Suvadin, Home
Nepal life 1.22M

भूगर्भविद् अरूणकुमार सुवेदीको जीवनयात्राः आगोको फिलिङ्गो

घोष्ट राइटिङ नेपालद्वारा प्रकाशित जीवनयात्रा किताब भूगर्भशास्त्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टंक पन्त, पत्रकारद्वय गुणराज लुइँटेल र तीर्थ कोइराला र पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर क्षेत्रीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। 
पुस्तक विमोचन गरिँदै।

काठमाडौं, २७ असार – लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय तथा भुगर्भविद् अरूणकुमार सुवेदीको आत्मकथा ‘जीवनयात्रा’ सार्वजनिक भएको छ।

घोष्ट राइटिङ नेपालद्वारा प्रकाशित जीवनयात्रा किताब भूगर्भशास्त्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टंक पन्त, पत्रकारद्वय गुणराज लुइँटेल र तीर्थ कोइराला र पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर क्षेत्रीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। 

किताबमाथि बोल्दै भूगर्भशास्त्रका प्राध्यापक तारानिधि भट्टराईले पुस्तक पढ्न थालेपछि छोड्न मन नलाग्ने बताए। ‘यो पुस्तक मात्र होइन, आगाको फिलिङ्गो हो। उहाँको व्यक्तित्व, ओज र सोचका आधारमा नेपालमा यत्तिको होनाहार मान्छे पनि छ र भन्ने प्रश्नचिह्न खडा हुन्छ। उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुँदो रहेछ भन्ने खुलासा भएको छ।’ पुस्तकमा खानीको बारेमा आधारभूत जानकारी मात्रै नभएर नेपालमा कहाँकहाँ कस्ताकस्ता खानी छन् र हामी कति धनी छौँ भन्ने व्याख्या गरिएको भट्टराईले उल्लेख गरे। 

त्यसैगरी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले जीवनयात्रा किताबलाई तथ्यगत रूपमा हेर्दा आधिकारिक दस्तावेजजस्तो लाग्ने बताएका छन्। ‘अन्यथा यी कुराहरू केवल उहाँका व्यक्तिगत अनुभवका रूपमा मात्र सीमित हुन्थे। यहाँ माँझ किराँतको एउटा सभ्यताको नालिबेली समेत आएको छ,’ लुइँटेलले भने, ‘सँगसँगै वन्यजन्तु संरक्षणमा पनि मान्छेलाई सचेत गराएका छन्। भूत, झाँक्री जस्ता हाम्रा पुराना सभ्यता र संस्कृतिका कुरा पनि नयाँ र अनुसन्धेय ढङ्गले आएका छन्।’

लुइँटेलले हामीले बिर्सिसकेका ग्रामीण शब्द र प्रथाहरूका बारेमा पनि पाठकले नयाँ संवाद अनुभव गर्न सक्ने बताए। ‘यसर्थ यो किताब माँझ किराँतमा बस्ने मान्छेहरूको साझा कथा हो,’ उनले भने।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले जीवनयात्रा पुस्तकले ठाउँ विशेषले जाति निर्धारण हुन्छ भन्ने देखाउने उल्लेख गरे। ‘यो किताबमा अरुणकुमार लिम्बू सुवेदीको व्यक्तित्व निर्माण भएको छ। सुवेदीको व्यक्तित्व हेर्दा केही समयपछि जन्मिएका भए देश परिवर्तनका लागि गतिलो आधार बन्न सक्थे। किताबमा उनी सिनेमाका नायक जस्ता लाग्छन्। कोइरालाले पूर्व लिम्बूवानको हिरादेखि दार्चुलासम्मको हिराको खोजी गरिएको जनाए। ‘खानी र भुगर्भका दृष्टिले देशको समृद्धिको ढोका खोलेको छ,’ उनले भने।

पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति जगतबहादुर क्षेत्रीले किताब पढेपछि अरूण अजिङ्गरजस्तै लागेको बताए। सुवेदीको व्यक्तित्व खोलोजस्तै ओह्रालो बगिरहने खालको रहेछ भन्ने किताबमा स्पष्ट ढङ्गले आएको छ। अरुणले जीवनमा कठोरभन्दा कठोर निर्णय पनि गरेको देखिन्छ। साहसले मान्छेलाई अगाडि बढाउँछ भन्ने प्रेरणा नै किताबको मुख्य सन्देश हो,’ उनले भने।

वरिष्ठ पत्रकार टंक पन्तले नयाँ पुस्तालाई एउटा नयाँ खोज र अनुसन्धानको लागि पुस्तकले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए। 

पुस्तक लेखक अरुणकुमार सुवेदीले किताब राष्ट्रका लागि सुम्पेको बताए। ‘किताबबाट मैले जिज्ञाशा जगाइदिने हो अबको नयाँ पीढीले पुस्तकमै आधार रहेर नयाँ खोज गर्न सक्ने छ,’ सुवेदीले भने।


 

More form the Internet

loading...