Suvadin, Home

'सम फिमेल यती'काे नयाँ संस्करण लिएर अाए कवि युयुत्सु शर्मा!

विम्ब र प्रतीकका माध्यमबाट थोरै शब्दमा अभिव्यक्त उनका कविताको क्लिष्टताले पाठकलाई कविता दोहोर्याएर पढ्न बाध्यता गराउँछ। यसअघि विशेषतः नेपाल र यहाँको हिमाली संस्कृति तथा गोरखा भूकम्प आदिबारे लेखिएका उनका नौ कविता संग्रह र केही अनुवाद प्रकाशन भइसकेका छन्।

काठमाडौं, १५ पुस – कवि तथा अनुवादक युयुत्सु शर्माद्वारा लिखित ‘सम फिमेल यती’ शीर्षक कविता संग्रहको नयाँ संस्करण प्रकाशनमा आएको छ। 

निराला प्रकाशन नयाँ दिल्लीले यसअघि वि.सं. २०५१ मा प्रकाशनमा ल्याएको उक्त सङ्ग्रहमा नेपालको छयालिस सालको आन्दोलन, गोपालप्रसाद रिमाल, प्रजातन्त्र, बुद्ध, शिवरात्रि, तिहार, काठमाडौं, पशुपतिनाथ, स्वयम्भू आदि शीर्षक र विषयवस्तुका २१ कविता छन्।

‘पहाडको अर्थ’ र ‘अग्निउत्सव’ शीर्षकमा विभाजित ती कवितामा व्यक्तिगत र सार्वजनिक विषयबाट मानवीय संघर्ष र मानवीय पीडाबारे अभिव्यक्ति दिइएको छ। 

आफ्ना प्रिय कवि रिमालबारे उनले यसरी भावना व्यक्त गरेका छन्ः

म अभिवादन गर्छु कवि तिमीलाई, 
देशका भकभके राष्ट्रपिताहरुप्रतिको
तिम्रो अनाकर्षणलाई
जसले तिमीलाई भयावह अजिंगरै अजिंगरहरुको
धमिरा लागेको राजधानीका
अन्धा गल्लीहरूमा लँगडो र
पागल अवस्थामा एक्लै छाडे

म तिम्रो पुनर्आगमनलाई सलाम गर्छु–कवि!
इतिहासको दुर्गन्धित रछ्यानबाट उठेर
घोषणा गर्ने तिमीलाई—
एक जुगमा एक दिन एकचोटी आउँछ।

संग्रहले कोही मारिएका, कोही बलात्कृत भएका र मानवअधिकारको घोर उल्लंघन भएको छयालीस सालको आन्दोलन र त्यसपछिको विकृतिलाई फेरि सम्झाउँछ।

विम्ब र प्रतीकका माध्यमबाट थोरै शब्दमा अभिव्यक्त उनका कविताको क्लिष्टताले पाठकलाई कविता दोहोर्याएर पढ्न बाध्यता गराउँछ।

यसअघि विशेषतः नेपाल र यहाँको हिमाली संस्कृति तथा गोरखा भूकम्प आदिबारे लेखिएका उनका नौ कवितासङ्ग्रह र केही अनुवाद प्रकाशन भइसकेका छन्।


 

More form the Internet

loading...