Suvadin, Home

‘भिलेन’ पुस्करको रियल लाइफ यस्तो छ

बाक्लो दाह्रीजुँगा, घुम्रेको कपाल अनि ज्याङ्गो शरिर  हेर्दै डर  लाग्दो अनुहार। पर्दाका लागि फिट। ती हुन्  चर्चित खलनायक हुन्, पुष्कर भट्ट। उनको नामै काफी छ दर्शकलाई चिनाउन। नेपाली मात्र होइन्, भारतीय चलचित्रमा समेत अभिनय गरेका छन्, भट्टले।
नेपाली चलचित्रका खलनायक पुस्कर भट्ट।

काठमाडाैं, जेठ १४– बाक्लो दाह्रीजुँगा, घुम्रेको कपाल अनि ज्याङ्गो शरिर  हेर्दै डर  लाग्दो अनुहार। पर्दाका लागि फिट।

ती हुन्  चर्चित खलनायक हुन्, पुष्कर भट्ट। उनको नामै काफी छ दर्शकलाई चिनाउन। नेपाली मात्र होइन्, भारतीय चलचित्रमा समेत अभिनय गरेका छन्, भट्टले।

२०३० मा कञ्चनपुरस्थित दैजीमा जन्मिएका खलनायक भट्टले होटल व्यवसायबाट व्यवसायिक जीवनको यात्रा सुरु गरेका थिए। सानैदेखि कलाकार बन्ने चाहाना उनको मनमा थियो। सानैदेखि विद्यालयमा भएका सांस्कृतिक कार्यक्रम नछुटाउने खलनायक भट्ट त्यतिबेला नै अभिनयमा अब्बल मानिन्थे । एक्टिङ गर्नमा जहिले पनि प्रथम हुन्थे। घरमा फिल्म हर्दा पनि उनलाई कलाकार बन्नुपर्छ भन्ने लाग्थ्यो । एक पटक कलाकार बन्न भट्ट घरबाट भागेर बलिउडको राजधानी मुम्बई पुगेका थिए। 

तर, उनले मुम्बई पुग्दाको क्षण हामीलाई बताए। ‘घरबाट भागेर मुम्बई पुग्दा थाहा भयो कलाकार बन्न कति गाह्रो छ भनेर। त्यति बेला पर्दामा हिरो नाच्दा घरबाट भागेर गइयो। सानो परिवारका लागि यो क्षेत्र रहेनछ भन्ने थाहा पाए,’ उनले सुनाए।

कलाकार बन्ने धाउन्नमा घरबाट मुम्बई पुगेका भट्टले करिब ८ वर्ष होटल कामदार भएर काम गरे।  उनले सन् १९८९ देखि १९९५ सम्म मुम्बईमा काम गरे । त्यसपछि ३ वर्ष उनले खाडी मुलुक साउदी अरबमा पनि होटल कामदारका रुपमा काम गरे। उनी भारतबाटै थप आम्दानी गर्न होटल कामदारका रुपमा साउदी गएका थिए। त्यति बेला नेपालमा सुदूरपश्चिमका चर्चित कलाकार थिए, नायक विराज भट्ट। 

३ वर्षपछि साउदीबाट नेपाल फर्केपछि भट्टको भेट नेपाली चलचित्र जगतका सुपरस्टार नायक विराज भट्टसँग भयो। गाउँले नाताले विराज पुष्करका दाजु पर्छन्। सानैदेखि कलाकार बन्ने चाहाना बोकेका पुष्करको भेट दाजु विराजसँग भएपछि उनको कलाकार बन्ने सपना साकार भएको थियो । ‘विराज दाईले मलाई पहिलो भेटमै त कलाकार बन्छस् ? भनेर सोध्नुभयो। त्यसपछि दाईले तेरो आर्टिस्ट लुक छ, मेहेनत गरेर कलाकार बनिस भने साउदीको तलब यही पाउछस् भन्नुभयो,’ उनले सुनाए ।  

पुष्करले नायक विराजको प्रस्तावलाई स्वीकार गरे। पुष्करले चलचित्र खेल्ने भएपछि विराजले निर्देशक निर्मातासँग सम्झौता गरेर भेट गराए। त्यसपछि नायक विराजकै चलचित्र ‘अग्निज्वाला’बाट खलनायक पुष्करले नेपाली रजतपटतमा पाइला टेकेका थिए।  
खलनायक पुष्कर भन्छन्–‘अहिले म जहाँ छु, जुन स्थानमा छु, यो सबै विराज दाईकै प्रेरणा हो। उहाँ नै मेरो गुरु हो, उहाँ नै मेरो स्कुल हो।’ 

विराजले घरमा बोलाएर पुष्करलाई एक्टिङ सिकाउथे। ‘विराज दाइकै घरमा एक वर्ष बसेर एक्टिङ सिके, जसका कारण मैले आज यो ठाउँ पाएको छु।’

विराजबाट एक्टिङ सिकेपछि २०५८ सालमा साउदीबाट नेपाल फर्किएका पुष्करले औपचारिक रुपमा विराजको चलचित्र ‘अग्नि ज्वाला’बाट २०६१ सालमा सहखलनायकको भूमिकामा रजतपटत यात्राको सुरुवात गरेका थिए । अग्नि ज्वालाबाट सुरु भएको चलचित्र यात्रामा उनले नयाँ नेपाल, वाटुली, गंगाजल, आफ्नो मान्छे आफ्नै हुन्छ, कहाँ छौ कहाँ, जलजला, शान, विरासत, म विर्सु कसरी, हिम्मतवाली लगायतका ८० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।जसमा १२ वटा भोजपुरी छन्। 

चलचित्र ‘अग्नि ज्वाला’ मा पुष्करको अभिनयलाई दर्शकले मन पराएपछि निर्देशक दयाराम दाहालले अर्काे चलचित्रमा पनि मौका दिएको स्मरण गर्दै पुस्कर भने, ‘विराज दाईसँग फिल्म सुटिङ हेर्न गएको थिए। निर्देशक दयाराम दाहालले एउटा डाइलग बोल्न सक्छौं ? भनेर सोध्नुभयो। मेरो पनि चाहाना भएकाले हुन्छ भने। त्यती बेला अहिलेको जस्तो डिजिटल सिस्टम थिएन्। एनलक (रिल) सिस्टमबाट खर्चिलो सुटिङ हुन्थ्यो। निर्देशकले राम्रो प्रयास गर्नु एनलक धेरै नबिगार्नु भनेका थिए। विराज दाईसँगै भएकाले एक्टिङ गर्ने हिम्मत जुट्यो। एक्टिङ गरे। एक सटमै राम्रो भयो।’

चलचित्र सुटिङका क्रममा नेपालका सबै ठाउँमा पुगिसकेका पुष्कर भन्छन्–‘सुटिङका लागि पोखरा चितवन राम्रो सुन्दर ठाउँ भएपनि सुदूरपश्चिम स्वर्ग हो। 

पुष्करले चलचित्र ‘बे्रक फेल’ लाई आफ्नै जोखिममा सुदूरपश्चिममा सुटिङ गराएका थिए। 

पछिल्लो समयमा सुदूरपश्चिममा चलचित्र भीमदत्त, हिम्मतवाली, विरासत, दुलही रानी, देवदेवकी, विनाशक, दानव, अन्नदाता लगायतका चलचित्रको छायांकन भएको छ।  

पहिले चलचित्रमा सहायक भिलेनको भूमिका निभाउदै आएका पुष्कर वर्षमा १० देखि १२ चलचित्रमा अभिनय गर्थे।। तर अहिले २ वर्षयता मुख्य भिलेनको भूमिकामा देखिदै आएकाले वर्षमा ५÷६ वटा फिल्म खेल्दै आएको बताए। पुष्करलाई एक्सन फिल्ममा अभिनय गर्न मन पर्छ। उनी भन्छन् ‘म क्वान्टीटी भन्दा पनि क्वालिटी बढी हेर्छु ।’ 

उनले एकपटक दुर्घटनामा परेको कथा समेत सुनाए। चलचित्र प्रहारमा राजेश हमालको छर्राबाट पुष्कर घाइते भएका थिए। त्यस्तै, चलचित्र ‘कहाँ छौं कहाँ’ मा पनि बारुद पड्किएर घाइते भएको उनले सुनाए।  

कलिउड भनेर चिनिदै आएको नेपाली चलचित्र उद्योग क्षेत्रमा प्रख्यात पुष्कर भट्ट ज्यानले भ्याएसम्म चलचित्रका पर्दाहरुमा दर्शकहरुलाई मनोरञ्जन दिलाउने काममा लाग्ने बताउछन्।

हाल उनी क्यानडामा रहेका छन्। आफू चाँडै नै स्वदेश फर्कने र  नयाँ भिजनसहितको नेपाली चलचित्रको निर्माणमा लाग्ने पुष्करले बताए। 


 

More form the Internet

loading...