Suvadin, Home

विवशतामा बाँचेका महिलाको कथा ‘छाउघर’मा

नेपालको सुदूरपश्चिमाञ्चलका जिल्ला डोटी,अछाम, बैतडी लगायतमा युवतीलाई पहिलोपटक महिनावारी हुँदा र त्यस पश्चात हरेक महिना महिनावारी हुँदा घरबाट टाढा सानो असुरक्षित घर, गोठमा राखिन्छ। उनीहरू त्यो समय पौष्टिक खानाजस्तै दुध, घिउ, माछा, मासुबाट बञ्चित हुन्छन्। शुभदिन सँगको कुराकानीमा सरगमले भने, ‘नियम उल्लघंन गरे देवताले सराप दिने त्यहाँको मानिसको मानसिकता छ। देवता ढुङ्गा, माटो, खोलाजस्ता ठाउँमा बस्ने उनीहरूको मनोविज्ञान छ।’   
छाउघर पुस्तक।

काठमाडौं,पुस १७


म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीले भनेकी छिन्, ‘जुन देशका महिला शिक्षित र सम्पन्न छन्, ती देश समृद्ध छन्।’ सुचीको भनाइबाट  प्रष्ट हुन्छ कि महिलालाई शिक्षादीक्षा दियो भने त्यो परिवार सुखी र सम्पन्न हुन्छ। तर, नेपाली समाजमा महिलामाथिको विभेद अझै बाँकी छ, जुन सामाजिक विकासका लागि तगारो भइरहेको छ।  

नेपालका राजनीतिक दल अब आर्थिक समृद्धको समय हो भनिरहेका छन्। नेपालको केही ठाउँमा अझै अन्धविश्वास, छाउपडीजस्तो कुप्रथा तथा संस्कार उन्मूलन हुन सकेको छैन। नेपालको सुदूरपश्चिमाञ्चलका  जिल्लाहरूमा चलिरहेको यो  कुप्रथालाई राज सरगमले शब्दमार्फत ल्याएका छन्। यसैसाता बजारमा अाइपुगेको सरगमको पुस्तक ‘छाउघर’ले  उक्त प्रथाविरूझ आवाज उठाएको छ। छाउविरूद्ध कडा कारबाहीको वकालत गरेको छ।

को हुन् राज सरगम?

वि.सं. २०४० मा  कञ्चनपुर जिल्लामा जन्म भएका राज सरगम लेखक एवम् निर्देशक हुन्। सरगमले आफ्नो बाल्यकाल कञ्चनपुर जिल्लाको बेलौरी पुनर्वासमा बिताए। हाल काठमाडौंको चावहिलमा बसोबास गरिरहेका सरगमले आफनो स्नातक तह  कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट पूरा गरे।

सानैबाट लेख्न र पढ्न रुचाउने सरगमले कक्षा ९ र १० मा अध्ययन गर्दा कविता लेख्ने गर्थे। यही रुचिलाई अहिले उनले अंगालेको छन्। ३२ वर्ष पुगेका सरगम विवाहित हुन्। श्रीमती दुर्गा लामिछाने र सरगमको दस महिनाको छोरा शुभमश्री लामिछाने छन्।        

नाटक लेख्न र हेर्न रुचाउने सरगम सकेसम्म थिएटरमा लागेका नाटक हेर्न छुटाउँदैनन्। नेपाली चलचित्र मेरो मान्छे, चाल, तिम्रो मन बदलेछका लेखक पनि हुन् सरगम। केही फिल्मको निर्देशन गरेका छन्। सानो हुँदा  उनी हिन्दी उपन्यास जासुस विधाको पढ्न रुचाउँथे भने नेपाली उपन्यासका पारखी  हुन्।  

राज सरगमको पहिलो उपन्यास हो चिम्नी भने दोस्रो हो छाउघर। उनको छाउघर प्रकाशित भएपछि छाउपडीजस्तो कुप्रथाबारे सबै सचेत भएका छन्। उपन्यास अगाडि उनले गजल संग्रह प्रकाशन गरेका छन्।   

के हो छाउपडी?

नेपालको सुदूरपश्चिमाञ्चलका जिल्ला डोटी,अछाम, बैतडी लगायतमा युवतीलाई पहिलोपटक महिनावारी हुँदा र त्यस पश्चात हरेक महिना महिनावारी हुँदा घरबाट टाढा सानो असुरक्षित घर, गोठमा राखिन्छ। उनीहरू त्यो समय पौष्टिक खानाजस्तै दुध, घिउ, माछा, मासुबाट बञ्चित हुन्छन्। शुभदिन सँगको कुराकानीमा सरगमले भने, ‘नियम उल्लघंन गरे देवताले सराप दिने त्यहाँको मानिसको मानसिकता छ। देवता ढुङ्गा, माटो, खोलाजस्ता ठाउँमा बस्ने उनीहरूको मनोविज्ञान छ।’   

सुदूरपश्चिमाञ्चलमा शिक्षाको पहुँच छ। शिक्षाको पहुँच हुँदाहुँदै पनि त्यहाँको दलित समुदाय (भुल, धर्का, सुनार, डुम, सार्की) उपाध्यय, धामी, विष्ट, कठायत, जोशीलगायत जाति छाउपडी प्रथाका सिकार भइरहेको सरगम बताउँछन्। ‘छाउपडी प्रथा नेपाली समाजको घिनलाग्दो सत्य हो,’ उनी भन्छन्।

छाउघर उपन्यासको रचना

कञ्चनपुर जिल्लामा पुनर्वास बस्दै आएका राज सरगमको धारणा छाउपडी प्रथाविरूद्ध सकरात्मक थियो। छाउपडी प्रथा हटाउन उनले धेरै कोसिस गरे। महिलाहरूमा प्रथाविरूद्ध चेतना जोगाउन उनी केही साथीसँग मिलेर कार्यक्रम गरे। घर-घर गएर सम्झाउन बुझाउन चाहे तर उनको यो कदम असफल भयो। यति सम्म कि केहि महिलाले उनी र उनका साथीलाई कुचोले लखेट्दै खेदाए।

स्नातक तहसम्मको अध्ययन्पश्चात काठमाडौं आएका सरगमले छाउपडी प्रथाको बारेमा तीन वर्षसम्म नेपालको पूर्वदेखि पश्चिमको यात्रा गरेर प्रथाबारे अध्ययनन् गरे। त्यसपछि अाएको हो छाउघर।  

छाउपडी प्रथा किन चलिरहेको छ?

सरगमले शिक्षा पाए पनि प्रथा यथावत् रहनुको कारण बताएका छन्। सुदूरपश्चिमाञ्चलका जिल्लाहरूमा यो प्रथाको उल्लंघन गरे देवता रिसाएर सराप दिनछन् भन्ने गहिरो छाप छ। उनीहरु शिक्षित भए पनि सो नियम उल्लंघन गर्न डराउँछन्। देवता खोला, नदी, माटो, हावामा हुन्छ भन्ने त्यहाँको मानिसको मानसिकता छ। त्यो मानसिकता मेटाउन नसक्नुको कारण प्रथा चलेको बताउँछन सरगम।

छाउपडी प्रथा उन्मूलन  हुन नसक्नुको  मुख्य कारण चेतनामूलक कार्यक्रमको निरन्तरता नहुनु र जिल्लाको नेताको लापरबाही बताउँछन् सरगम। विभिन्न संघ-संस्थाहरूले प्रथा विपरीत कार्यक्रम ल्याउँछन् तर  कार्यक्रम क्षणिक समयलाई मात्र हुने हुँदा उन्मूलन हुन सकेको छैन। यस प्रथाविरुद्ध सरकारको ठोस रणनीति, कानुन नहुनु नै प्रथा चलिरहेको छ। छाउपडी प्रथा उन्मूलन गर्न प्रथाविरूद्ध  कडा नियमकानुन सरकारले बनाउनुपर्ने, चेतना जगाउन व्यापक कार्यक्रम ल्याउने बताउँछन् सरगम।


 

More form the Internet

loading...