हरितारा चलचित्र पुरस्कार सङग्रौला र थापालाई

काठमाडौं, १७ मंसिर – हरितारा चलचित्र पुरस्कारबाट वरिष्ठ अभिनेता लय सङ्ग्रौला र अभिनेत्री रेखा थापालाई सम्मान गरिएको छ।
परिवर्तन नामक संस्थाले सोमबार ‘हरितारा चलचित्र पुरस्कार– २०७४’ बाट सङ्ग्रौला र ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ अभिनेत्री थापालाई प्रदान गरेको हो। दुवै पुरस्कारको राशि २५ हजार रुपैयाँ र ताम्र–पत्र रहेको छ। सो पुरस्कार निजी क्षेत्रबाट स्थापित पहिलो पुरस्कारका रुपमा परिचित छ। विसं २०५२ देखि यो पुरस्कार चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुलाई प्रदान गरिँदै आएको छ।
यस्तै रु १० हजार राशिको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०७४’ अभिनेता उत्तम केसी र २०७५ को उक्त पुरस्कार सञ्चारकर्मी विजयरत्न तुलाधरलाई प्रदान गरियो। ‘परिवर्तन सम्मान–२०७५’ बाट अभिनेता रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री शोभिता सिम्खडालाई सम्मान गरियो।
ती सबै पुरस्कार कलाकार बसुन्धरा भुसाल र प्रथम नेपाली नायिका भुवन चन्दले प्रदान गरेकी थिइन्। सो अवसरमा अभिनेत्री भुसालले चलचित्रमा लाग्ने कलाकारलाई अभिप्रेरित गर्ने निजी क्षेत्रको पहिलो पुरस्कारले कलाकारलाई थप जिम्मेवारी र हौसला प्रदान गरेको बताइन्।
पुरस्कृत अभिनेता सङ्ग्रौलाले सिर्जनाको कर्मलाई निरन्तरता दिएमा सफलतामा पुगिन्छ भन्ने उदाहरण पुरस्कारले पेश गरेको बताए। अभिनेत्री थापाले चलचित्र क्षेत्रको विभेद अन्त्य र समाज परिवर्तनका लागि चलचित्र मार्फत नारी सशक्तीकरणका लागि निरन्तर सङ्घर्ष गर्दै आएकाले सफलता मिलेको धारणा राखेकी थिइन्।