कविता
हाम्रो प्रेमको कानेखुसी
दीपा दाहाल दीपहरि
मैले तिमीप्रति प्रेम दर्शाउँदा
साँझले डाँडामाथिबाट चियाउँदै थियो क्षितिजको पल्लो किनार
लाग्थ्यो घामले आत्महत्या गर्दैछ ।
उता गोधूलिमा इन्द्रेणी छायाँको स्पर्श सलबलाउँदै थियो
सुहागरातमा सलबलाउने दुलाहाको हातझैँ ।
तर खै !
तर खै ! कसरी ? खबरीसम्म पुगेछ
मिठासपूर्ण मिलनको अत्तर
भित्ताको कानसम्म पुगेछ हाम्रो प्रेमको कानेखुसी
लाग्छ कतै !
लाग्छ कतै, साक्षी राखेको जोडी रूखले
विश्वासघातको इजलासमा
चिच्याईचिच्याई वकालत गरिदियो कि
त्यो पर......को धिपधिपे बत्तीको उज्यालो
कसरी आइपुग्यो प्रेमहन्ता खबरीसम्म ?
खै किन ! हो कुन्नि
हडबडाएर भागेकी छु
यो स्यालझैँ दाउ छोपेर प्रेमको शिकारमा निस्किने दुनियाँबाट
अँध्यारो झुपडीको जुनकिरी धिपधिपेमा
चियाएर उनलाई हेर्छु
के उनको माया पनि
जुनकिरीको टुकी बिहान हुनेबित्तिकै निभेझैँ
झिपिक्क निभिहाल्ने त हैन ।