Suvadin, Home

नेपथ्यसँग एकै थलोमा रमाए हङकङका फरक पुस्ता

आफैंमा अत्याधुनिक युन लुंग थिएटरले उपलब्ध गराउने प्रकाश र आवाजको सुविधासमेत अरु बेला नेपालबाट आउने प्रस्तोताहरूले पूर्णरुपमा प्रयोग गर्न नसकिरहेको बेला ‘नेपथ्य कन्सर्ट’का दिन भने हलको सुविधाले समेत नपुगेर बाहिरबाट ठूल्ठूला ट्रकमा लाइट र साउन्ड सिस्टम ल्याएको देखेरै आफू चकित परेको समेत शेरबहादुरले बताए।
हङकङमा प्रस्तुति दिँदै गायक अमृत गुरूङ। तस्बिर : नेपथ्य।

हङकङ, चैत १ - फरक पुस्ताका बीच बेग्लाबेग्लै समझदारीले दुरी बढाउँदै लगेको यहाँस्थित नेपाली समाजमा ‘नेपथ्य’ले फेरि आफूलाई सेतूका रुपमा प्रस्तुत गरेको छ।

यहाँका पुराना पुस्ता नेपालबाट आउने मनोरञ्जनात्मक कार्यक्रममा रमाउँछन्। यतै हुर्केका नयाँ पुस्ता चाहिँ नेपालबाहेकका स्वादमा आफूलाई ढाल्दै लगिरहेका छन्। यस्तो बेला आइतबार यहाँस्थित युन लुंग थिएटरमा दुवैथरि सुरुदेखि अन्तिमसम्मै रमाएका देखिन्थे।

कार्यक्रमको सुरुवात ‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन’ बाट भएको थियो। झन्डै साढे चार दसकअघि यो गीत तयार पारेका विक्रम गुरुङले नेपाली संगीतलाई कुनै समय महत्वपूर्ण योगदान दिएका थिए। अरुण थापाका प्रारम्भिक लोकप्रिय गीतहरुका यी संगीतकार झन्डै तीन दसकदेखि हङकङमा शिक्षण पेशा अंगाल्दै आएका छन्।

कुनै जमानामा त्रिविवि कीर्तिपुरको विद्यार्थी रहँदा कोठामा सँगै बस्ने साथी सरुभक्त (हाल संगीत नाट्य एकेडेमीका कुलपति)ले लेखेका लाइनलाई संगीतबद्ध पारेका उनै विक्रम गुरुङको निम्ति आइतबारको ‘नेपथ्य हङकङ साँझ’ नोस्ताल्जिक बन्न पुग्यो।

‘युवा अवस्थामा तयार पारेको यो गीत भर्खरै पहिलोपटक सुन्दैछु,’ मञ्चबाट झन्डै सय मिटर परको अँध्यारो लहरमा सेतै फुलेका गुरुङ भनिरहेका थिए, ‘नेपथ्यले आफ्नै शैलीमा प्रस्तुत गरे पनि मेरो उतिबेलाको मुड यसमा अटाएको पाएँ।’

संगीतमा एउटै ‘थिम’लाई पनि फरक–फरक प्रस्तुतिले सजाउने गरेको बताउने गुरुङले गीत सुनेर आफू सन्तुष्ट बनेको सुनाए। एउटा उराठलाग्दो दिनमा कीर्तिपुरमा जन्मेको यो गीतले यति लामो समयपछि फेरि आफूलाई कर्मथलो हङकङमै बसेर पनि त्यही क्षणमा पुर्याएको उनले बताए।

‘आज होलीको दिन म तपाईंहरूसँग रङ खेल्नको निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भरिएका दर्शकहरूसँग संवाद गरे, ‘शब्द र संगीतको यो रङमा उता नेपालको माया भरिएको छ।’

यहाँस्थित तमु ट्हो ह्युलले आयोजना गरेको ‘आठौं रोदी साँझ’को यो प्रस्तुतिमा नेपथ्यका नयाँ पुराना गीतहरूको मिश्रण थियो।

‘हङकङमा हामीले हेर्ने कार्यक्रम र हाम्रा छोराछोरीले हेर्ने कार्यक्रम एकदमै फरक छ,’ अढाइ दसकदेखि यतै बस्दै आएका यातायात व्यवसायी शेरबहादुर पुनः भनिरहेका थिए, ‘तर, नेपथ्यको कार्यक्रम हेर्ने बेलामा भने बुढापाकादेखि यतै हुर्केका केटाकेटीको उत्तिकै भीड देख्दा रमाइलो लाग्यो।’

शेरबहादुरका अनुसार घरमा समेत बाबुआमा र आफन्त आएको बेलाबाहेक आपसमा जहिल्यै चिनियाँ भाषा नै बोल्ने उनका छोराछोरी रआफूहरूले हेर्ने टेलिभिजन नै बेग्लाबेग्लै छ। बुढापाकाले नेपालबाट आउने टिभी शो र सिनेमा हेर्छन् भने छोराछोरीहरू अन्यत्र मुलुकका कार्यक्रम।

‘यस्तो अवस्थामा उनीहरूलाई नेपालसँग कसरी जोड्ने भनेर मुस्किल परिरहेको बेलामा नेपथ्यको प्रस्तुतिले सजिलो पारिदिएको छ,’ उनले थपे।

आफैंमा अत्याधुनिक युन लुंग थिएटरले उपलब्ध गराउने प्रकाश र आवाजको सुविधासमेत अरु बेला नेपालबाट आउने प्रस्तोताहरूले पूर्णरुपमा प्रयोग गर्न नसकिरहेको बेला ‘नेपथ्य कन्सर्ट’का दिन भने हलको सुविधाले समेत नपुगेर बाहिरबाट ठूल्ठूला ट्रकमा लाइट र साउन्ड सिस्टम ल्याएको देखेरै आफू चकित परेको समेत शेरबहादुरले बताए।

हङकङमै जन्मेकी र हाल बेलायतमा बसाइँ सरेकी स्वेच्छा बस्नेत रङ रुप, चाल ढाल कतैबाट पनि नेपाली देखिएकी थिइनन्।

‘छुट्टीमा यता आएको बेला काकाले नेपथ्यको शो छ भनेपछि हेर्न आएकी हुँ,’ आफूजस्तै किशोरीहरूको हुलबाट बोल्दै बेलायतको अक्सब्रिज कलेजमा ‘ट्राभल एण्ड टुरिज्म’ तेस्रो वर्ष पढ्दै गरेकी उनले भनिन्, ‘प्रायः अंग्रेजी र कोरियन ब्याण्डको शो हेर्ने गरेकोमा नेपथ्यको नाम पहिलेदेखि सुन्दै आएकोले कस्तो रहेछ भनेर हेर्न आएकी हुँ।’

बेलायतमै पनि नेपथ्यको कार्यक्रम हुँदा हेर्न नपाएको धोको छुट्टीमा आएको बेला यहाँ पुरा भएको र आफूलाई असाध्यै रमाइलो लागेकोउनले प्रतिक्रिया दिइन्। दुई घन्टासम्म चलेको कार्यक्रममा नेपथ्यले अत्यधिक मात्रामा नयाँ सिर्जना गरिएका गीतहरू सुनाएको थियो। त्यसैलाई निरन्तरता दिँदै कार्यक्रमको अन्त्य पनि मुलुकलाई जोड्ने सन्देश बोकेको ‘तिमी पनि नेपाली–म पनि नेपाली–हामी नेपाली’ बाट गरिएको थियो।

कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। नेपथ्यको आगामी प्रस्तुति अब उसकै गृहनगर पोखरामा चैत २६ गते हुनेछ।


 

More form the Internet

loading...