Suvadin, Home

शुभलभ विदेशमा पनि प्रदर्शन हुने

सन्तोषबाबु लोहनी निर्देशित चलचित्र 'शुभलभ' अब विदेशमा पनि प्रदर्शन हुने भएको छ । 

काठमाडौं । सन्तोषबाबु लोहनी निर्देशित चलचित्र 'शुभलभ' अब विदेशमा पनि प्रदर्शन हुने भएको छ । 

गत वर्ष चैत १५ गतेदेखि नेपाली हलमा प्रदर्शन भएको चलचित्र 'शुभलभ' अब युरोपका विभिन्न देशमा प्रदर्शन गरिने भएको हो । निर्देशक लोहनीका अनुसार 'शुभलभ' ‘देश–विदेशमा नेपाली चलचित्र’ नारासहित युरोपका विभिन्‍न स्थानमा प्रदर्शन हुने छ। 

फिल्म युकेका ६, जर्मनी ३, बेल्जियमका तीन, पोर्चुगलका पाँच, नर्वे, फिनल्यान्ड र स्पेनमा डिसेम्बर, जनवरी, फेब्रुअरीमा प्रदर्शन गरिने छ ।

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता धर्मराज सुवेदी हुन् । चलचित्रमा हरिहर अधिकारी र नवनायिका कृस्टिन पौडेलको मुख्य भूमिका छ । उनीहरूले यसै फिल्मबाट डेब्यु गरेका हुन् । 

चलचित्रमा पुराना कलाकार सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे, सूर्या थापालगायत पनि मुख्य भूमिकामै छन् । प्रेम कथामा आधारित चलचित्रमा दर्शकहरू कमेडिबाट पनि भरपुर आनन्द लिन सक्ने छन् । कथा प्रेममा आधारित छ।

लोहनीका अनुसार युरोपमा फिल्म प्रदर्शनका लागि एनआरएनए लगायत थुप्रै संघसंस्था र ति देशस्थित नेपालीहरूले सहयोग गरिरहेका छन् ।

फिल्म नेपालमा सुन्दर पर्यटकीय गन्तव्यमा छायांकन गरिएको छ । बिदेशमा फिल्म प्रदर्शन गर्दा नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने पनि उनको विश्वास छ ।

हिमाल, तातोपानी कुण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, देवघाट, पोखरालगायत देशका विभिन्न मनोरम स्थलमा फिल्म सुटिङ भएकाले यसले पर्यटक तान्‍ने निर्देशक लोहनीको विश्वास छ ।


 

More form the Internet

loading...