Suvadin, Home

Cover Image

चित्रकलामार्फत जीवनका रंग भर्दै देही अार्ट

मोनालिसाको त्यो तस्विर आज पर्यन्त उत्तिकै मनमोहक छ। पाँच शताब्दी अघि बनाइएको मोनालिसाको सदावहार चित्रसँग कयौं ‘मिथ’ जोडिएका छन्। के थियो वास्तविकता, त्यो इतिहासको पानामा विलिन भइसकेको छ भिञ्चीसँगै। तर, मोनालिसाको सुन्दर तस्विर सुरक्षित छ। त्यो तस्विरका करोडौंप्रति प्रतिलिपि बिक्री भइसकेको छन्। घर र कार्यालयका भित्तामा तिनै मोनालिसाका तस्विर सजाइएको छ। 'संसारका सबै राम्रा चिज कलाकारले नै बनाएका हुन्, हामीले चित्रकलाको माध्यमबाट मुटु निकालेर दिने हो,’ शेर्पाले मुस्कुराउँदै भने, ‘कस्तो छ भन्ने प्रतिक्रिया दर्शकले दिने हो।’
देही अार्टका कलाकारहरू। तस्विरः शुभदिन

काठमाडाैं, फागुन ९


लियोनार्दाे दा भिञ्ची (१४५२–१५१९) ले सन् १५०३ मा एउटा तस्वीर बनाए। नाम दिए– मोनालिसा। मोनालिसाको त्यो तस्विर आज पर्यन्त उत्तिकै मनमोहक छ। पाँच शताब्दी अघि बनाइएको मोनालिसाको सदावहार चित्रसँग कयौं ‘मिथ’ जोडिएका छन्।

के थियो वास्तविकता, त्यो इतिहासको पानामा विलिन भइसकेको छ भिञ्चीसँगै। तर, मोनालिसाको सुन्दर तस्विर सुरक्षित छ। त्यो तस्विरका करोडौंप्रति प्रतिलिपि बिक्री भइसकेको छन्। घर र कार्यालयका भित्तामा तिनै मोनालिसाका तस्विर सजाइएको छ।

‘हो, प्रेमपूर्वक कुनै कार्य गरे त्यो अमर हुन्छ भन्ने प्रमाण मोनालिसाको चित्र हो’, चित्रकलाकी विद्यार्थी झापा काँकरभिट्टाकी अनु बिष्ट भन्छिन्, ‘भिञ्चीले आफ्नो कामलाई मनमुटुदेखि माया गर्थे, त्यसैले उनको नाम अमर बन्यो।’

अनु पनि चित्रकला सिक्दैछिन्। काम र पढाईबाट फुर्सद मिल्दा उनी चित्र कोर्छिन्। अनुका अनुसार डेढ–दुई वर्ष अघिसम्म चित्रकलाका बारेमा उनलाई त्यति धेरै आइडिया थिएन। ‘तर, अहिले कुची र मसी खेलाउन सिक्दैछु,’ उनले भनिन्।

मोनालिसाजस्तै आकृति चाहिँ कहिले बनाउनु हुन्छ त? ‘म त एउटी साधारण विद्यार्थी हुँ, भर्खर सिक्दैछु, त्यस्तो चित्र बनाउने सोचेको छैन,’ अनुले हाँस्दै थपिन्, ‘काम गर्दै जाँदा राम्रो चित्र बनिहाल्यो भने ठिकै छ, अहिले त केही पृथक गर्ने कोसिस मात्रै हो।’

अनु विद्यार्थी हुन्। मानविकी संकायमा स्नातह तह पूरा गरेकी उनी चित्रकलाकी सोखिन हुन्। र, उनलाई चित्रकला सिक्ने अवसर देही आर्टले जुराइदिएको हो।

वि.सं. २०७० सालमा झापाको मेचीनगरस्थित काँकरभिट्टामा अलग–अलग व्यवसायमा संलग्न पाँच जना युवाको सोचबाट देही आर्टको स्थापना भयो। क्षितेन शेर्पा, सागर मगर, विष्णु सुब्बा, विनोद राजवंशी र तुलसी श्रेष्ठले चित्रकला प्रवद्र्धन गर्ने उद्देश्यले देही स्थापना गरे।

‘२०६९ सालबाटै हामीले कलाकारसँग अन्तरक्रिया थालेका थियौं, कला केन्द्र स्थापनाको सोच पहिल्यै आएको थियो,’ शेपाले शुभदिनसँग भने, ‘२०७१ सालबाट काँकरभिट्टामा आर्ट ग्यालरी नै स्थापना गरेर पेन्टिङको काम गर्दैछौं।’

शेर्पाका अनुसार २०७१ असोज महिनादेखि देही आर्टले औपचारिकता पायो। ‘माघबाट विद्यार्थीलाई कलासम्बन्धी प्रशिक्षण दिन सुरु गर्यौं,’ उनले थपे, ‘विभिन्न कार्यक्रममा सक्रियता पनि बढायौं।’ देही आर्टको नामाकरण पनि युनिक छ। पाँच जना युवाको यो संस्थाले नामाकरण गर्न कुनै विदेशी नाम वा मुलुककै पनि कुनै स्थान वा वस्तुको नाम छानेन।

‘सागर मगरजीको आमाको नाम देविका हो, मेरी आमाको नाम हिङ्गीलम्हु हो,’ झापाको काँकरभिट्टास्थित आर्ट ग्यालरीमा क्यानभाषमा रङ्ग भर्न व्यस्त शेर्पाले भने, ‘आमाको नामको पहिलो अक्षरबाट देही बनेको हो।’ उनका अनुसार देहीको अर्थ मुक्त आत्मा हुन्छ। कुनै नयाँ वस्तु वा शरीरमा लिन हुन सक्ने आत्मालाई देही भन्ने उनको तर्क छ।

देही आर्ट स्थापना गर्ने पाँचै जना युवा अलग–अलग व्यवसायमा सक्रिय छन्। क्षितेन शेर्पा आइटी प्राविधिक हुन्। विष्णु सुब्बा इलेक्ट्रिसियन र प्लम्बर हुन्। सागर ट्याटु आर्टिष्ट हुन्। उनी शिक्षण पेशामा पनि सक्रिय छन्। तुलसी श्रेष्ठ पनि शिक्षक हुन्। विनोद राजवंशी वैदेशिक रोजगारीमा गएका छन्।

‘पेशा जे–जे भएपनि हाम्रो विचार मिल्छ, हामी कलाकै माध्यमबाट भविष्य बदल्ने अठोटमा छौं,’ प्रशिक्षक सागर मगरले भने, ‘यो क्षेत्रमा नाम र दाम दुवै छ भन्ने प्रमाणित गर्नु छ।’ निरन्तरताले सफलता हात पर्ने तर्क गर्दै उनले देही आर्टको योजना पनि पूर्ण हुने विश्वास व्यक्त गरे।

उनका अनुसार २०६९ सालमा सीमित व्यक्तिसँग अन्तरक्रिया गरेर सुरु भएको यो अभियानलाई रिडर्स् झापाले आयोजना गर्ने कला साहित्य महोत्सवले थप टेवा पुर्यायो। ‘साहित्य उत्सवमा देही आर्टले कलासम्बन्धी संयोजन गर्न अवसर दिएको थियो,’ मगरले सम्झे, ‘त्यसले समाजमा अझै खुलेर आउन प्रेरित गर्यो।’

त्यसअघि लाइभ पेन्टिङ, स्पट पेन्टिङ र कलासम्बन्धी प्रदर्शनी देहीले गर्दै आएको थियो। देही आर्ट च्यालेञ्ज प्रतियोगितादेखि नेपालका विभिन्न स्थान र भारतको सिलिगुढीदेखि दिल्लीसम्म कला प्रदर्शनी गरिएको उनले बताए। 

देही आर्टमा अहिले ५० जना विद्यार्थीले प्रशिक्षण लिइरहेका छन्। विद्यार्थीबाट एक सय रुपैयाँ दर्ता र मासिक शुल्क दुई सय रुपैयाँ लिइन्छ। शनिबार र हरेक दिन बिहान चित्रकला सम्बन्धी कक्षा सञ्चालन हुने देहीका अर्का संस्थापक विष्णु सुब्बाले बताए। ग्यालरी सञ्चालनका लागि आ–आफूले रकम उठाउने गरेको उनी बताउँछन्।

‘अहिले त आम्दानी हुन थालेको छ,’ सुब्बाले भने, ‘एउटै चित्रबाट १७ हजारसम्म आम्दानी गरेका छौं।’ दुई सयदेखि १७ हजारसम्ममा देहीका कलाकारले बनाएका चित्र बिक्री भइरहेका छन्। ‘टिसर्ट पेन्टिङबाट पनि कमाई हुन्छ,’ उनले भने, ‘बिक्री हुँदैन कि भनेर आत्तिनु परेको छैन।’

अधिकांश चित्र नेपाली मौलिक परिवेशमा आधारित हुने उनले बताए। ‘माग ठूलो छ, बनाउन सक्नुपर्छ, आकर्षक पनि हुनुपर्छ,’ उनले भने, ‘चित्र बनाएरै पनि जीवन धान्न सकिन्छ।’

कलाकारले अभाव र पारिवारिक दवाव झेलेकै हुन्छन्। देहीका कलाकारले पनि यस्ता बाधा छिचोल्दै यो उचाई लिएका हुन्। ‘स्कूल पढ्दा खुब चित्र कोर्थें, परिवारबाट सहयोग नपाएपछि त्यतिकै छाडिदिएँ’, सुब्बाले चलाउँदै गरेको कुची टक्क रोकेर भने, ‘तर, समयले फेरि मलाई चित्रकलाको लहरमा ल्याएर जोडेको छ।’

सुब्बाकै जस्तो अनुभव सागर मगरको पनि छ। ‘मावि तहमा पढ्दा टेलिभिजनमा हेरेको ‘शक्तिमान’को चित्र बनाउने प्रतियोगिता चल्थ्यो,’ उनले थपे, ‘तर, परिवारबाट सहयोग नपाएपछि खुम्चिएर बस्नु परेको थियो।’

पैसा नहुने काममा नलाग्न र विदेश जान परिवारले दवाव दिएको उनी सम्झिन्छन्। ‘पैसा देखिने कुरा हो, जहाँ पनि हावी हुन्छ’, उनको विश्लेष्ण छ, ‘कला दीर्घकालसम्मका लागि हो, समय लाग्छ, तर पैसाभन्दा धेरै माथि हुन्छ।’

देही आर्टले युवामा सुनौलो आशा जगाउने काम गरिरहेको उनले बताए। ‘युवालाई कलाको क्षेत्रतर्फ आकर्षित गर्न नै हामीले आर्ट फर होप कार्यक्रम चलायौँ,’ उनले शुभदिनसँग भने।

देही आर्टले नयाँ कलाकारलाई उल्लेख्य सहयोग गरिरहेको छ। ‘चित्रकलालाई पनि समय सापेक्ष बनाउँदै लानुपर्छ,’ शेर्पा भन्छन्, ‘डिजिटल पेन्टिङ नगरेपनि पोष्ट कार्डहरु बेच्छौं, चित्रकलालाई अझै व्यवस्थित बनाउने सोच छ।’

हरेक स्कुलमा कला शिक्षक पुर्याउन सके बालबालिकामा रहेको प्रतिभाले फुल्ने मौका पाउने शेर्पाको धारणा छ। अनि नेपाली मोनालिसा चाहिँ कहिले बनाउनु हुन्छ त? ‘संसारका सबै राम्रा चिज कलाकारले नै बनाएका हुन्, हामीले चित्रकलाको माध्यमबाट मुटु निकालेर दिने हो,’ शेर्पाले मुस्कुराउँदै भने, ‘कस्तो छ भन्ने प्रतिक्रिया दर्शकले दिने हो।’ उनका अनुसार कति चित्र त बेच्नै मन लाग्दैन। ‘बनाउँदा बनाउँदै माया बस्छ,’ उनले थपे, ‘ती तस्विरको मूल्य निर्धारण गर्नै सकिँदैन।’


 

More form the Internet

loading...