Suvadin, Home
Nepal Telecom 927.3k

थारु समुदायमा माघीको उल्लास

फाइल तस्बिर।

निरज गौतम नेपालगन्ज, पुस २६ 


माघ लहइली सुरिक सिकार खइली रे हाँ
सखी अई हो माघ के पिली गुरी गुरी जाँर
सकिरी गलियावामा लगल बजरिया रे हाँ
सखी अई हो लानी दे हो भाटु नथिया बजार

यो गीत अहिले थारु समुदायका घरआँगन र बस्तीहरुमा गुञ्जायनमान भएको छ। वर्षभरिको दुःख र पीडा बिर्संदै आपसमा मिलेर गीत गाउदा बेग्लै माहोल छ। गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले सबैलाई छोएको हो।

पुस २९ गतेबाट सुरु हुने सप्ताह ब्यापी यो पर्वमा थारु समुदायले कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन्।

माघी पर्वका अवसरमा थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना बनाउनुका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्छन्। ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने चलन समेत रहेको थारु अगुवा कालीचरण चौधरीले बताए।

उनका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ। त्यस रात थारु समुदाय मासु, जाँड र ढिकरी खाएर रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन्।

माघीको दिन (माघ १ गते) बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का लुटाउने प्रचलन रहेको थारु समुदायका अगुवा विश्वराज पछलङग्याको भनाइ छ।

माघीको अवसरमा तिलको आगो ताप्नाले वर्षभरि अन्जानवश गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास रहि आएको छ। पर्वका अवसरमा यो समुदायले गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन्। त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बाँकेको बैजापुर गाविसस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेला लाग्छ।

थारु समुदायले माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाइरहेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ मुक्त कमैयाको पीडा ज्यूकात्यू छन । थुप्रै पीडा मनमै लुकाएर उनीहरु माघी मनाउछन । अझैसम्म गाँसबासको उचित प्रबन्ध नभएकाले समस्या झेलिरहेका मुक्त कमैयाले बताए।  ‘जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम नल्याएपछि हामी बिचल्लीमा परेका छौं,’ बर्दिया, बबई नगरपालिकाका मुक्त कमैया सोहन थारुले भने।

जिल्ला भूमिसुधार कार्यालयले यस जिल्लाका सिफारिस गरिएका सबै एक हजार ८३६ मुक्त कमैयालाई सरकारले जग्गाधनी लालपुर्जा उपलब्ध गराएको दाबी गरेको छ। २०६६ मा ‘कमैया नभएको जिल्ला’ समेत घोषणा गरिएको थियो।

बाँके जिल्लालाई ‘कमैया मुक्त जिल्ला’ घोषणा गरिएपनि अधिकांश मुक्त कमैयाले अझै पनि गाँसबासको समस्या झेलिरहेको पाइन्छ, थुप्रै मुक्त कमैयाको अझै पुनःस्थापना हुन नसकेको हो।

‘जिल्लामा अझै तीन हजारभन्दा बढी मुक्त कमैया रहेकाले उनीहरुलाई पुनःस्थापना गराउन सरकारले तत्काल जग्गाको छुट लगत दिनुपर्छ,’   मुक्त कमैया अगुवा फत्तु थारुको भनाइ छ। जिल्ला भूमिसुधार कार्यालयमा जग्गाका लागि परेको दरखास्तमध्ये ८९२ मुक्त कमैयाको दरखास्त अझै छानबिन गर्न बाँकी रहेको छ।

आफ्नो गाउँका छिमेकीको घरमा माघीको उन्मुक्त उत्साह देख्दा मुक्त भएकाहरु आफ्नै भाग्यलाई नै दोषी मान्छन्। ‘के गर्ने हजुर भाग्यमा जे छ त्यसैलाई स्वीकार्नुको अरु विकल्प के नै हुन्छ र,’ बाँके, बैजापुर धामपुरका मुक्त कमैया रामआसरे चौधरीले भने। रासस

 


 

More form the Internet

loading...