँकेलगायतका जिल्लामा बसोबास गर्छन्।

विसं २०६८ को जनगणनाअनुसार बादी समुदायको जनसङ्ख्या ३८ हजार ६०३ छ। महिला बादीको सङ्ख्या पुरुषको तुलनामा दुई हजार जति बढी छ।रासस


 

More form the Internet

loading...