Suvadin, Home

Cover Image

उपन्यास ‘समर लभ’माथि फिल्म बन्ने

युवा लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’माथि फिल्म बन्ने भएको छ। ‘नाई नभन्नु ल ३’ निर्देशक मुस्कान ढकालको निर्देशनमा आइतबार फिल्म घोषणा गरिएको हो।
समर लभका कलाकार। तस्बिर : फिल्मी खबर।

काठमाडौं, चैत ७ - युवा लेखक सुविन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’माथि फिल्म बन्ने भएको छ। ‘नाई नभन्नु ल ३’ निर्देशक मुस्कान ढकालको निर्देशनमा आइतबार फिल्म घोषणा गरिएको हो।

राजधानीमा आयोजित एक कार्यक्रममा लेखक भट्टराईले मुस्कान ढकालसहितको टिममाथि विश्वास गर्दै आफ्नो उपन्यास माथी फिल्म बनाउन अधिकार दिएको बताए। फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका छन्।

दुई वर्ष पहिलेदेखि उक्त उपन्यासमाथि फिल्म बन्ने हल्ला थियो। छिट्टै नै फ्लोरमा जाने भनिएको फिल्ममा उपन्यास ‘समर लभ’का मुख्य पात्र अतित र सायाको भूमिका निभाउँदै गरेका दुई लिड कलाकार पनि सार्वजनिक गरिएको छ।

फिल्ममा अतितको भूमिकामा आशिष पिया देखिँदैछन्। केही टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिषको लागि यो फिल्म डेब्यू हुनेछ भने निक्कै खोजीपछि ‘साया’को भूमिका निभाउन लायक पात्र रेवती क्षेत्री ठहरिएकी छिन्।

नेपाली मुलका बुबा आमाकी छोरी रेवती आफू भने भारतीय नागरिक हुन्। २०१६ को मिस एसिया युनिभर्सिटी र मिस इन्टरनेशनल भारतकी विजेता रेवतीले यसअघि नै ‘ग्याङ्ग अफ नर्थवेस्ट’ नामको भारतिय फिल्म गरिसकेकी छिन् भने ‘खातुन’ नामको फिल्म समेत गर्दैछिन्।

नेपाललाई मामाघर सम्झिने रेवतीले ‘समर लभ’ पूर्णत: पढेको र निकै मन परेको भन्दै यसको मुख्य पात्र निभाउन पाएकोमा खुसी व्यक्त गरिन्। यस्तै तर्क अतित बन्दै गरेका आशिषको पनि थियो।

फिल्मको संवाद लेखनमा सुविन र सामिप्यराज तिमिल्सेनाले सहकार्य गरेका छन् भने संगीत पुष्पन प्रधानक रहनेछ। नाइटिंगेल इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी छन् भने लगानीमा भरत शर्मा, सपन सरकार, इन्दु भण्डारी र मनु विकले साझेदारी गरेका छन्।


 

More form the Internet

loading...