Suvadin, Home

Cover Image

१०१ वर्षमा राष्ट्रकवि, ‘एक सय एक’ माधव घिमिरे

काठमाडौं । बोलीचालीको भाषामा उत्कृष्टताको चर्चा गर्दा हामी ‘एक सय एक’ भन्ने गर्छौं । र, उत्कृष्टताको त्यही चुलीमा पुगेका छन्, राष्ट्रकवि माधव घिमिरे । जो लेखनले मात्रै एक सय एक नभएर उमेरले पनि मङ्गलबार एक सय एकमा पुगेका हुन् । एउटा सामान्य मानिसको कल्पनाभन्दा परको विषय हो शतायु नाघ्नु । कसैले त्यो सोच्दैन पनि । जति बाँचिन्छ, त्यो उमेरमा हजारौंले सम्झना गरेर बाँच्ने वातावरण पैदा होस् भन्ने तिनको चाहना हुन्छ ।

यहाँ गर्वको विषय के छ भने, घिमिरेले मुलुकलाई काव्य–साहित्यका माध्यमबाट दिएको योगदान अतुलनीय छ । उनका काव्य एक सय एक मानिन्छ । तिनै विराट प्रतिमा शतायु नाघ्दै एक सय एक वर्षमा प्रवेश गरेका छन् । हरेक दृष्टिकोणबाट कविवर घिमिरे एक सय एकको कोटीमा पुगेका छन् ।

१९७६ साल, असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेले नेपाली साहित्यमा दिएको योगदानले उनलाई एक सय एकमात्रै नभएर हजारौं वर्ष जीवित तुल्याएको छ । उनले बर्साएको काव्यधाराले सबैलाई निथ्रुक्क भिजाएको छ । चाहे ती साहित्यिक मन हुन् वा नहून् । 

कविवर घिमिरेको बाल्यकाल मातृवात्सल्यबाट विमुख रह्यो । आफ्नी आमाको ममता उनले बाल्यकालमा पाउन सकेनन् । सायद त्यसैले होला, उनी सानै उमेरदेखि भावुक प्रवृत्तिका भए । त्यसमाथि लमजुङ जस्तो प्रकृतिको सुन्दर काखमा उनको बाल्यकाल बित्यो । फलतः उनले त्यो सुन्दरता र मनका अनेक भावनालाई काव्यका रुपमा बगाउँदै लगे ।

जसरी सगरमाथाको हिउँ पग्लेर कञ्चन पानी विशाल नदीहरूमा बग्दै गएर सर्वत्र सिञ्चित गर्दै जान्छ, त्यसैगरी घिमिरेका काव्यधाराले नेपाली मनलाई सिञ्चित तुल्याएको छ । आज पनि घिमिरेका अथाह श्लोकहरूले मनलाई शीतल बनाउँछ । जुन काव्य सर्वकालिक छन्, सर्वप्रिय छन् । 

प्रारम्भमा घरमै सुशिक्षित हुँदै गएका घिमिरेले संस्कृतको पढाइ स्थानीय संस्कृत विद्यालयबाट सुरु गरे । त्यसपछि उनी काठमाडौं भित्रिँदै संस्कृत भाषाको अध्ययनलाई निरन्तरता दिए । तत्कालीन समयमा उनको पठनपाठन रानीपोखरीको संस्कृत पाठशालामा भएको थियो ।

पहाडबाट राजधानी भित्रिएका घिमिरे पढ्नैका लागि बनारस पुगे । त्यो बेलामा बनारस शैक्षिक केन्द्र थियो । शिक्षादीक्षाका लागि उत्कृष्ट गन्तव्य थियो बनारस । भारतीय सांस्कृतिक सहर बनारस धेरैको प्रिय पनि थियो । तत्कालीन परिवेशमा एउटा भनाइ नै थियो, ‘विद्यार्थी पढ्नलाई बनारस जान्थे भने बुढापाका शिवस्थल पुग्थे मर्नलाई ।’ यही सांस्कृतिक नगरी बनारसमा घिमिरेले संस्कृतको थप  पढाइ सिध्याए । 

कलिलो उमेरदेखि नै काव्य रचनामा लिप्त रहँदै आएका घिमिरेको प्रथम कविता उनी १४ वर्षको हुँदा पत्रिकामा प्रकाशित भएको थियो । गोरखापत्रमा उनको ‘ज्ञानपुष्प’ शीर्षकको रचना प्रकाशित भएको थियो । उनी अहिले पनि काव्यलेखनमा व्यस्त छन् ।  घिमिरेका कविताले नेपाली लोकजीवन बोल्छ, प्रकृति बोल्छ ।  उनको कुनै पनि कविता पढ्दा त्यस्तो बोध गर्न सक्छ एउटा पाठकले । मानिसको जीवनसँग गाँसिएका दुःख–सुखलगायतका विषय उनको कवितामा प्रस्तुत हुन्छ । 

घिमिरेको कविताको सुन्दर चित्रण गर्छन्,, साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा । उनका अनुसार घिमिरेका कविता चिटिक्क मिलाइएका इँटाका पर्खाल हुन् । त्यति सुन्दर, त्यति चित्ताकर्षक । उनको कविताको सुन्दरताको बयान नगर्ने मानिस कमै होलान् ।  घिमिरेका कवितामा नरम्ने र त्यसको रसपान नगर्ने नेपाली भाषी कमै होलान् । जहाँजहाँ नेपाली भाषी छन्, त्यहाँत्यहाँ घिमिरेका कविता छन् । र, उनको कवितासँगै देश छ । देशको माटो छ । नेपाली जीवन छ, प्रकृति छ । 

बनारसबाट शास्त्रीको पढाइ सिध्याएर आएपछि उनी केही समय गाउँकै विद्यालयमा पढाउन थाले । त्यसपछि मात्रै उनी तत्कालीन रोयल नेपाल एकेडेमी प्रवेश गरेका हुन् । उनी त्यहाँ पदासिन रहँदा उनले गरेको काव्य विकास र लोकगीत अनुसन्धानको चर्चा आज पनि हुने गर्छ । 

घिमिरेको काव्यकर्मबाट एउटा सामान्य सर्जकले सिक्नुपर्ने कुरा अथाह छन् । तिनका विषयमा उल्लेख गरेरै सकिन्न । तर उनको एउटा बानी चोर्दा, कसैलाई पनि घाटा हुँदैन ।


 

More form the Internet

loading...