Suvadin, Home

Cover Image

विकास भर्सेस निकास : हराएको मौलिकता, भत्किएको समाज :

नारायण ढुङ्गाना

काठमाडौं । एक चिकित्सकले विद्यार्थीलाई सोधे, “यो विद्यालयमा तपाईंहरु कति जना हुनुहुन्छ”, “हामी त तेल (तेह्र) जना मात्लै (मात्रै) हो”,एक विद्यार्थीबाट सोझो जवाफ आउँछ । “ओइ-ओइ त...रले (सरले) २०० जना भन भन्या हैन”, बीचैमा अर्का विद्यार्थी फ्याट्ट बोल्छन् । 

चिकित्सकले विद्यालयको अवस्थाबारे खोतल्दै गए । विद्यार्थी कथा र व्याथा ओकल्दै गए । “तपाईंहरुसँगैका अरु विद्यार्थी कहाँ हुनुहुन्छ त ?” “ऊ त्यो पाली (पारी)को ताई (टाइ) लाउने इत्कुल (स्कुल) मा पद्नुहुन्छ (पढ्नुहुन्छ), मलाई पनि त्यो ताइ (टाइ) लाउने इत्कुल (स्कुल)मा कस्तो पद्न (पढ्न) मन ला‘थ (छ), तल (तर) मेरो ममी¬बाबा त गलिब (गरीब) हुनुुन्थ (हुनुहुन्छ), पैतै (पैसै) थैन (छैन) ।” उनको सरकारी स्कूलका शिक्षक महीनाको एक दिन तलब बुझ्न मात्रै आउने रहेछन् । 

“हेल्लो नमस्ते !” अर्धनिद्रामा रहेका एक व्यक्तिले सिरानीमा रहेको सिटामोल दिँदै भने, “बिहान एउटा बेलुका एउटा, चियासँग खाए पनि हुन्छ, पानीसँग खाए पनि हुन्छ ।” अलि पर रहेको स्वास्थ्यचौकीमा पुगेका चिकित्सकको नमस्ते नफर्काउँदै एक व्यक्ति भट्भट्याउँछन् । श्रीमती स्वास्थ्यचौकी इन्चार्ज भए पनि सबै काम श्रीमान्बाटै हुँदोरहेछ ।

सबै सही हुनलाई देशको नीति सही हुनुपर्‍यो । त्यसका लागि पहिले त देशको राजनीति सही हुनुपर्‍यो । त्यसकारण उहाँ नेता भेट्न गए । नमस्कार भन्न नपाउँदै नेताको पनि धाराप्रवाह सुरू भयो, “तपाईंको काम बन्छ, पहिलो नम्बरमा मेरो पार्टीलाई चन्दा दिनुपर्छ, दोस्रो नम्बरमा जति काम हुन्छ मेरै पार्टीका कार्यकर्तालाई ठेक्का दिनुपर्छ, त्यति भएपछि ढुक्क हुनुस् तपाईंको काम बन्यो ।” उता विद्यार्थी क्लब भन्छ, “पैसा नदिए त कामै हुँदैन ।” गाउँमा धर्मका नाममा भएका विकृति पनि उस्तै जकडिएको छ । पाइलैपिच्छे बाधा र अड्चनले समाजसेवा गर्न हिँडेका चिकित्सक भत्किएको समाजको रुप देखेर विक्षिप्त भए । 

गाउँका केही पढेलेखेका विदेश । भएकाहरु काम गर्दैनन् । तराईबाट आएका मजदुरले धानेको छ । स्थानीय उत्पादन र मौलिकता हराउँदैछ, बजारिया सामानले गाउँ भरिएको छ । गाउँ खुला दिसामुक्त भएको त छ तर एउटा पनि सार्वजनिक शौचालय छैन । रोगले थलिएकाहरु शहरबजारमा उपचारका लागि पैसा माग्नेको बग्रेल्ती छन् । सरकारले पनि मूल जरो पत्ता नलगाई बिरामीका लागि पैसा मात्रै खन्याउने गरेको छ । तर बिरामी नै हुन नदिने उपायको बारेमा ध्यान छैन । 

मनको विकार फ्याँक्न सके धेरै समस्या हटेर जान्छ यही निष्कर्षमा चिकित्सक एउटा सार्वजनिक शौचालय बनाउने निधोमा पुग्छन् । यस्तै यस्तैमा नाटक सकिन्छ । 

काठमाडौँको सर्वनाम थिएटरभित्र रंगकला गोरखाको प्रस्तुतिमा मञ्चन भइरहेको नाटक ‘विकास भर्सेज निकास’का जीवन्त दृश्यले ग्रामीण भेगको वस्तुस्थितिलाई चित्रण गरेको प्रष्ट बुझिन्छ । “नाटक गर्नुछ भने युगको आवाज बोल्नुपर्छ, वास्तविक कथालाई बोल्नुपर्छ, यो नाटकले पनि गोरखाको एउटा गाउँको वास्तविकता बोलेको छ ।” निर्देशक रामबाबु रेग्मीले भन्नुभयो । नाटकमा मुख्यतः गोरखाको एक गाउँका समस्या उतारेको उनको भनाइ छ । 

बुधबार नाटक हेरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले हरेक सांसदहरुले हेर्नैपर्ने खालको नाटक बनेको भन्दै संघीय संसद्मा देखाउनका लागि आफूले सभामुखसँग कुरा गर्ने बताए । डा भट्टराईले भने, “यो नाटक आफ्नै जीवनसँग मेल खाएको जस्तो लाग्यो, नाटकमा जस्तै आफ्नो जीवनकालमा देशमै बस्नुपर्छ भनेर लागेको मान्छे हुँ ।” विकास समृद्धिका मन्त्र धेरै उच्चारण भइरहेको अवस्थामा गाउँमा के भइरहेको छ भन्ने विषयमा ध्यान नपुगेको कुरा यथार्थ चित्रण गरेको भन्दै उहाँले नाटकको प्रशंसा गरे ।

दुर्गम गाउँमा जन्मिएको मान्छे सरकारी लगानीमा चिकित्सक भएर अमेरिका गयो तर देशलाई उसले केही लगानी गर्न सकेन । कालान्तरमा पश्चाताप गर्दै गाउँमा सेवा गर्न फर्किएको चिकित्सक र उसले भोगेको गाउँको सेरोफेरोमा नाटक घुमेको छ । 

चिकित्सक बनेर मुख्य भूमिका खेलेका कलाकार दीपक आचार्य (भद्रगोलका काकु) ले जीवन्त कला प्रस्तुत गर्नुभएको छ । अन्य कलाकारमा प्रकाश कट्टेल, उमाकान्त सापकोटा, अमृता श्रेष्ठ, अजय रेग्मी, सुरज केसी, मिलन गुरुङ, सशांक उप्रेती, विक्रम माझी, गौरव सापकोटा, प्रियना आचार्य, प्रेम अर्याल र सन्दीप घिमिरे छन् ।
 
नाटक नेपाली ग्रामीण समाजको चित्र बोल्न सफल भएको कलाकार तथा पत्रकार देवेन्द्र थुम्केलीले बताए । समाजमा विनास्वार्थ सामाजिक सेवा गर्न चाहनेहरुले कति हन्डर र ठक्कर खान्छन् भन्ने सार खिचेको नाटक असार २८ सम्म मञ्चन हुनेछ । 


 

More form the Internet

loading...