Suvadin, Home

Cover Image

लोक गीतको सैद्धान्तिक परिचय
नेपाल चिनाउने लोक संगीत

लोक परम्परादेखि चलिआएको लोक गीत आज पाश्चात्य साहित्यको बढ्दो प्रभावका कारण सङ्कट अवस्थामा पुगिरहेको छ। नेपाली युवाहरूको लोक गीतको मोह क्रमशः घट्दो अवस्थामा छ। क्षेत्रगत प्रतिस्पर्धाको कारण पनि लोकगीतको उचित विकास र विस्तारमा कमी आइरहेको छ। तसर्थ, लोक गीतलाई बौद्धिक क्षेत्रबाटै खोज, अध्ययन, व्याख्या तथा विश्लेषण, प्रसारप्रसार र त्यसको महत्व र आवश्यकतामाथि सावधानीपूर्ण ढङ्गले चेतना फैलाई संरक्षण र सम्वर्द्धन विशेष तरिकाले प्रयास गर्नुपर्ने देखिन्छ।

चित्रकुमार लिम्बू


विषय प्रवेश

लोकगीत लोक साहित्य अन्तर्गतको एउटा विधा हो। यो लोकको हरेक पक्ष र अवसरसम्म व्याप्त छ। कुनै पनि व्यक्ति, समुदाय र राष्ट्र लोकगीतको प्रभावविहीन रहन सक्दैन। लोक गीत निकै पुरानो विधा हो र या समयसँगै परिवर्तित हुँदै आएको परिवर्तित लोकविधा हो। लोकगीतमा एक कुशल र क्षमतावान् व्यक्तिले नेतृत्व गरको हुन्छ। समूहले त्यसलाई साथ दिएको हुन्छ। जस्तै : भैलो, देउसी, सोरठी गीत आदि। नेपाली लोकगीतका सामूहिक गीतहरू हुन् भने व्यक्तिगत रूपमासमेत पेसागत क्षेत्रमा लोकगीतको प्रयोग गरिएको पाइन्छ।

लोकगीत निकै पुरानो विधा हो। समयसँगै यसलाई आधुनिकीकरण गर्ने प्रयासहरू भइरहे तापनि यसको मौलिक पक्षको क्षय भए त्यसले सार्थकता नपाउन सक्छ। लोक गीत आज पाश्चात्य प्रभावको कारण धराशयी बन्दै गइरहेको छ। तसर्थ, लोकगीतलाई बौद्धिक दृष्टिले अवलोकन, खोज, अन्वेषण गरी संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको छ।

लोकगीतको उत्पत्ति र विकास

लोकगीत परम्परागत र परिवर्तित विधा हो। लोक गीत आरम्भकालदेखि वर्तमानसम्म गाउँदै आइपुग्दा यसमा भाषिक, साङ्गीतिक, प्रस्तुतिगत र भावनागत परिवर्तन हुँदै आएको पाइन्छ। लोक गीतको उत्पत्ति के कसरी भयो? कहिले भयो भनी यकिन गर्न गाह्रो छ। तापनि आँकलन भने नभएको होइन। लोम्याक्स (१९३४ ई) ले लोक गीतको जन्म मानव सभ्यताको आरम्भमा नै भएको उल्लेख गरेका छन्। एम. वाउर र इथेल पेसर (१९३९ ई ३: ६) र सि. एम. बाउरा (१९६२ ई.) का अनुसार लोक गीत भन्दाअघि लोक सङ्गीतको जन्म भएको हो। प्राग ऐतिहासिक कालमा मानव धेरै खतराहरूका बीच बस्दथे। उनीहरूसँग भाषा थिएन। दिन, रात र ऋतु परिवर्तनलाई अलौकिक शक्ति या भगवान ठान्दथे। यस्तो शक्तिलाई खुसी पार्न प्रार्थना गर्ने कुनै माध्यम नभएकाले नाच्ने, अभिनय गर्ने र ताली बजाउने आदि क्रिया गर्न थाले। यसै क्रममा मानवले चिच्याउन, रुन, कराउन, शरीर हल्लाउन सकेको पाइन्छ। समयको क्रममा धेरै भाषा सिके पनि त्यही शब्द वा वाक्यलाई पटकपटक दोहोर्याई भन्ने गर्दथे।

जुन प्रचलनले आज पनि लोक गीतको स्थायीलाई थेगोको रूपमा दोहोर्याउने गरिन्छ। आज पनि भाषा नभएको चराचुरुङ्गीका आवाजमा लोक गीत भन्न सकिने भाषिक अभिव्यक्ति नभए पनि सङ्गीतको गुन उपलब्ध छ। वाउर पेसरका अनुसार आदिम मानवले आवश्यकता र अनुभवद्वारा ढुङ्गे हतियार वा भाँडाकुँडा बनाउन सिके। यसरी बनेको हतियार र भाँडाकुँडाहरू आपसमा ठोकिँदा आवाज आयो जुन आवाज पहिलो सङ्गीत थियो। सिकारी युगमा सिकार गरी ल्याएको जनावरको छाला खोक्रो काठको मुढाको मुखमा टाँसेर सबैभन्दा पहिलो ढोल बनाइयो। त्यस्तै अर्काे सङ्गीतको साधनको निर्माण सुकेको खोक्रो लौकाभित्र ढुङ्गाका टुक्रा राखी हल्लाइएको थियो।

सिकारको खोजीमा गुफादेखि टाढा जाँदा उनीहरूले चराचुरुङ्गी कराएको, हावाले रुखका पातहरू बजाएको, पानीको छाल चट्टानमा ठोक्किँदा ध्वनी आएको, नदी सुसाएको आदि आवाजहरू सुने र त्यसकै आधारमा सङ्गीतको उत्पत्ति भएको मान्यता छ। सृष्टिको आदिमकालमा सामाजिक चेतनाका साथै लोक गीतको विकास भएको हो। यसको सम्बन्ध जनजीवनसँग रहेको छ। समय बित्दै जाँदा मानव विकासले तीव्र रूप लियो। मानिसले वाणीमा उसले आफ्ना सुखदुःखका कुराहरू व्यक्त गर्न थाल्यो। यही लय बहु वाणी लोककण्ठका माध्यमबाट लोक गीतको रूपमा प्रकट भयो। मानिसमा सङ्गठन तथा सामाजिकतामा भावनाको विकास साथसाथै लोकगीतको पनि विकास हुँदै गएको पाइन्छ। त्यसैले परम्परागत लोकगीतमा सामूहिक भावनाहरू पाइन्छ र सामूहिक सहभागितामा समेत रहेको पाइन्छ।

लोकगीतका तत्वहरू

लोक गीत अन्य लोकविधाको तुलनामा बढी लोकप्रिय विधा हो। लोक गीतमा आदिम मावन प्रवृत्तिको अभिव्यक्ति रहेको हुन्छ। (आचार्य, २०६२ : २)। उनका अनुसार लेख्य साहित्य वा लोक साहित्य हरेक विधाहरूमा विधागत प्रवृत्तिअनुसार भिन्नभिन्न संरचना तत्वहरूको महत् देखिन्छ। नाटक विधामा आउने अभिनयात्मकता गीति विधामा आउने सङ्गीतात्मकता, कविता विधामा आउने काव्यात्मकता र कथा विधामा आउने आख्यानात्मकता यसका उदाहरणहरू हुन्। लोकगीतमा पनि विभिन्न तत्वको आवश्यकता हुन्छ। जुन आवश्यक तत्वहरू प्रस्तुत अनुसार रहेको छ।

अनिवार्य तत्व

लोक गीतको रचना गर्दा नभई नहुने तत्वलाई लोकगीतको अनिवार्य तत्व भनिन्छ। लोक गीतको अनिवार्य तत्वहरू निम्नअनुसार रहेको छन् :

(क) भाषा

लोक गीतमा भाषाको ठूलो स्थान रहेको हुन्छ। लोक गीत भाषिक अभिव्यक्तिको कला हो। भाषिक प्रयोग सँगसँगै लोक गीतको उत्पत्ति भएको हो। फरकफरक समुदायअनुसार भाषा पनि फरकफरक हुने गर्दछ। तिनै भाषिक समुदायअनुसार लोक गीतको पनि रचना हुने गर्दछ। तसर्थ, लोक गीतको अनिवार्य तत्व भाषा हो।

(ख) सङ्गीतात्मकता

लोकगीत कविता र सङ्गीतको मिश्रित रूप हो। सङ्गीतले लोक गीतलाई सार्थक र रोचक बनाएको हुन्छ। सङ्गीतले लोक गीतलाई गाथासँग नजिक बनाएको हुन्छ भने अन्य विधासँग फरक तुल्याएको हुन्छ। लोक गीतमा आउने विभिन्न ताल, राग, स्वर र सङ्गीतसम्बन्धी आउने विभिन्न पक्ष पनि लोक गीतको अनिवार्य तत्व हो।

(ग) गायक गायिका

लोकगीत श्रुतिसमृति परम्परामा रहने भएकाले यहाँ गायक गायिका अनिवार्य तत्वका रूपमा लिइन्छ। गायक गायिकाको सुन्दर गायनले मात्र लोकगीत सार्थक तरिकाले व्यक्त हुन्छ। लोक गीतको परम्परा सामूहिक गायन भए तापनि दुई जना या एकल गायन पनि हुने गर्दछ। तसर्थ, लोक गीतमा गायक गायिका अनिवार्य हुन आवश्यक भएकाले अनिवार्य तत्वका रूपमा लिइन्छ।

(घ) भाव

लोक गीतमा कुनै न कुनै भाव व्यक्त भएको हुन्छ। भावलाई विषयवस्तुको रूपमा पनि लिइन्छ। लोक गीतको एउटै गीतमा विषयगत वा भावगत विविधता पाइन्छ। लोकगीतमा भावकै माध्यमबाट सन्देश वा जीवन दर्शनसमेत प्रस्तुत भएको हुनाले लोक गीतको अनिवार्य तत्व भाव पनि हो।

ऐच्छिक तत्व

लोक गीतमा प्रस्तुत अनिवार्य तत्वबाहेकका अन्य तत्वहरू पनि आवश्यक हुन्छ। ती तत्वहरूलाई लोक गीतको ऐच्छिक तत्वको रूपमा प्रस्तुत गरेको छ :

(क) काव्यात्मकता

लोकगीत पूर्व आयोजित नहुने भएकाले अन्य विधाझैं व्यवस्थित नहुन सक्छ। तापनि लोक गीतमा अर्थालङ्कारका रूपमा उपमा, रूपक र शब्दालङ्कारका रूपमा अनुप्रासको प्रयोग त्यसैगरी लोकगीतमा शृङ्गार, भक्ति, शान्त, करुण रसहरूको अनुभूति पाइन्छ। आचार्य (२०६२ : ४) का अनुसार लोक गीतमा अलङ्कार, प्रतीकहरू स्थानीय परिवेशमा व्यवहृत हुने वस्तुहरूबाट जुराएको हुन्छ। लोक गीतमा छन्दविधान, सङ्गीत र भाव व्यञ्जनबीच पनि उचित सामञ्जस्य पाइन्छ। संयोग शृङ्गारका गीतहरूमा प्रायः संख्याका दृष्टिले धेरै अक्षर वितरण रहेका पङ्क्तिको प्रयोग र करुण रसयुक्त गीतहरूमा प्रायः बिलम्बित गतिका गीत पाइनु यसका उदाहरण हुन्। तसर्थ, लोक गीतमा ऐच्छिक तत्वका रुमा काव्यात्मकता पनि हुन आउँदछ।

(ख) थेगो

लोक गीतको पङ्कितको कुनै न कुनै ठाउँमा थेगो आउने गर्दछ। थेगोले लोक गीतलाई सुहाउँदिलो पनि बनाएको हुन्छ तर थेगो लोक गीतमा अनिवार्यता भने होइन, तसर्थ थेगोलाई लोक गीतको ऐच्छिक तत्वको रूपमा लिइन्छ।

(ग) स्थायी र अन्तरा

लोकगीतमा पटकपटक गाइने अंश स्थायी हो र त्यसपछि गीत पूरा गर्न आउने बाँकी गीतको भागलाई अन्तरा भनिन्छ। गीतहरूको स्थायी र अन्तरा हुन्छ तर सबै गीतमा अनिवार्यता भने हुन्न।

(घ) वाद्य

लोकगीतमा प्रयोग हुने वाद्य ऐच्छिक तत्व हो। मादल, डमरु, खन्जडी, तबला, ढोलक, दमाहा, ट्याम्को, बाँसुरी, मुरली, सारङ्गी, एकतारे, टुङ्ना आदि लोक गीतमा प्रयोग हुने वाद्य हुन्। सबै लोक गीतमा वाद्य हुनै पर्दछ भन्ने छैन तर पनि लोक गीतलाई सुशोभित बनाउन वाद्यको खाँचो पर्दछ।

(ङ) स्रोता

श्रुतिका माध्यमबाट लोक गीतलाई एक व्यक्तिबाट अर्काे व्यक्तिसम्म पुर्याउन सकिन्छ। लोक गीतलाई जीवन्त राख्ने काम पनि श्रुतिले नै गरेको हुन्छ। श्रुति लोक गीतको तत्व हो तर अनिवार्य तत्व भने होइन।

प्रस्तुत लोकगीतका तत्वहरूले लोक गीतको संरचनामा महत्वपूर्ण काम गरेको हुन्छ। पूर्णतः लोक गीत बन्नका लागि यी तत्वहरू आवश्यक हुन्छ। यीबाहेक पहिरन, अभिनय, नृत्य, झाँकी, निरर्थक अंश, गायन, समय, गायनस्थल आदिसमेत लोकगीतका तत्वभित्र पर्दछन्।

४. लोकगीतसँग सम्बन्धित अन्य विषयवस्तुहरू

लोकको भाषिक र साङ्गीतिक अभिव्यक्ति नै लोक गीत हो। यहाँ लोकका हरेक अनुभवहरू अभिव्यक्त भएको हुन्छ। लोक गीत युगअनुसार परिवर्तन पनि हुने गर्दछ। लोक गीतमा लोकसँग सम्बन्धित हरेक विषयवस्तुहरू अभिव्यक्त भएको हुन्छ। लोक गीतलाई युगसापेक्ष विषयवस्तुले प्रभाव पार्ने भएकाले लोकगीतसँग सम्बन्धित अन्य ज्ञानका विषयवस्तुहरू पनि अध्ययन गर्न आवश्यक हुन्छ। लोक गीतसँग सम्बन्धित अन्य विषयवस्तुहरू निम्नअनुसार उल्लेख छ।

(क) भाषा विज्ञान

लोकगीत कथ्य र लेख्य विधा हो। लेख्य होस् वा कथ्य होस् लोकगीतको सिर्जना गर्दा भाषा अनिवार्य हुन्छ। लोकगीत कथ्य भाषामा नै जीवित रहेन हुँदा लोकभाषा वा ग्रामीण भाषामा नै व्यक्त हुने गर्दछ। लोक गीतको अनिवार्य तत्व भाषा भएकाले भाषा विज्ञान पनि लोक गीतसँग सम्बन्धित अध्ययनको क्षेत्रभित्र पर्दछ। अर्कातिर भाषा परिवर्तनशील हुन्छ। भाषिक परिवर्तनले समेत लोक गीतलाई प्रभावित पार्ने भएकाले लोक गीत र भाषा विज्ञान एकअर्कामा सम्बन्धित हुन्छन्।

(ख) सङ्गीत शास्त्र

लोक सङ्गीत सङ्गीत शास्त्रको आधार हो। सङ्गीत लोक गीतको अनिवार्य तत्व हो। सङ्गीत शास्त्रमा सङ्गीत भन्नाले वाद्य, नृत्य र गीत भन्ने बुझिन्छ। लोक गीतमा ताल, स्थायी, गति र रागमा आधारित हुन्छ। सङ्गीत शास्त्रले निश्चित गरकै शुद्ध र विकृत स्वरहरूकै प्रयोग भएको हुन्छ। स्वरलिपिको विकास भएपश्चात् सङ्गीत पक्षको पनि संरक्षण हुन सकेको थियो। तसर्थ, लोक गीतसँग सङ्गीत शास्त्रको सम्बन्ध रहेको हुन्छ।

(ग) संस्कृति

लोकगीत लोक संस्कृतिकै एउटा खण्ड हो। लोक गीतको सम्बन्ध संस्कृतिसँग रहेको छ। लोक संस्कृति जनसाधारणको जीवन शैलीसँग सम्बन्धित छ। कुनै पनि स्थानमा बसोबास गर्ने जनसमुदायको संस्कृतिबारे जानकारी लिनु परेमा त्यस समुदायमा प्रचलित लोक गीतको अध्ययन गर्नुपर्ने हुन्छ। कुनै पनि जातिको या समुदायको चाड, पर्व, रीतिरिवाज, चालचलन, जीवनशैली, संस्कार, मेलापर्व आदि लोक गीतमा व्यक्त भएको हुन्छ। लोक गीतले संस्कृतिको संरक्षण गरेको हुन्छ। त्यसैले संस्कृति र लोक गीत आपसी सम्बन्धित पक्षहरू हुन्।

(घ) दर्शन

दर्शनबाट साहित्यका हरेक विधाहरू प्रभावित भएझैं लोकगीत पनि प्रभावित भएको छ। लोक गीतमा वेदान्त दर्शनका साथै परम्परागत ईश्वरवादी दर्शन, इहलोक, परलोकवादी दर्शन आदि समेत पाइन्छ। बौद्ध दर्शन, जैन दर्शनको प्रभाव समेत लोकगीतमा पाउन सकिन्छ।

(ङ) मनोविज्ञान

लोक गीतमा विशेष गरेर नारी मनोविज्ञान, यौन मनोविज्ञान र बाल मनोविज्ञानसँग सम्बन्धित विषयवस्तुहरू प्रस्तुत भएको हुन्छ। प्रत्यक्ष रूपमा व्यक्त गर्न नसकिने मनका विभिन्न कुण्ठा, यौनसँग सम्बन्धित कामना, चाहनाहरू, युगौं युगदेखि शोषित, पीडितका वेदना, हिनताबोधी र आक्रोशजस्ता पक्षहरूका भाव लोक गीतमा व्यक्त भएको हुन्छ। कुनै पनि समाजको मनोविज्ञानमा भएका हरेक पक्षहरूको अध्ययन गर्न लोक गीत सहायक हुने भएकाले लाकेगति र मनोविज्ञान एक आपसमा सम्बन्धित हुन्छ।

(च) जाति विज्ञान

लोकगीत कुनै पनि जाति या जातीय समुदायमा प्रचलित हुन्छ। यहाँ जातीय समुदायका जीवनशैलीमा सङ्गीतले पार्ने प्रभावको बारेमा अध्ययन गर्दछ। लोक गीतमा कुनै जाति या त्यही समुदायमा बसोबास गर्ने जनताको सुख, दुःख, जीवनका साझा अनुभूतिहरू व्यक्त भएका हुन्छन्। लोक गीतका माध्यमबाट कुनै पनि जातीय समुदायको जीवनशैलीबारे जानकारी लिने सकिने भएकाले लोक गीतसँग जातीय समुदायको सम्बन्ध रहेको हुन्छ।

(छ) समाजशास्त्र

मानिस सामाजिक प्राणी हो। लोक गीतको प्रयोग समाजभित्रका व्यक्तिहरूले नै गरेको हुन्छ। त्यसैले लोक गीत सामाजिक वस्तु हो। लोक गीतमा कुनै समाजमा बसोबास गर्ने कुनै सम्प्रदायको सामाजिक, सांस्कृतिक पक्षको प्रस्तुति पाइने भएकाले सामाजिक गतिविधिको जानकारी लिन लोक गीतको अध्ययन गर्नुपर्ने भएकाले एकअर्कामा सम्बन्ध रहेको छ।

(ज) धर्मशास्त्र

धर्म र लोकगीतको एकअर्कामा सम्बन्ध रहेको छ। धार्मिक कार्यमा गाइने लोक गीतले धार्मिक प्रेरणा प्रदान गरेको हुन्छ। विभिन्न धार्मिक कार्यक्रमको आयोजनामा लोकगीतको प्रयोग भएको हुन्छ। लोक गीतले धर्मशास्त्रले स्थापित गरेका मान्यता, सामाजिक, नैतिक, अनुशासन र आध्यात्मिक मूल्य मान्यताको बोध गराउने भएकाले लोक गीतहरू धार्मिक चिन्तनबाट निर्देशित भएको हुन्छ।

लोक गीतसँग उपयुक्त विषयहरूका साथै साहित्यशास्त्र, मानव विज्ञान, इतिहास, पुराताŒिवक विज्ञान, अर्थशास्त्र, नीतिशास्त्र, राजनीति, कला आदिको समेत सम्बन्ध रहेको हुन्छ। यिनै सम्बन्धित विषय वस्तुहरूले लोक गीतलाई निर्देशित गरेको हुन्छ।

५. लोक गीतका विशेषता

गीत एउटा भाषिक कला हो। गीत बन्नका लागि सङ्गीतको खाँचो पर्दछ। सङ्गीत बन्नका लागि धुन चाहिन्छ। गेयात्मक काव्यलाई धुनका माध्यमबाट गीत बनाउन सकिन्छ। लोक सङ्गीतले लोक गीतको निर्माण गरेको हुन्छ। लोक र गीत दुई वटा शब्द मिलेर लोक गीत बन्दछ। लोक गीतको निम्ति लोक सङ्गीत अनिवार्य चाहिन्छ। लोक गीतमा लोकशब्दले सामूहिक रूपमा गीतको रचना गर्ने, समाजमा रहेको सांस्कृतिक, सामाजिक र आर्थिक कार्य सम्पादन गर्ने, समुदायका समस्या तथा पिर व्यथाहरूलाई व्यक्त गर्ने भाषिक माध्यम मानिन्छ। समाजमा रहेक सांस्कृतिक, आर्थिक, मनोवैज्ञानिक पक्षको सम्पादन गर्दा र दैनिक समस्याहरू व्यक्त गर्दा लोक गीत गाइन्छ।

लोक गीतमा बोलचालको भाषामा बिचलन आई काव्यात्मक बनेको हुन्छ। अधिकांश लोक गीतमा अनेक किसिमका अनुप्रास मिलेको पाइन्छ। अर्थालङ्कारको प्रयोग पाइन्छ। लोक गीतमा हार्दिकता वा भावनात्मकता बढी पाइन्छ। सरलता, स्वाभाविकता र सहज सौन्दर्य अभिव्यक्त भएको हुन्छ।

लोक गीतका गायक, श्रोता र सहभागी बस्ने, हुर्किने समुदाय र समाजको विश्लेषण लोक गीतको अध्ययनबाट पत्ता लगाइन्छ। समाजमा रहेको प्रकृतिको चक्र र मान्छेको जीवनचक्रले लोक गीतलाई प्रभाव पारेको हुन्छ। लोक गीत समयको चक्रअनुसारको ऋतु गीत र समाजमा रहेको हरेक संस्कारमा गाइने गीत संस्कार गीत रहेको पाइन्छ।

लोक गीतमा जनताले भोगेका दुःख, सुख, पिर, व्यथा र कुण्ठा व्यक्त भई समाजमा व्याप्त कुसंस्कारहरूबाट मुक्ति हुने बाटाको खोजी हुन्छ। यसमा परम्परागत कलाकौशल र प्रविधिको पनि उल्लेख हुन्छ। लोक गीत लोकसाहित्यका अन्य विधाहरू, लोकसंस्कृति, लोकजीवन, लोकविश्वास र लोक गीत गाइने भौगोलिक र प्राकृतिक परिवेशसँग सम्बन्धित हुन्छ।

लोक गीतमा स्थायी र अन्तरा हुन्छ। श्लोकहरूमा पनि गाइएको हुन्छ। यसमा द्विरुक्ति, पुनरुक्ति र टेकको प्रवृत्ति पाइन्छ। लोक गीतमा प्रायः दोस्रो पङ्कितबाट खास भाव व्यक्त हुँदै जान्छ। लोक गीत परम्परागत विधा भएकाले अन्य लोक विधासँग पनि सम्बन्ध रहेको हुन्छ। जस्तैः लोकगाथा, लोककथा, लोकनाटक, उखान, नृत्यजस्ता लोकविधासँग सम्बन्ध रहेको हुन्छ। तसर्थ, लोक गीत लोकको प्रतिनिधित्व गर्ने गद्यात्मक काव्य हो। लोक गीतलाई धुनले गेयात्मक बनाएको हुन्छ।

६. लोकगीतका प्रकार

नेपाली लोकगीतले लोक जीवनलाई अंगालेको हुन्छ। विभिन्न जाति, समुदाय तथा समाजका संस्कार, संस्कृति र विभिन्न रहनसहनले लोक गीतलाई प्रत्यक्ष र अप्रत्यक्ष दुबै तरिकाबाट प्रभाव पारिरहेको हुन्छ। प्रस्तुत सन्दर्भमा नेपाली लोक गीतको प्रकारबारे परिचयात्मक अध्ययन गर्नु निकै सार्थक देखिन्छ।

(क) भजन

भजन लोकगीतको प्रकार हो। पूजाआजा र घरघरमा हुने आराधनाको बेला भजन गाउने चलन रहेको छ। भगवान सम्बन्धित भक्ति, आराधना, उपासना र श्रद्धाविशेषका विषय भएकाले यसलाई भजन भनिएको हो।

(ख) सेलो

सेलो तामाङ जातिले गाउने लोकगीतको प्रकार हो। यसलाई म्हेन्दोला माया गति पनि भनिन्छ। यो विशेष डम्फुको तालमा गाउने गरेको पाइन्छ। यो जातिविशेषको लोक गीत हो।

(ग) आरती

आरती दुई प्रकारले प्रयोग गरिन्छ। नित्य कर्मको लागि एउटा आरती साँझ, बिहान गाइन्छ भने अर्काे आरती पुराण, सप्ताह, यज्ञ, उत्सव तथा जात्राको बेलाविशेष भजन प्रारम्भ गर्नुअघि ईश्वर, आराधनाको लागि आरती गाइने प्रचलन रहेको छ।

(घ) दमाई गीत

दमाई जाति लोकगीत गाउनमा सिपालु हुने गरेको पाइन्छ। नौमती बाजा र नौमती बाजासहितको झ्याउरे लोक गीत गाउने दमाई जातिको परम्परागत पेसा जस्तै नै भएको पाउन सकिन्छ। यो पुरानो सोचाइ हो। अहिले अन्य जातिले पनि यो गीत र बाजा बजाउने तथा गाउने गर्दछन्। यसरी परम्परागत रूपमा दमाई जातिले प्रयोग गर्ने लोक गीत नै दमाई गीत हो।

(ङ) घाँसे गीत

घाँसे भाका लोक गीतको एउटा प्रसिद्ध भाका हो। विशेष यो काठमाडौं र काठमाडौं वरपर गाइने भएकाले यसलाई नेपाल गीत पनि भन्ने गरिन्छ। यो गीत घास काट्दा घाँसको विषय बनाएर गाउने प्रचलन रहेको छ।

(च) झ्याउरे

झ्याउरे भाको धेरै भेद छन्। यो झ्याउरेको बीचबीचमा भट्याउने काममा लगाइने सवाई तालको छन्द मिसाइन्छ।

(छ) असार गीत

असारमा रोपाइँ गर्दा प्रयोग हुने लोक गीत नै असारे गीत हो। यो निकै पुरानो, निकै फैलिएको र निकै मौलाएको लोकलय हो।

(ज) ख्याली

ख्याली लोक गीतमा निकै चलेको भाका हो। यस लयलाई सोरठीको भेद पनि मानिन्छ र यसै लयमा ख्याली र चुड्काजस्ता लय पनि पाइन्छ।

(झ) संगिनी

नारीहरूको मधुर कण्ठबाट संगिनी गीत व्यक्त हुने गर्दछ। नारी जाति कथाव्यथा प्रशस्त पाइने यो गीतमा नृत्य गर्न पनि मिल्छ। लोक गीतको प्रचलित गीत संगिनी विभिन्न भेदमा पाइन्छ।

(ञ) भैलो

महिलाहरू दीपावलीमा भैलो खेल्दा प्रयोग गर्ने भैलो गीत परम्परागत गीत हो। भैली ८ अक्षरमा पूरा हुने चतुष्पदी लय हो। घुमाउनीमा चाहिँ १२ अक्षर रहन्छन्। यहाँ ५ र १० अक्षरमा विश्राम हुने गर्दछ।

(ट) मारुनी

नृत्य, मारुनी आदिमा प्रयोग हुने चुट्के लयको गीतलाई मारुनी गीत भनिन्छ।

(ठ) बालगीत

बालबालिकाले गाउने गीत बालगीत हो। यो विद्यालयमा पनि प्रयोग हुने गर्दछ।

(ड) देउसे गीत

देउसे ४ अक्षर हुने लघुलय हो। अवस्था हेरी यो लय ७ अक्षरसम्म पनि विस्तार हुन सक्छ। यसमा २२ अक्षरमा विश्राम हुन्छ। तिहारको समयमा खेलिने देउसीमा यो गीतको प्रयोग हुने गर्दछ।

७. निष्कर्ष

लोकसाहित्य युगौंदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ। लोकसाहित्य गीत, गाथा, कथा, नाटक, कविता र लोकोक्तिसँग लुुकामारी गर्दै आएको विधा हो। लोक साहित्य अन्तर्गत प्रमुख विधाको रूपमा लोक गीत सबैभन्दा सम्पन्न भएको विधा हो। नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोक गीतले प्रस्तुति गरेको छ। विभिन्न विषयवस्तुसँग सम्बन्धित भएर जनजीवनका हरेक घटनालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको लोक गीत लोक परम्परादेखि नै प्रचलित हुँदै आएको हो। यो विभिन्न प्रकारको हुने गर्दछ। नेपालको मेचीदेखि महाकालीका साथै नेपालबाहिर समेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःख-सुखका सम्पूर्ण भोगाइहरू नै लोक गीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ। हरेक इतिहासको अध्ययन गर्नुपरे लोक गीत कुनै न कुनै ठाउँमा हेर्ने पर्ने हुन्छ।

लोक परम्परादेखि चलिआएको लोक गीत आज पाश्चात्य साहित्यको बढ्दो प्रभावका कारण सङ्कट अवस्थामा पुगिरहेको छ। नेपाली युवाहरूको लोक गीतको मोह क्रमशः घट्दो अवस्थामा छ। क्षेत्रगत प्रतिस्पर्धाको कारण पनि लोकगीतको उचित विकास र विस्तारमा कमी आइरहेको छ। तसर्थ, लोक गीतलाई बौद्धिक क्षेत्रबाटै खोज, अध्ययन, व्याख्या तथा विश्लेषण, प्रसारप्रसार र त्यसको महत्व र आवश्यकतामाथि सावधानीपूर्ण ढङ्गले चेतना फैलाई संरक्षण र सम्वर्द्धन विशेष तरिकाले प्रयास गर्नुपर्ने देखिन्छ।

सन्दर्भसूची

आचार्य, बाबुराम, (२०५०), पुराना कवि र कविता, छै. सं., ललितपुर : साझा प्रकाशन।

आचार्य, गोविन्द, (२०६२), लोकगीतको विश्लेषण, काठमाडौं : पैरवी प्रकाशन।

जोशी, सत्यमोहन, (२०१२), नेपाली लोकगीत : एक अध्ययन, काठमाडौं : रत्न पुस्तक भण्डार।

पराजुली, कृष्णप्रसाद, (२०५७), नेपाली लोकगीतको आलोक, काठमाडौं : रत्न पुस्तक भण्डार।

बलराम, कृष्णहरि, (२०६०), गीतसिद्धान्त र इतिहास, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार।

मिश्र, श्रीधर, (सन् १९९१), भोजपुरी लोकसाहित्य, इलाहावाद : सास्कृतिक अध्ययन हिन्दुस्तलानी एकेडेमी।


 

More form the Internet

loading...