Suvadin, Home

लुट-२ :  औसत चलचित्रभन्दा पृथक रहेन

फिल्मको पुरानै कथावस्तुलाई निरन्तरता, उही पात्र, उस्तै परिवेशले त्यति नयाँपन देखिँदैन। केही भावनात्मक दृश्यले दर्शकको मन पगाल्न प्रयास गरे पनि त्यो पर्याप्त छैन। केही अश्लिल अनि भद्दा लाग्ने शब्दहरू काटिएको त छ तर त्यसले संवादलाई पूर्ण हुन दिँदैन। समग्रमा लुट-२ औसत चलचित्र बनेको छ।
फिल्मकाे एक दृश्य।

काठमाडौं, फागुन १५ - २०६८ सालमा प्रदर्शित लुटको कथावस्तु अझै पनि सबैको मस्तिष्कमा ताजै छ। हाकु कालेले उच्चारण गरेको ‘बल हैन पासा दिमाग लगा दिमाग’ संवाद अझै पनि नेपाली दर्शकहरूले दोहोर्याइरहन्छन्। हाकु काले अर्थात् सौगात मल्ल लगायतका कलाकारको जीवन्त अभिनयले लुटलाई हरेक दृष्टिकोणबाट सफलताको दर्जामा उभ्याइदियो।

लुटले नै हो, निर्देशक निश्चल बस्नेत नेपाली चलचित्रमा सशक्त युवा निर्देशकका रूपमा उभ्याएको। लुटको सफलतापछि त्यसको दोस्रो भाग बनाउनेबारे निश्चलको त्यति रूचि थिएन। किनकि लुटको स्वाद दोस्रो भागमा दिन सकिएला कि नसकिएला भन्ने चिन्ता उनले त्यतिबेलै दर्शाएका थिए। लुट आएको चार वर्षमा दोस्रो भाग बनाउने योजना थिएन। बरू सन् २०१४ मा उनले टलक भर्सेस टुल्के बनाए। फिल्म त्यति चलेन, निश्चलको कामले पनि त्यति चर्चा पाएन।

लुटले निर्माण गरेको सशक्त निर्देशकको छविलाई टलकजंग भर्सेस टुल्केले केही धमिल्याइदिएपछि मात्र निश्चलको मनमा लुटको दोस्रो भाग बनाउनेबारे सोच पलाएको हो। उनको सोही सोचले हाल मूर्तरूप पाइसकेको छ। फिल्म देशभरका सिनेमा घरहरूमा चलिरहेको छ।

शुक्रबारबाट रिलिज भएको लुट–२ ले दर्शकबाट औसत प्रतिक्रिया पाएको छ। फिल्मको कथा पहिलो फिल्म जहाँ छोडिएको थियो त्यहीँबाट सुरू हुन्छ।

लुटमा हाकु काले (सौगात मल्ल), अन्य पात्रहरू नरेश (कर्मा शाक्य), गोपाल (दयाहङ राइ), खत्री (प्रतिकराज न्यौपाने), पाण्डे (सुशीलराज पाण्डे) लगायतका पात्रहरूले बैंक लुट्छन्, तर अन्त्यमा बैंकबाट लुटेको पैसा लिई आफू भाग्छन् भने नरेश, गोपाल, खत्री र पाण्डेलगायत प्रहरीको फन्दामा पर्छन्। जहाँ फिल्म सकिन्छ। दोस्रो भाग आउनुअघि नै दर्शकले फिल्मको कहानी त्यहीँबाट सुरू हुने अनुमान लगाएका थिए। त्यही अनुमानलाई सही साबित गर्दै निर्देशक बस्नेतले लुट–२ लाई त्यहीँबाट सुरू गरेका छन्।

लुट–२ बदलामा केन्द्रित छ। फिल्मको सुरूवातमा भारतले लगाएको नाकाबन्दीले कालोबजारीको मौलाएको पृष्ठभूमि देखाइएको छ। सोही पृष्ठभूमिमा हाकु कालेलाई दर्शक माझ उतारी निर्देशक बस्नेतले ताली तथा सिठी बटुल्छन्। दर्शकहरूको खित्का त त्यतिबेला छुट्छ, जब उनले ‘सिंहलाई आफ्नो एरिया बनाउन त्यहाँ ढुकेर बसिरहनु पर्दैन पासा टिरिक्क मुतिदिए पुग्छ’ डायलग बोल्छन्।

सोही संवाद हाकु कालेले बोल्दै माहोल जमाइसकेपछि अनि मात्र फिल्मको औपचारिक सुरूवात हुन्छ। भूकम्पले कारागार भत्किएको मौका पारी लुटमा पक्राउ गरिएका नरेश, गोपाल, खत्री र पाण्डे जेलबाट भाग्छन्। त्यसपछि हाकु कालेविरूद्ध उनीहरूको पौंठेजौरी र हाकु कालेको ट्रिकको वरिपरि फिल्म घुमेको छ।

औसत कथावस्तु भए पनि फिल्मको निर्देशनलाई अब्बल मानिएको छ। दुई घण्टाको समयमा फिल्मले दर्शकलाई बाँधिरहन भने सक्षम छ। हाकु काले र गोफ्लेलाई बढी प्राथमिकता दिएकाले अन्य पात्र छायामा पारेको अनुभूति हुन्छ। यिनीहरूबीचको ढेट नेपाली शब्द प्रयोग र द्वन्द्वले पनि चलचित्रमा ‘ट्वीस्ट’ थपिदिएको छ।

मसला शैलीमा तयार पारिएको फिल्म सांगीतिक रूपमा अब्बल मानिएको छ। यसअघि नै सार्वजनिक भएको ठमेल बजारमा अलिसा राईले ठुम्का लगाउँदा हलभित्रै दर्शकहरू बुरूक्क–बुरूक्क उफ्रेको देखिन्छ। ठमेल बजारले युट्युबमा एक करोड दर्शकको कीर्तिमान पनि राखिसकेको छ। लुटभन्दा लुट–२ अपेक्षा अनुसार दर्शकको मन जित्न भने चुकेको छ।

फिल्मको पुरानै कथावस्तुलाई निरन्तरता, उही पात्र, उस्तै परिवेशले त्यति नयाँपन देखिँदैन। केही भावनात्मक दृश्यले दर्शकको मन पगाल्न प्रयास गरे पनि त्यो पर्याप्त छैन। केही अश्लिल अनि भद्दा लाग्ने शब्दहरू काटिएको त छ तर त्यसले संवादलाई पूर्ण हुन दिँदैन। समग्रमा लुट–२ औसत चलचित्र बनेको छ।

पुरुषोत्तम प्रधानले छायांकन गरेक उक्त फिल्म सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्। ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनको लगानी छ। 


 

More form the Internet

loading...