Suvadin, Home

बासुदेवः ‘सेल्फ सेन्टर्ड’ मनोवृत्ति, पारिवारिक विचलन, असन्तुलित युवावस्था

‘लागूपदार्थबाट सम्पत्तिसँगै शरीरमाथि पनि हानी हुने ज्ञात हुँदा–हुँदै पनि धेरै युवाहरू तनावबाट मुक्त हुने बहानामा लागूऔषधको गम्भीर दलदलमा फसिरहेका हुन्छन्’, निर्देशक श्रेष्ठले भने – ‘जब, आफ्नो स्वास्थ्यमा गम्भीर समस्या आइपर्छ, तब मात्रै उनीहरूको होस् खुल्छ। तर, त्यति बेला समयले नेटो काटिसकेको हुन्छ। सुध्रिने अवसर नै पाइँदैन। नाटक बासुदेवमा दिइन खोजेको सन्देश यही नै हो।’
आयुष प्याकुरेल, सन्दीप श्रेष्ठ, सुरभी सापकोटा र आभा नेपाल।

काठमाडौं, २० भदौ – शहरमा श्रमिक र मजदूरहरु सधैँ बिहान खाए बेलुका के खाने भन्ने चिन्तामा हुन्छन्। त्यसैले आफ्नो नियमित काममा उनीहरु जुटिरहन्छन्। श्रमिक र मजदूरका छोराछोरीको दैनिकी पनि आफ्ना अभिभावकको जस्तै हुन्छ। तर, सम्भ्रान्त र मध्यम वर्गीय परिवारका छोराछोरीको दैनिकी अलि फरक हुन्छ। उनीहरुलाई के खाने, के लाउने भन्ने चिन्ता हुँदैन।

तर, जब कुलिन र मध्यम् वर्गीय परिवारका सदस्य आफ्नो दायित्व बिर्सिएर गलत बाटोमा हिँड्न पुग्छन्, काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटरमा मञ्चन भइरहेको ‘बासुदेव’ नाटकको जस्तै कथा लेखिन थाल्छ।

काठमाडौंजस्तो अन्तर्राष्ट्रिय ट्राञ्जिट र खुल्ला परिवेश भएको शहरमा लागूपदार्थको दुर्व्यसनी बढ्नु, ओसारपसार हुनु स्वाभाविक र नियमितजस्तै हो। किनभने यो शहरमा हुने खाने पनि बस्छन् र हुँदा खाने पनि बस्छन्।

कुनै समय नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन्छु भन्ने खुंखार माफिया डन दाउद इब्राहिमको अभिव्यक्तिको सारको पनि समीक्षा गर्नैपर्छ। २०–५० रूपैयाँमा बिक्ने प्रहरी–प्रशासन पैसा र भ्रष्ट कर्मचारीतन्त्र भइसकेपछि लागूपदार्थ मात्रै होइन, विमानस्थलबाट जेसुकै सामग्री पनि सजिलै आवतजावत हुन्छ।

त्यसमाथि धनदौलत र सम्पतिको पछि दौडिएर आफ्नो उत्तरदायित्व भुलेर भड्किरहेका अभिवावकहरुका कारण ध्वस्त भएको परिवारका बालबालिकाले पाउने संस्कारको कस्तो होला? उत्तर सहज छ। हो, यही परिवारिक अवस्थाले निम्त्याउने कारूणिक कथा बासुदेवमा प्रस्तुत गरिएको निर्देशक सन्दीप श्रेष्ठले जनाएका छन्।

पढ्नका लागि काठमाडौं छिरेका युवाहरु भविष्यमा लागूऔषध दुर्व्यवसनीका खुंखार प्रयोगकर्ता भएर निस्किएको उदाहरण प्रशस्तै छन्। ‘लागूपदार्थबाट सम्पत्तिसँगै शरीरमाथि पनि हानी हुने ज्ञात हुँदा–हुँदै पनि धेरै युवाहरू तनावबाट मुक्त हुने बहानामा लागूऔषधको गम्भीर दलदलमा फसिरहेका हुन्छन्’, निर्देशक श्रेष्ठले भने – ‘जब, आफ्नो स्वास्थ्यमा गम्भीर समस्या आइपर्छ, तब मात्रै उनीहरूको होस् खुल्छ। तर, त्यति बेला समयले नेटो काटिसकेको हुन्छ। सुध्रिने अवसर नै पाइँदैन। नाटक बासुदेवमा दिइन खोजेको सन्देश यही नै हो।’

बासुदेवको कथावस्तु

‘बासुदेव’ नाटक एउटा युवाको कोठाबाट शुरू हुन्छ। जहाँ देव गाँजाको नसामा निर्लिप्त भएर लडिरहेका हुन्छन्। र, केही समयपछि बासुको प्रवेश हुन्छ। बासुसँग एक झोला पैसा हुन्छ। र देवले बासुको पैसाको विषयमा उनीसँग प्रष्टीकरण लिन्छन्। कहाँबाट आयो, कसरी आयो भन्ने प्रश्न गर्छन् देवले। बासुले आफ्नो बाबुको कोठाबाट रकम ल्याएको भनेर बयान दिएपछि उनीहरूबीच केही समय बहस हुन्छ।

यसबीचमा बासुसँग देवले ५ लाख रुपैयाँ माग्छन्। तर, बासुले पैसा दिन नमानेपछि दुवै जनाले १ लाख रूपैयाँमा लागूपदार्थ किनेर ३ लाख रुपैयाँ कमाउने योजना बनाउँछन्। देवले थाइल्याण्ड गएर लागूपदार्थ किन्ने र त्यसलाई नेपालमा ल्याएर बेच्ने र त्यसबाट निकै मोटो रकम आम्दानी हुने बासुलाई बताउँछन्। बासु पनि देवको अार्थिक प्रलोभनमा पर्छन्। थाइल्याण्ड जाने कुरा नाटकको अन्त्यसम्ममा योजनामै सीमित हुन पुग्छ।

त्यसबीचमा इशा र श्लेषाको प्रवेश हुन्छ। नाटकको कथा अघि बढ्दै जाँदा श्लेषा बासुसँगै प्रेममा पर्छिन्। इशा चाहिँ देवसँग पहिलेदेखि नै प्रेममा हुन्छिन्। देव र श्लेषा छुट्दै–मिल्दै गरेका प्रेमजोडी हुन्छन्। उनीहरू दिउँसो झगडा गर्छन्, बेलुका मिल्छन्। उनीहरुको मिलन–विछोडको श्रृंखला निकै रोचक छ।

युवावस्था र पारिवारिक असन्तुष्टि

जब बालबालिकाहरु किशोर अवस्थामा प्रवेश गर्छन् बालबालिकालाई के खाने, के नखाने, के गर्ने, के नगर्ने भन्ने विषय उनीहरूको अपेक्षा र चाहनाअनुसार सिकाउनु पर्छ। सही दिशानिर्देश र मार्गनिर्देश आवश्यक पर्छ। तर, बासुदेव नाटकमा देवलाई परिवारले नै कोठाको भाडा तिरेर घरबाट बाहिर राखेको हुन्छ। यसले परिवारप्रतिको विचलन प्रष्ट्याएको छ।

यो पारिवारिक विचलनबाट सिंगो परिवार प्रभावित हुन्छ। अर्काेतर्फ बासुकी आमा बैङ्लोरमा आफ्ना प्रेमीसँग बस्छिन्। र, बासुका बुवाले पनि उनलाई सही मार्गनिर्देश प्रदान गर्न सक्दैनन्। जसका कारण बासु लागूऔषध प्रयोगकर्तासँगै पैसा चोरी गर्ने स्थितिमा पुग्छन्।

बासुलाई अर्काे पीडा पनि हुन्छ। राघव भन्ने व्यक्तिबाट उनको दिदीको हत्या भएको हुन्छ। यसको कारण निकै गम्भीर छ। कारण थाहा पाउनका लागि नाटक नै हेर्नुपर्ने हुन्छ। यसरी अघि बढ्दै नाटक यस्तो मोडमा पुगेर अन्त्य हुन्छ, जहाँ सबै स्तब्ध हुन्छन्, र सजग पनि। बासुदेव नाटकले युवा अवस्थामा आउने विचलन, परिणाम र पुनर्जागरणको पक्षमा सकारात्मक सन्देश दिएको छ।

कलाकारको पक्ष

बासुदेवका निर्देशकद्वय सन्दीप श्रेष्ठ र नवीन भट्टले यो नाटकमा केही नयाँ प्रयोग गर्न खोजेका छन्। १८ वर्षभन्दा माथि उमेरकाले मात्रै हेर्न मिल्ने भनिएको यो नाटकमा बासु र श्लेषा तथा देव र इशाको रोमान्सलाई पनि महत्वपूर्ण सांकेतिक सन्देशका रुपमा प्रस्तुत गरिएको छ।

‘शहरी क्षेत्रका युवाको मनस्थिति कस्तो हुन्छ भनेर यो नाटकमा सकेसम्म प्रस्ट्याउने कोसिस गरिएको छ’, निर्देशक नवीन भट्टले भने – ‘युवाहरूको मनस्थिति परिवारले नबुझिदिएपछि कसरी समाज भाँडिन्छ भनेर नाटकमार्फत सचेत गराउन खोजिएको हो।’

साथै सूचना–प्रविधिको विकाससँगै त्यसबाट आउने नकारात्मक परिणामलाई पनि नाटकमा प्रस्तुत गरिएको छ। एक कलको भरमा हुने लागूपदार्थको कारोबार र देवको कोठामा जे भइरहेको हुन्छ, त्यसलाई पनि प्रविधिको विकासको नकारात्मक परिणामको रूपमा लिन सकिन्छ।

‘आर्थिक रूपमा उदाउँदा शहरमा सामाजिक विचलन आउनु स्वभाविक हो। तर, त्यो अवस्थामा राज्यले नै युवाहरूलाई सही ढंगले परिचालन गर्नुपर्छ’, बासुदेवका निर्देशक नवीन भट्टले शुभदिनसँग भने – ‘त्यसो गरिए बासु र देवजस्ता युवा पनि राष्ट्र निर्माणको अभियानमा सहभागी हुन्छन्, समाज बदलिन्छ, देश बन्छ।’

अन्त्यमा,

मञ्च परिकल्पनाः सन्दीप श्रेष्ठ, मञ्च निर्माण सञ्जीव राई, कोरियोग्राफी र ग्राफिटीः एलिजे बर्यनिक, प्रकाश परिकल्पना र परिचालकः एलिजे बर्यनिक, ध्वनी संयोजनः रुविनकुमार श्रेष्ठ, ध्वनी परिचालकः तुफान थापा फोटो र भिडियोः ज्ञान चौलागाई, प्रचार परिचालकः विकास पन्त, पोष्टर र ब्रोसरः नवीन भट्ट, प्रचार परिकल्पनाः फोर क्युब इन्टरटेन्मेन्ट प्रालि, मञ्च व्यवस्थापनः गोविन्द  सुनुवार र अनुजा अधिकारी निर्माताः फोर क्युब इन्टरटेन्मेन्ट प्रालि।


 

More form the Internet

loading...