अामाको सम्झनामा पुष्प खनालकाे भावपूर्ण गीत सार्वजनिक

काठमाडौं, २६ माघ – चर्चित एवम् वरिष्ठ गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ। आफ्नी आमा दमन्ता खनालको सम्झनामा उनले उक्त गीत शुक्रबार सार्वजनिक गरेका हुन्।
उनले भने - 'दिवंगत ममतामयी आमाको पुण्यतिथिमा शब्द रचनाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न गीत सार्वजनिक गरेँ।'
भावुक हुँदै गीतकार खनालले भने - 'ममतामयी आमालाई गुमाउनु पर्दाको क्षणलाई सम्झेर गीत रचना गरेँ, जीवनमा आमाको कति महत्वपूर्ण हुन्छ, यस पीडालाई गीतका शब्दमा उतार्ने प्रयास गरेको छु, अब सबै आमाहरूमा यो समर्पण गर्न चाहन्छु।'
भावुक र मार्मिक गीतमा वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषले सङ्गीत भरेका छन्। र, वरिष्ठ गायक बिन्दु परियारकाे स्वर रहेकाे छ। उनले भने - 'सङ्गीत भर्ने क्रममा मलाई पनि मेरो आमाको निरन्तर सम्झना आइरह्यो, यो पीडालाई सङ्गीतमार्फत उतार्न निकै कठिन भयो, जीवन्त रुपमा गीतका शब्दलाई सङ्गीतमा उतार्ने प्रयास गरेको छु।'
गायक परियारले भनिन् - 'आमाको वात्सल्यता प्राप्त भइराखेको छ। तर, आमा नहुँदा पीडा कस्तो हुन्छ भनेर स्वर दिँदा यसले मन र मुटु दुवैलाई चसक्क छोयो।'
दुई दशकदेखि गीत–सङ्गीत, कविता, कथामार्फत साहित्य सिर्जनामा लागेकी गीतकार खनालका दुईवटा एल्बम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल) मार्फत दर्जनभन्दा बढी गीत बजारमा आएका छन्। त्यस्तै उनले गीत तथा कविताको सङ्ग्रहित पुस्तक ‘पोखिएँ यसरी’ पनि सार्वजनिक गरेका छन्।
पछिल्लो पुस्ताका चर्चित गायिका अञ्जु पन्तको स्वर र सङ्गीतकार गोविन्दमधुर आचार्यले भरेका उनको चर्चित गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ बोलको गीतले गत महिनामा पिआरविटीमार्फत सर्वाधिक रोयल्टी प्राप्त गर्न सफल भएको थियो।