Suvadin, Home

Cover Image

नेपथ्यको गृहमैदानमा खुसीको आँशु

कार्यक्रममा एकसमय दर्शकहरूले एकोहोरो ‘अमृत’, ‘अमृत’ भनेर नाराबाजी गर्दा नेपथ्यका मुख्य गायक एवम् अगुवा अमृत गुरुङको आँखा रसाएको देखिन्थ्यो। उनले वाल्यकालका घटना सम्झँदै त्यसै चौरमा खेलेका क्षण र उतिबेलाको पोखरेली ‘किस्सा’हरू सुनाएका थिए।
नेपथ्यको पोखरामा सम्पन्न सांगीतिक कन्सर्टमा गायक अमृत गुरूङ।

पोखरा, चैत २७- अमृत गुरुङले ‘ए साइँला’ र ‘ए साइँली’ भनेर भाका हाल्नेवित्तिकै जताततै तन्नेरीहरू उफ्रिन थालिसकेका थिए। यो भाकालगत्तै गाउन लागेको गीत सधैजस्तै ‘चरि मर्यो शिशैको गोलीले’ हो भन्नेमा पोखरेली युवाहरू ढुक्क थिए।

तर, शनिबार बेलुकी यहाँस्थित रंगशालामा कुरा बेग्लै भइदियो। लगातार दुई घन्टासम्मको प्रस्तुतिमा त्यो गीत गाइएन। भाका सुन्नेवित्तिकै नाच्नका निम्ति खुट्टा उचालेका तन्नेरीहरू आश्चर्यमा परे।

तर, यसरी भाकाले झुक्किएका भए पनि जुन गीत सुनाइयो त्यसले पोखरेलीहरूको स्थानीयता अझ भक्कानिएर आयो–

‘मर्दी खोला घुम्दै आएँ है

साइँलीमाइली मेलैमा’  

प्रायः नेपथ्यको कन्सर्टमा नसुनिने यो दुई दसक पुरानो गीत पोखराको प्रस्ततिलाई बेजोड बनाउनै साँचेर राखेको साबित भइदियो।

एक हुल युवतीहरूको साथमा छमछमी नाचिरहेका थिए बाँझपाटनका राजकुमार गुरुङ र उनका सोल्टी सन्तु गुरुङ।
लगत्तैको गीतमा भने सन्तुले आफूलाई थाम्न सकेनन्। किनभने उताबाट बज्न थालेको अर्को गीत पोखरेलीहरूलाई अझ उफार्ने थियो, ‘जोमसोमे बजारमा, ए हजुर... घर हाम्रो पोखरा...।’

सुन्नुमात्र बाँके थियो सन्तुले नाच्दै गरेका राजकुमारलाई अलिक वर ताने, ‘ए सोल्टी, अलिक काँध देऊ त। चढ्नु पर्यो।’

प्लस टुका विद्यार्थी राजकुमारले सहर्ष काँध दिए, जसमा सन्तु बुरुक्क उफ्रेर चढे। गीतको अवधिभरि काँधमा बोक्ने राजकुमार र बोकिने सन्तुको सोल्टी जोडीले उनीहरुसँगै आएका युवतीहरूलाई पनि उत्तिकै रोमाञ्चक बनाएको थियो।

‘लास्ट मजा आयो,’ काँधबाट ओर्लंदै गर्दा भनिरहेका थिए, ‘नेपथ्य भनेको त हाम्रो पोखराको गौरव पो हो।’

झन्डै चार वर्षको अन्तरालपछि आफ्नो गृह मैदानलाई फेरि तताउन आइपुगेको नेपथ्यले सुरुवातै पोखरेली अग्रज सरुभक्तले लेखेको र विक्रम गुरुङले संगीत भरेको आफ्नो ताजा रेकर्ड ‘कुरुप अनुहार हो, यहाँ कुनै साथी छैन’बाट गरेको थियो।

केही दिनसम्म लगातार असिना र झरि व्यहोरेको नेपालकै सर्वाधिक वर्षा हुने सहरले शनिबार मात्र टलक्क घाम देखेको थियो । यो वर्षको गर्मी अनुभूति सुरू गरेकै बेलुकी नेपथ्यको दोस्रो गीतमा चाहिँ रंगशालामा कृत्रिम हिउँको वर्षा गराइएको थियो। किनभने दोस्रो गीत थियो ‘भेडाको ऊनजस्तो’। कन्सर्टभरि स्थानीयमा हर्ष र उत्साह उर्लिएको देखिन्थ्यो। बल्लतल्ल पाइएको सफा आकाशमा झन्डै पूर्ण आकारको जुन उक्लँदै थियो। तल भने चौरमा हजारौंको संख्यामा अनेकथरि दर्शकको भीड देखिन्थ्यो।

त्यसैमध्येका एक जनाले आफ्नो आकारभन्दा पनि धेरै ठूलो राष्ट्रिय झन्डा लगातार फहराउँदै नाचिरहेका थिए। उनी पोखराको १३ नम्वर वडाका दीपक परियार रहेछन्।

‘यस्तो झन्डा बोकेर नाच्न पनि नेपथ्यकै कन्सर्ट पर्खिनुपर्छ,’ होटल व्यावसायी दीपक मुसुक्क हाँसेर अथ्र्याइरहेका थिए, ‘लोकगीत र राष्ट्रिय झण्डाको कुरा मिल्छ नि!’

कार्यक्रममा एकसमय दर्शकहरूले एकोहोरो ‘अमृत’, ‘अमृत’ भनेर नाराबाजी गर्दा नेपथ्यका मुख्य गायक एवम् अगुवा अमृत गुरुङको आँखा रसाएको देखिन्थ्यो। उनले वाल्यकालका घटना सम्झँदै त्यसै चौरमा खेलेका क्षण र उतिबेलाको पोखरेली ‘किस्सा’हरू सुनाएका थिए।

‘जन्मदिने ठाउँ र आमालाई माया गर्न कहिल्यै नछुटाउनु’ भन्दैगर्दा उनले ‘आमा हुन साह्रै असजिलो छ’ र ‘आमाको कोखमा बासमात्रै लिएँ नि, कुन देशको मरन हौं हाजुर’जस्ता गीतहरू पनि सुनाएका थिए।

यो वर्षभरि नै नेपथ्यको रजत वर्ष उत्सव घोषणा गरिसकेपछि ब्याण्डले पहिलो कन्सर्ट उसको थलो पोखरामै गरेको थियो। त्यसैले, २७ वर्ष पहिले तयार पारिएको अनि ब्याण्डकै पहिलो रेकर्ड भएको गीत ‘आँगनैभरि हिउँ नै झरे’ सुनाउने बेलामा नेपथ्यको पहिलो टोलीका सदस्यहरुको विभिन्न गतिविधि झल्काउने तस्बिरहरू पृष्ठभागमा देखाइएको थियो।

‘हामी खेलेर हुर्केको यो ठाउँलाई पहिलेजस्तै सुन्दर राखिदिनुस् है,’ स्थानीय निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा उनले हात जोडेरै राजनीतिक चाँसो पनि व्यक्त गरे, ‘कुन दलको मानिस भनेर होइन, पोखरालाई माया गर्ने असल मानिसलाई छानेर जिताइदिनुस्।’

दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरूको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन। नेपथ्यलाई सहयोग गर्दैआएका पोखरेली श्रष्टाहरूको सम्झना गर्ने क्रममा अमृतले संगीतकार सुक गुरुङको स्वास्थ्यलाभ कामनासमेत गरेका थिए।

उल्लेख्य संख्यामा विदेशी पर्यटकहरुसमेत भरिएको मैदानको तापक्रम सँधैंजस्तै पछिल्लो समय उच्च भएको थियो। त्यसैक्षण रविन्द्र मिश्रको ‘तिमी पनि नेपाली, म पनि नेपाली’ गीत सुनाएर कार्यक्रमको अन्त्य गरिएको थियो।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

‘फेरि उठ्नेछ नेपाल’ शीर्षकमा आयोजित यस कन्सर्टबाट भएको आर्थिक लाभको रकम कास्कीकै ल्वाङघलेलस्थित गौरीशंकर मणिलाल मावि र बाँसखर्क सल्यानस्थित भूमेश्वर प्राविलाई प्रदान गरिने भएको छ।

 


 

More form the Internet

loading...