Suvadin, Home

नेपाली चलचित्रलाई बेवास्ता गरेको र भारतीयलाई ४४ करोड दिन लागेको भन्दै विरोध

काठमाडौं । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको २० औं संस्करण नेपालमा गर्ने सरकारको निर्णयको आलोचना शुरु भएको छ । नेपाली चलचित्र उद्योगलाई बेवास्ता गर्ने सरकार विदेशी अवार्ड गर्न साढे ४४ करोड रुपैयाँ खर्चिन तयार भएको भन्दै सरकारको आलोचना शुरु भएको हो । राजनीतिक दलका नेता, कलाकारलगायतले यसको विरोध गरेका छन् ।

नेकपाका नेता भिम रावलले सरकारले आइफा अवार्डका लागि सहयोग दिन लागेको देखेर आश्चर्य लागेको बताएका छन् । उनले यस्ता काम कसको उक्साहट र स्वार्थमा गर्न लागेको भन्दै जवाफ माग गरेका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र उद्योगमा सरकारले लगानी नगरिरहेकाबेला यति ठूलो रकम विदेशी अवार्डका लागि खर्च गरिनु गलत भएको बताए । 

सरकारले सुरक्षा र आवासको प्रबन्ध गर्न सक्ने तर अवार्ड सञ्चालनका लागि रकम दिनु अनुचित भएको उनको तर्क छ । “नेपालमा विदेशी अवार्ड हुनु नराम्रो होइन । तर, पैसा दिनु चाहिँ गलत हो । पर्यटन प्रवर्द्धन कै लागि हो भने यो निर्णय गलत हो । पर्यटन प्रवर्द्धन गर्ने तरिका धेरै छन्,” उनले भने, “साढे ४४ करोडको २५ प्रतिशत रकम मात्रैले पनि विश्वका उत्कृष्ठ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।” आइफाअवार्ड विसुद्ध कमर्सिल अवार्ड भएको सरकारले बुझ्नु पर्ने उनी बताउँछन् । 

चलचित्र विकास वोर्डका पूर्वसदस्य केपी पाठक सरकारको उक्त निर्णयको आलोचना गर्र्दै विदेशी अवार्डमा मोटो रकम खर्चिनुभन्दा विदेशी भाषाका चलचित्र छायांकनमा सुविधा दिनु उपयुक्त हुने बताउँछन् । 

“एक अर्ब खर्चेर काठमाडौंमा एउटा देशको कलाकार ल्याएर अवार्ड कार्यक्रम गर्नुभन्दा निश्चित सर्तसहित चीन, भारतलगायत देशबाट बिग ब्यानरको चलचित्र छायांकनका लागि अनुदानसहित आमन्त्रण गर्दा निकै कम खर्चमा निकै बढी नेपालको पर्यटन प्रवर्द्धन हुन्थ्यो कि ?,” पाठक आफ्नो फेसबुक पेजमा लेख्छन् ।

कलाकार तथा निर्माता निर्मल शर्मा करोडौं खर्चिएर आइफाअवार्ड गर्ने सरकारको निर्णयले आफूलाई अचम्भित भएको बताउँछन् । प्राथमिकतामा पर्नुपर्ने काम अरु भए पनि सरकार आफ्नो पैसा खर्चिएर विदेशीको अवार्ड गर्न लाग्नु आश्चर्य भएको उनको भनाइ छ ।

सरकारले नेपाली चलचित्रको बृत्तिविकासका लागि खासै चासो नदिएको आरोप लागिरहेका बेला भएको पछिल्लो निर्णयको कलाकारहरुले नै विरोध गरेका छन् । दोलखामा फिल्म सिटी तत्काल बनाउन तदारुकता नदेखाउने सरकार अर्काको अवार्ड सञ्चालनका लागि करोडौं खर्चिनु गलत भएको उनीहरुको धारणा छ । 

चलचित्र समीक्षा समाज नेपालका अध्यक्ष यज्ञसले स्वदेशी  चलचित्र र मेकरको स्तर उकास्न लगानी नगर्ने सरकारले विदेशी चलचित्रको अवार्डका लागि मोटो रकम खर्चिनु गलत भएको टिप्पणी गरेका छन् । “फिल्मसिटीको बल्छीमात्रै अड्काउने अनि विदेशी फिल्मको इभेन्टलाई झन्डै एक अरब ! गजब !!,” यज्ञस फेसबुकमा प्रश्न गर्दै लेख्छन्, “नेपालमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गरेर धेरै देशको सहभागिता गराउन १ करोड छुट्याउन नसक्ने सरकारले बलिउड अवार्डलाई ४४ करोड नगद दिने रे ! यसले प्रोमोसन हाम्रो हुन्छ कि उनको ?”

विदेशी चलचित्र नेपालमा छायांकन गर्दा काठमाडौंमा गरिने महँगो अवार्डलेभन्दा नेपालको पर्यटन प्रवर्द्धन हुने उनीहरुको तर्क छ । यता सरकारले भने पर्यटन प्रवद्र्धनका लागि नै आइफाअवार्ड गर्न  अनुमति दिने निर्णय गरेको बताएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अगस्ट अन्तिममा काठमाडौंमा अर्वाड गर्न अनुमति दिने निर्णय गरेको थियो ।  


 

More form the Internet

loading...