Suvadin, Home

Cover Image

मजदूर, किसान र श्रमजीवी जनताका गायक

एकछिन गम्भीर भएर रामेशले उत्तर दिए, ‘म यो राष्ट्र र हाम्रा सन्ततिको सुन्दर भविष्यका लागि गीत गाउछु।’ रामेशको यो उत्तरमा समग्र मुलुकको तस्वीर छ। राष्ट्रको उन्नतिको चिन्ता र आशाको सञ्चार पनि भएको छ। कयौं पटक पञ्चायती शासकहरुले रामेशहरुको टिमलाई नै जेल हाले, कार्यक्रम आयोजना हुने स्थलमा अवरोध पुर्याए, ज्यानै लिनका लागि सुराकी गरियो। तर, जागरणको महान अभियानमा लागेका रामेशका पाइला निरन्तर चलिरहे। निरन्तर अघि बढिरहे। अहिले पनि रामेश त्यही जाँगरका साथ जनता जगाउन हिँडिरहेका छन्।
रामेश श्रेष्ठ।

अशोक अधिकारी, काठमाडौं, ७ वैशाख – 

झिल्का–झिल्का बल्नेहरु ज्वाला भएर उठ।
देशलाई माया गर्नेहरु एकजुट भएर उठ।।

गाउँ–गाउँबाट उठ, वस्ती–वस्ती उठ। 
यो देशको मुहार फेर्नलाई उठ।।

‘नेपाल इन्स्पायरर’का लागि अन्तरवार्ताको शुरुवातमै यो गीतमा आवाज भरेका जनगायक रामेश श्रेष्ठलाई ‘तपाई गीत किन गाउनुहुन्छ’ भनेर प्रश्न गरेँ। एकछिन गम्भीर भएर रामेशले उत्तर दिए, ‘म यो राष्ट्र र हाम्रा सन्ततिको सुन्दर भविष्यका लागि गीत गाउछु।’ रामेशको यो उत्तरमा समग्र मुलुकको तस्वीर छ। राष्ट्रको उन्नतिको चिन्ता र आशाको सञ्चार पनि भएको छ।

नेपाली भाषामा पहिलो पटक गीतकार श्याम तमोटले लेखेको यो गीत नेवारी, राई, तामाङ, चिनियाँ, हिन्दी, अंग्रेजी लगायतका दर्जनौं भाषामा अनुवाद भइसकेको छ। वि.सं. २०२९ सालतिर जनवादी गायक रामेश श्रेष्ठले काठमाडौंस्थित उनको डेरा बास बस्न आएका एक विद्यार्थीबाट यो गीत सुनेका रहेछन्। र, गाउन थालेका रहेछन्।

राल्फा समूहले गाएको गीत पछि संकल्प परिवारबाट संगीत संयोजनसहित गाइएको थियो। ‘श्याम तमोटसँग मेरो भेट भएको थिएन, भोजपुरमा एउटा स्कूलमा आयोजना गरिएको सांगीतिक कार्यक्रमका लागि उहाँले यो गीत तयार गर्नुभएको रहेछ,’ रामेशले सम्झिए।

काठमाडौंमै डेरा गरेर बस्ने ती युवाले सुनाएको गीत रामेशले पनि गाउन थाले। ‘संकल्प परिवार प्रगतिशील गीत–संगीतको सिर्जना गर्ने थलो थियो, संकल्प पत्रिका प्रकाशन गर्थ्याैं, सोही क्रममा यो गीत सुनेको थिएँ,’ रामेशले शुभदिनसँग भने, ‘पछि गएर हामीले यो गीत मुलुकभरि नै गाउँदै हिँड्यौं।’

यद्यपि, उनी पछिल्लो समय केही उत्साहित चाहिँ रहेछन्, भने, ‘प्रगतिशील वामपन्थी एकताको तयारी राम्रो पक्ष हो। तर त्यो एकता वास्तविक श्रमजीवी जनताका लागि हुनुपर्छ। सत्ताको भर्याङ मात्रै बन्नु हुँदैन।’

नेपाली वामआन्दोलनलाई शिखरमा पुर्याउन रामेशजस्ता होनाहार जनगायकहरुको अमूल्य योगदान छ। जनतालाई सुसूचित गर्नका लागि उनीहरु दिनरात लागिरहन्थे। भोकप्यास नभनी डटिरहन्थे। आफ्नो जीवनको कुनै परवाह नगरी राष्ट्र र जनताका लागि मरिमेट्ने गर्थे।

कयौं पटक पञ्चायती शासकहरुले रामेशहरुको टिमलाई नै जेल हाले, कार्यक्रम आयोजना हुने स्थलमा अवरोध पुर्याए, ज्यानै लिनका लागि सुराकी गरियो। तर, जागरणको महान अभियानमा लागेका रामेशका पाइला निरन्तर चलिरहे। निरन्तर अघि बढिरहे। अहिले पनि रामेश त्यही जाँगरका साथ जनता जगाउन हिँडिरहेका छन्। 

बिहीबार पाल्पा जाने तयारी गरिरहेका रामेशले शुभदिनसँगको कुराकानीमा आफ्नो जीवनका संघर्षका कथाहरु शिलशिलाबद्ध रुपमा बताए। संघर्षका कथाहरु भने, राज्यसँगको अपेक्षा र वाम नेतृत्वसँगको गुनासो पनि पोखे। यद्यपि, उनी पछिल्लो समय केही उत्साहित चाहिँ रहेछन्, भने, ‘प्रगतिशील वामपन्थी एकताको तयारी राम्रो पक्ष हो। तर त्यो एकता वास्तविक श्रमजीवी जनताका लागि हुनुपर्छ। सत्ताको भर्याङ मात्रै बन्नु हुँदैन।’

नेपाली जनताको आशा र भरोशा कम्युनिष्ट पार्टीमाथि रहेको बताउँदै रामेशले यो सरकारले त्यो भरोशा तोड्ने कार्य गर्नै नहुने बताए। ‘वामशक्तिलाई नेपाली जनताले दिएको अन्तिम अवसर हो। अब चाहिँ तलमाथि नहोस्,’ उनले भने।

८ वर्षमै आमा गुमाए, यसरी शुरु भयो रामेशको संघर्ष

रक्तक्रान्तिको ज्वालामुखीमा आज उठेको यो बलिदान
शीर नढलेका युवायुवतीको हृदय–हृदयको यो स्वाभिमान।

सानो एक झिल्कोबाट बन्दै जान्छौं लाखौं जवान
न्याय बचाउन देश उचाल्छौं गर्दै अर्पण प्राण।

यस्ता धेरै गीतका श्रष्टा रामेशको जीवनयात्रा पाल्पाबाट प्रारम्भ भएको हो। रामेशको जन्म वि.सं. २००१ साल असार ८ गतेका दिन पाल्पाको तानसेनमा भएको हो। बुवा कर्णबहादुर र आमा शिवलक्ष्मी श्रेष्ठका सुपुत्र हुन् रामेश। ओखलढुंगा स्थायी घर भएका श्रेष्ठ दम्पत्तिका ५ छोरा र ५ छोरी छन्। 

रामेशका बुवाको सरुवा पाल्पाबाट डोटी भयो। वि.सं. २००५ सालमा फेरि सिन्धुपाल्चोक सरुवा भयो। सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित पद्मोदय स्कूलबाट उनले पढाई शुरु गरे। उनको स्कूल बुवाको सरुवासँगै परिवर्तन हुन्थ्यो। 

रामेशले २०१६ सालमा तेह्रथुमको सिंहबाहिनी हाइस्कूलबाट  एसएलसी पास गरे। तेह्रथुममा उनी ८ वर्ष बसे। स्कूल पढ्दा नै रामेश गायन तथा संगीतमा भिजिसकेका थिए। सदरमुकाम म्याङलुङ बजारमा आयोजना गरिने कार्यक्रमहरुमा जान थाले। सुदूरपूर्वी पहाडी जिल्लामा सानै भएपनि उनले छाप छोड्न सफल भए।

रामेशले आमाको माया धेरै समयसम्म पाउन सकेनन्। वि.सं. २००८ मै उनकी आमा शिवलक्ष्मीको निधन भयो। त्यसपछि बुवा कर्णबहादुरको पनि २०२१ सालमा निधन भयो। 

ओखलढुंगा आएपछि पाए सहयात्री

रामेश वि.सं. २०१८ सालमा तेह्रथुमबाट ओखलढुंगा आए। उनले तेह्रथुममा सिकेको संगीतको ज्ञान ओखलढुंगामा पनि बाँड्न थाले।

सांगीतिक कार्यक्रमकै दौरान रामेशको भेट रायन (नारायणभक्त श्रेष्ठ) सँग भयो। नाताले पनि नजिकका रामेश र रायनले पहिलो गीत ‘चन्द्रमाको मुस्कानले मुटु छिया पार्छ’ गाए। जसमा रायनले संगीत भरे, रामेशले स्वर दिए। 

वि.सं. २०२१ सालमा रेडियो नेपालबाट औपचारिक रुपमा रामेशको सांगीतिक यात्रा प्रारम्भ भयो। ‘त्यति बेला एउटा गीत गाएबापत १० रुपैयाँ दिइन्थ्यो, हामीले ३० रुपैयाँमा महिना दिन बिताउनुपथ्र्यो,’ रामेशले विगत सम्झिए, ‘तर, हाम्रो पारिश्रमिक कीर्ते गरेर त्यहाँका कर्मचारीले खाने गरेको थाहा पाएपछि हामीले जागिर छोड्यौं।’

रेडियो नेपालको तितो स्मृति 

रामेश र रायन वि.सं. २०१९ सालमा रेडियो नेपालले आयोजना गर्ने राष्ट्रिय लोकगीत प्रतियोतियामा सहभागी हुन काठमाडौं आए। ‘लिखुखोला, तामाकोशी, सुनकोशी, रोशी नदी तरेर बनेपाबाट लरी (ट्रकजस्तै) मा चढेर काठमाडौं आइपुग्यौं,’ उनले भने, ‘नातीकाजी दाइ, शिवशंकर दाइ रामलाल जोशी दाइहरुले लोकगीत संकलन र गाउन प्रेरित गर्नु भयो, रेडियो नेपालमा गीत गाउन आउन मनलागे आओ भन्नुभयो।’ 

वि.सं. २०२१ सालमा रेडियो नेपालबाट औपचारिक रुपमा रामेशको सांगीतिक यात्रा प्रारम्भ भयो। ‘त्यति बेला एउटा गीत गाएबापत १० रुपैयाँ दिइन्थ्यो, हामीले ३० रुपैयाँमा महिना दिन बिताउनुपथ्र्यो,’ रामेशले विगत सम्झिए, ‘तर, हाम्रो पारिश्रमिक कीर्ते गरेर त्यहाँका कर्मचारीले खाने गरेको थाहा पाएपछि हामीले जागिर छोड्यौं।’

जागिर नै धरापमा परेपनि कीर्ते गर्नेहरुलाई कारबाही गराए रामेशले। भ्रष्टाचार निवारण विभागमा प्रमाणसहित पुगेपछि ती कर्मचारीमाथि कारबाही भएको उनले सुनाए। ‘भ्रष्टाचार निवारण विभागमा मकरबहादुर बान्तवा हुनुहुन्थ्यो,’ उनले भने, ‘हामी सप्रमाण पुगेपछि कारबाही भयो, त्यसपछि रेडियो नेपालमा गीत गाउन पाएनौं।’ 

पारिजातसँगको भेट

रामेशले रेडियो नेपालको जागिर छोडेपछि फुर्सदिला त भएका थिए। तर, अब के गर्ने भन्ने तनाव पनि उनमा थियो। ‘गाउँ फर्कंने सोच पनि आएको थियो,’ उनले भने, ‘तर, ज्ञान उदाशले पारिजात दिदीसँग भेट गराउनु भएपछि हाम्रो यात्रा नयाँ ढंगले अघि बढ्यो।’

त्यति बेला सञ्चारमाध्यमको निर्विकल्प साधन रेडियो नेपाल नै थियो। रेडियो नेपालमा रामेशहरुले गाउने पूर्वको भाकाले पारिजातको मन छोएको रहेछ। त्यसैले रामेश, रायनहरुलाई भेट्ने इच्छा व्यक्त गरेकी रहिछन्। ज्ञान उदाशले रामेशसँगको भेटमा पारिजातले भेट्ने इच्छा व्यक्त गरेको खबर सुनाउँदा शुरुमा त उनहरुलाई पत्यार लागेनछ।

रामेशका अनुसार पारिजात बहिनी सुकन्यासँगै बस्थिन्। ‘एकदिन हामी पारिजात दिदीलाई भेट्न गयौं,’ उनले भने, ‘दिदी बिरामी हुनुहुँदो रहेछ, उहाँले गीत सुन्ने इच्छा पनि गर्नुभयो, दिदीसँग त्यसपछि १ महिना, २ महिनामा भेट हुनथाल्यो, अध्ययनका कुरादेखि संगीतका विषयमा पनि धेरै कुरा हुनथाले।’

‘मञ्जुलले एउटा लेख लेख्नुभएको थियो, –गीतारभित्र सल्बलाउँदा राल्फाका धुनहरु, मलाई राल्फा भन्ने शब्द मन परेको थियो, मैले यही नाम राखौं भनेर प्रस्ताव गरेँ। र, राल्फा समूह स्थापना भयो।’

राल्फा समूहको सांगीतिक अभियान

वि.सं. २०२८ सालतिर पूर्वको झापाबाट वामपन्थीहरुले विद्रोह शुरु गरे। त्यसको तरंग देशभरि नै फैलियो। त्यसअघि रामेशहरुले पनि केही गर्नैपर्छ, समाजमा हामी पनि चिनिनुपर्छ भन्ने लक्ष्यले राल्फा समूह बनाए।

‘परिचित हुने माध्यम अरु थिएन, रेडियो नेपालमा गीत गाउन पनि निशेधजस्तै थियो, त्यही क्रममा एउटा अलि अनौठो नामको खोजीमा हामी थियौं, रामेशले शुभदिनसँग भने, ‘मञ्जुलले एउटा लेख लेख्नुभएको थियो, –गीतारभित्र सल्बलाउँदा राल्फाका धुनहरु, मलाई राल्फा भन्ने शब्द मन परेको थियो, मैले यही नाम राखौं भनेर प्रस्ताव गरेँ। र, राल्फा समूह स्थापना भयो।’

राल्फाले राष्ट्रव्यापी रुपमा सांगीतिक अभियान सञ्चालन गरेको रामेश बताउँछन्। त्यति बेला प्रशासनको नजरबाट जोगिएर जनतालाई जागरुक बताएको थियो राल्फा समूहले। ‘त्यति बेला धेरैले सहयोग गर्नुभयो, हाम्रो टिमलाई ठाउँ–ठाउँमा व्यवस्थापकीय भूमिका निभाउने साथीहरु थिए,’ उनले भने, ‘पछि थाहा भयो ती सबै झापा विद्रोहका क्रममा सक्रिय साथीहरु रहेछन्।’

हो हो दाजु ठिकै भन्यौं चित्त बुझ्यो मेरो।
सामन्तीलाई खत्तम पार्न मार्छु अब फेरो।।

यस्तै गीत गाउँदै राल्फा समूह राष्ट्रव्यापी रुपमा लोकतन्त्रका पक्षमा जनलहर निर्माण गर्न जुट्यो। तर, राल्फा सांगीतिक समूहमा पनि विचारमा विविधा आएपछि २ समूह भयो।

रामेशहरुले तत्कालीन नेकमा मालेलाई र रायनहरु मोहनविक्रम सिंहको कोअर्डिनेसन केन्द्रलाई नैतिक रुपमा समर्थन गरे। खुब प्रतिष्पर्धा भएको रामेश सझिन्छन्। ‘तर, हाम्रो प्रतिष्पर्धा राष्ट्रकै लागि थियो,’ अलिकति मुस्कुराएर रामेशले भने। 

महेन्द्रलाई पनि सुनाए गीत

तत्कालीन राजा महेन्द्र शाह अमेरिका भ्रमणमा गएका बेला त्यहाँका सांगीतिक समूहका गीत सुनेका रहेछन्। रामेशका अनुसार आफैँ कविता लेख्ने गरेका महेन्द्रले सांस्कृतिक संस्थानका निर्देशक महेन्द्रनाथ खनालसँग नेपालमा त्यस्तो समूह छ कि छैन भनेर सोधेछन्। खनालले छ भन्ने जवाफ दिएछन्।

नेपाल आएपछि खनालले रामेश, रायन, मञ्जुलहरुलाई महेन्द्रलाई गीत सुनाउन आग्रह गरे। र, रामेशको टिमले राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा महेन्द्रलाई लोकगीत सुनाएछन्। तर, राल्फाका क्रान्तिकारी गीत चाहिँ नसुनाएको रामेशले बताए। ‘सेन्सर गरेर मात्रै गीत सुनाउन पायौं,’ उनले भने। 

स्वतन्त्र र सक्रिय

तत्कालीन नेकपा मालेमा संगठित भएपछि पार्टीभित्र मौलाएको विकृतिविरुद्ध रामेशले आवाज उठाउन थाले। राम्रा कामलाई समर्थन र नराम्रो कामको चर्को विरोध गरे। लोकतान्त्रिक जीवनशैली तथा सामन्त र पुजीपतिहरुसँग पार्टीका नेताहरुको उठबस उनलाई पटक्कै मन गरेन।

मार्क्सवादी दर्शनमा आधारित जीवनशैलीका पक्षमा आवाज उठाएपछि रामेश पार्टीको कारबाहीमा परे। र, वि.सं. २०३९ सालमा उनले पार्टीबाट स्वतन्त्र भएको घोषणा गरे। रघु पन्त, टंक कार्की, मञ्जुल लगायतका कारबाहीमा परेका नेताहरु पार्टीमा फर्किएपनि रामेश स्वतन्त्र भएर जनताका गीत गाउँदै हिँडे। 

रामेशका गीत सुन्नेका कान फुटाइयो

पञ्चायतकालमा प्रहरी–प्रशासनको बर्बरताको सीमा थिएन। प्रहरीले गायक रामेशलाई त विभिन्न आरोपमा ज्यादति गरेको थियो नै। कतिसम्म भने रामेशका गीतका सुन्ने सर्वसाधारणलाई पनि प्रहरीले दुःख दिन्थे।

एक पटक कुनै गाउँमा सांस्कृतिक गरेर फर्किपछि रामेशलाई खोज्दै पुगेका प्रहरीले गाउँभरिका सर्वसाधारणलाई निर्घात कुटपिट परे। ‘कतिको कान नै फुटाइदिएछन्, मैले अलिपछि सुनेँ, ज्यादै दुःख लाग्यो,’ उनले भने। 

‘हामीले सिर्जना गरेका गीतहरु आगामी पुस्ताले पनि सुन्न पाउन् भनेर नै मैले यो तयारी गरेको हुँ, हामीले हाम्रा सन्ततिको सुन्दर भविष्यका लागि नै यो संघर्ष गरेको हौं, आगामी पुस्तालाई मेरो काशेली यही नै हो।’

रामेशको गीति संगालो आउँदै

जीवनभरि जनताका लागि गीत गाए रामेशले। जनतालाई जागरुक गरे। स्वतन्त्रता र मुक्तिका लागि गाइएका गीतको संगालो चाँडै ल्याउने उनले बताएका छन्।

‘११ वटा गीतको संगालो आउँदैछ,’ रामेशले भने, ‘हामीले सिर्जना गरेका गीतहरु आगामी पुस्ताले पनि सुन्न पाउन् भनेर नै मैले यो तयारी गरेको हुँ, हामीले हाम्रा सन्ततिको सुन्दर भविष्यका लागि नै यो संघर्ष गरेको हौं, आगामी पुस्तालाई मेरो काशेली यही नै हो।’ कुराकानीको बिट मार्दै गर्दा रामेशले अझै पनि जनताको हीतमा सशक्त रुपमा लागिरहने उद्घोष पनि गरे।

व्यस्त रह्यो आजीवन, हात रह्यो खाली।
छैन कतै बास बस्ने प्रकृतिको डाली। 
नेपालको टाकुरामा घाम उदाएन।
अझै हाम्रो पर्वतमा भाले कराएन।

रोक्ने को हो दूरदर्शी विचारका धारा।
को हो नयाँ नेपालको बोक्ने अभिभारा।

को हो नयाँ नेपालको बोक्ने अभिभारा।

जनकवि गोकुल जोशी/स्वरः रामेश


 

More form the Internet

loading...