Suvadin, Home

Cover Image

शिल्पालाई छविको आग्रह - गान्धीवादी बन्‍न तयार छु, घर फर्क

‘मैले विगत तीन दिनदेखि तपाईंलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नुभयो। म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन। छवि ओझाको अदालतमा सिधैं आउनुस्। तपाईंले न्याय पाउनुहुन्छ।’

काठमाडौं । फिल्म निर्माता छविराज ओझाले अभिनेत्री तथा श्रीमती शिल्पा पोखरेललाई घर आउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शिल्पासमक्ष यस्तो आग्रह गरेका हुन् ।

५२ बर्षको उमेरमा तीनवटी श्रीमतीसँग सम्बन्ध बिच्छेदपछि जीवनका सबैकुरासँग कम्प्रमाइज गरेर शिल्पालाई बिहे गरेको प्रसंग झिक्दै छविराजले यसअघिका विवादका सम्बन्धमा आफ्ना कमजोरी सच्याएर अब गान्धीवादी बन्न तयार रहेको भन्दै श्रीमतीलाई घर फर्कन आग्रह गरेका हुन्।

छविले फेसबुकमा स्टाटस मार्फत शिल्पालाइ अरुका कुरा नसुन्न आग्रह गर्दै आफ्नो घरको ढोका सधैंको लागि खुल्ला रहेको स्पष्ट पारेका हुन्। निर्माता ओझाले छातीमा हात राखेर आफूमाथि लगाइएका कतिपय आरोपहरू कति सत्य छन्, त्यसमा आत्मआलोचना गर्नसमेत शिल्पासँग आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘यदि तपाईं पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईंले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमीकमजोरीहरू सच्याएर गान्धीवादी भएर बस्न सक्छु। अरुको कुरा नसुन्नुस्, आउनुस् हाम्रो घरको ढोका सधैं तपाईंका लागि खुल्ला छ।’

उनले आफूसँग बस्न नै उचित नलागेको भए पनि एकपटक टेबलमासँगै बसेर कुरा गर्न आग्रह गरेका छन्। आफूले कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको दाबी गर्दै आफ्नो इतिहास पल्टाएर हेर्न छविले चुनौती समेत दिएका छन्।

आफूले पछिल्लो तीन दिनसम्म भेट्न कोशिष गर्दा पनि नपाएको उल्लेख गर्दै निर्माता ओझाले न्यायका लागि अन्य कुनै पनि अदालत जानु नपर्ने जिकिर गरेका छन्। उनले लेखेका छन् ‘मैले विगत तीन दिनदेखि तपाईंलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाईंलाई अब मेरो वकिलले भेट्छ भन्नुभयो। म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानु पर्दैन। छवि ओझाको अदालतमा सिधैं आउनुस्। तपाईंले न्याय पाउनुहुन्छ।’

यसअघि अभिनेत्री पोखरेलले श्रीमान् ओझाबाट आफूलाई सुरक्षाको चुनौति रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सुरक्षाको माग गरेकी थिइन्। शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र आफू असुरक्षित भएको भन्दै प्रहरी गुहारेपछि गत बिहीबार दुवै जनालाई महानगरीय प्रहरी परिसर टेकुले छलफलका लागि बोलाएको थियो।

उक्त समय घटनालाई लिएर निर्माता ओझाले शिल्पासँग माफी माग्दै सुरक्षाको लिखिति प्रतिबद्धता जनाएपछि विवाद तत्कालका लागि सुल्झिएको थियो। यद्यपी शिल्पा र छविको सम्बन्ध अझै अन्योलमा छ।


 

More form the Internet

loading...