Suvadin, Home

इण्डिया आर्ट फेयरमा नेपाली चित्र

नेपाल कला परिषद्का उपाध्यक्ष सागरशम्शेर राणा र कला निरीक्षक स्वस्ति राजभण्डारीले संयोजन गरेको उक्त मेलामा नेपालका जीवन राजोपाध्याय, चिराग बाङ्देल, सुजन डङ्गोल, रवीन्द्र श्रेष्ठ, मेख लिम्बू, सविता डङ्गोल र सुनिता महर्जनका चित्र राखिएका छन्।

काठमाडौं, २८ माघ – भारतको नयाँदिल्लीमा भइरहेको १०औं इण्डिया आर्ट फेयरमा नेपालका ७ चित्रकलाकारका चित्र समावेश भएको छ। 

नेपाल कला परिषद्का उपाध्यक्ष सागरशम्शेर राणा र कला निरीक्षक स्वस्ति राजभण्डारीले संयोजन गरेको उक्त मेलामा नेपालका जीवन राजोपाध्याय, चिराग बाङ्देल, सुजन डङ्गोल, रवीन्द्र श्रेष्ठ, मेख लिम्बू, सविता डङ्गोल र सुनिता महर्जनका चित्र राखिएका छन्। 

यही माघ २६ देखि २९ गतेसम्म ओख्ला इण्ड्रष्ट्रियल ग्राउण्ड, नयाँदिल्लीमा भएको मेलामा यो नेपालको तेस्रो सहभागिता हो। सन् २००८ देखि शुरु भएको यस्तो मेला चित्रकलामा दक्षिण एशियाकै ठूलो मेला मानिन्छ।

राजोपाध्यायको अशीर्षक, बाङ्देलको ‘गीत गोविन्द’, सुजनको ‘तीन पुस्ता’, महर्जनको ‘मार्फाका गह्रा’ शीर्षकलगायत चित्र प्रदर्शनीमा राखिएका छन्। राजोपाध्यायको लयात्मक रुपमा अमूर्तता, बाङ्देलको कृष्णलीला, सुजनको राष्ट्रिय एकता र सामाजिक समता, महर्जनको वर्गीकृत भूदृश्य र लिम्बूको कलामा बसाइँसराइ र आन्तरिक विस्थापनका विषय भेटिन्छ।

 परिषद्का उपाध्यक्ष राणाले सात जना कलाकारका चित्रले समसामयिक नेपाली कलाको प्रतिनिधित्व गर्दै वर्तमान नेपाली समाज, मानिसहरुको भावनात्मक सङ्घर्ष, आध्यात्मिक र मानवीय सम्बन्ध आदि प्रस्तुत गरेको बताएका छन्।


 

More form the Internet

loading...