Suvadin, Home

Cover Image

भन्छिन् - 'अभिनयमा रुची छैन'
मिस वर्ल्डको तयारीमा केन्द्रीत हुन्छु: अनुष्का

अझैं पनि समाजमा महिला र पुरूषबीच समानता नभएको कुरा उनी स्वीकार्छिन्। त्यसको लागि सांसद, मन्त्रालयमा कति महिला छन् भनेर हेर्ने नपर्ने उनको बुझाइ छ।

काठमाडाैं, जेठ २ -  मिस नेपाल  अनुष्का श्रेष्ठले सुन्दरतालाई मात्र  मिस नेपालमा हेरिन्छ भन्ने धारणा गलत भएको बताएकी छिन् । अहिलेसम्म सबै मिस नेपाल विजेताहरू क्षमतावान नै भएको उनको दाबी छ।

‘आँखाअगाडि भइरहेको कुरालाई भएन भनेर बुझ्नेलाई त  मेरो भन्नु केही छैन,’ अनुष्काले भनिन्, ‘मिस नेपाललाई यति सम्मान गर्नुको अर्थ भोलि अन्तर्राष्ट्रिय स्तरमा केही राम्रो गरोस् भनेर हो। त्यसको लागि केही योग्यता चाहिन्छ। त्यसलाई त्यति सजिलै बुझिदिए पुग्छ।’

मिस नेपालमा रोल मोडल र रिप्रेजेन्टेसन दुई कुरा हेरिन्छ। र सुन्दरता रिप्रेजेन्टेसनसँग जोडिने अनुष्का बताउँछिन्। अझैं पनि समाजमा महिला र पुरूषबीच समानता नभएको कुरा उनी स्वीकार्छिन्। त्यसको लागि सांसद, मन्त्रालयमा कति महिला छन् भनेर हेर्ने नपर्ने उनको बुझाइ छ।

‘परिवारमा अझैं पनि छोरीलाई यस्तो कपडा लगाउनुहुन्न। पहिले बिहे गर अनि श्रीमानले मास्टर पढाउनुभयो भने पढ भन्ने चलन छ,’ उनले भनिन्, ‘त्यसैले समानताको कुरा घरबाटै सुरू गर्नुपर्छ।’

अनुष्का व्यवस्थापन अध्ययन गर्दैछिन्। त्यसैले मिस नेपालपछि पनि उनको चाहना व्यवस्थापन क्षेत्रमै काम गर्ने छ। उनले अष्ट्रेलियाबाट स्नातकसम्मको पढाइ सकाएकी छिन्। मिस नेपालहरू प्रायस् फिल्म निर्देशकको आँखामा पर्ने गर्छन्। तर अनुष्कालाई अभिनयमा रूची छैन। उनले भनिन्, ‘म अभिनय गर्दिनँ।’  

अनुष्का अष्ट्रेलियमा ‘मिस ओसियाना’ को ताज जितेर सोझैं मिस नेपालमा छनोट भएकी हुन्। मिस ओसियानासँगै मिस पूर्वाञ्चल, मिस पश्चिमाञ्चल, मिस चितवन, मिस पोखरा र मिस हङकङका विजेता सिधै मिस नेपालमा छनोट हुन्छन्। अनुष्काले अब २०१९ को मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। अब त्यसैको तयारीमा केन्द्रीत हुने उनले बताइन्।


 

More form the Internet

loading...