Suvadin, Home

छोरी सुहानाको जोडी खोज्दै झरना थापा 

काठमाडौं । ‘ए मेरो हजुर–३’ ले बक्स अफिसमा उत्साहजनक ब्यापार गरेपछि निर्देशक झरना थापा अर्को चलचित्र निर्देशनको तयारीमा जुटेकी छिन् ।

 दर्शकले  ‘ए मेरो हजुर–३’ ले राम्रो ब्यापार गरेपछि सिक्वेल आउने अपेक्षा गरिरहेका बेला झरनाले भने नयाँ चलचित्र निर्माणको तयारी थालेकी हुन् । उनले ‘भागवत् गीता’ निर्माण गर्ने बताइन् । यसका लागि वन लाइन स्टोरी आफूसँग रहेको तर पूरा गर्न भने बाँकी रहेको उनको भनाइ छ । 

“नाम धार्मिक भए पनि कथा धार्मिक हुने छैन । केटा र केटीको लभ स्टोरी नै भागवत् गीतको मुख्य कथा हो,” झरनाले भनिन्, “चलचित्रमा भागवत् नाम गरेको केटा र गीता नाम गरेकी केटी हुन्छन् । बाँकी अहिलेकै समाजको कथा चलचित्रमा समेटिने छ ।”

‘भागवत् गीता’मा गीताको क्यारेक्टरमा सुहाना हुनेछिन् भने भागवत् को हुने छन् भन्‍ने टुंगो लागि सकेको छैन । झरनाका अनुसार अनमोल केसीसँग कुरा चलिरहेको छ । 

होम प्रोडक्सन भएकाले सुहाना नछुट्‍ने निश्‍चित छ । उनको जोडी भागवत् पात्रको खोजी भइरहेको उनले बताइन् ।  डेब्यू फिल्म ‘ए मेरो हजुर–३’मा सुहाना थापाको अभिनयको तारिफ भएपछि उनी भने यो चलचित्रमा फाइनल भएकी हुन् । 

चलचित्रको घोषणा वैशाख २६ गते सुहानाको जन्मदिनको अवसर पारेर गर्ने झरनाको तयारी छ । चलचित्रको कथा, पटकथा तथा संवाद ‘ए मेरो हजुर–३’को युनिटले नै गर्नेछ भने निर्देशन झरना स्वयंले  गर्नेछिन् ।


 

More form the Internet

loading...