Suvadin, Home

रातभर जाग्राम बस्छन् सर्वसाधारण, भागाभाग गरेर ज्यान जाेगाउँछन्

भागाभाग गरेर ज्यान जोगाउछौं,’ भक्तबहादुर भन्छन्,‘घरपिच्छे आगो बालेर रातभर जाग्राम बस्नुको विकल्प छैन।’  हात्तीले कतिबेला कुल्चेर मार्ने हो भन्ने त्रासले रातभर अनिदो बस्नु परेको उनले दुखेसो पोखे ।

राजविराज, जेठ १२ - सप्तरीको रुपनी गाउँपालिका - ६ का भक्तबहादुर तामाङ हिजो–आज राति निदाउने छोडेका छन्। घरबाहिरबाट आउने अनेक थरीका आवाज सुन्नमै उनको रात गुज्रने गरेको छ।

खस्रस्याक-खुस्रुक आवाज आएपछि उनी परिवारका सदस्यलाई सचेत गराउँछन र निदाएका सबैलाई उठाउँछन्। उस्तै परे मध्यराति नै घर छोडेर भाग्नु उनको नियति बनेको छ। 

भक्त मात्रै होइन, सप्तकोशी, कञ्चनरुप, शम्भुनाथ, हनुमाननगर–कंकालिनी, सुरुङ्गा तथा खडक नगरपालिकाका साथै अग्निसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाका दर्जनौं गाउँका बासिन्दाको साझा समस्या हो, यो। 

एकहप्तादेखि जंगली हात्ती गाउँ पसेर उपद्रो मच्चाउन थालेपछि यस क्षेत्रका स्थानीयवासी ढुक्कसँग सुत्न पाएका छैनन्।  जंगली हात्तीको पीडा पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ धेरै र दक्षिणतर्फ केही कम छ। ‘मध्यरातमा एक्कासि हात्तीले घरमा आक्रमण गर्छ।

भागाभाग गरेर ज्यान जोगाउछौं,’ भक्तबहादुर भन्छन्,‘घरपिच्छे आगो बालेर रातभर जाग्राम बस्नुको विकल्प छैन।’  हात्तीले कतिबेला कुल्चेर मार्ने हो भन्ने त्रासले रातभर अनिदो बस्नु परेको उनले दुखेसो पोखे ।

गत सोमबार  सम्साँझै हात्तीले टाउकोमा कुल्चेर कञ्चनरुप नगरपालिका–६, जमुवाका ६५ वर्षीय गोसाई चौधरीको मृत्यु भएपछि स्थानीयवासी अझै त्रसित भएका छन्। खेतमा काम गरेर घर फर्कँदै गरेका चौधरीलाई हात्तीले बाटोमै आक्रमण गर्‍यो । उनले घटनास्थलमै ज्यान गुमाए । 

चैत २० गते हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहका ३५ वर्षीय पवन लौगी हात्ती आक्रमणमा घाइते भए । हात्तीले खेदेपछि रूख चढ्दै गर्दा उनलाई हात्तीले पक्रेर झटारो हानेको थियो। 

कञ्चनरुपमा चौधरीको मृत्यु भएकै दिन सशस्त्र प्रहरी बलको बेसक्याम्मसँगै जोडिएको स्वास्थ्य चौकी सितापुरको भवनमा पनि हात्तीले क्षति पुर्‍याएको स्वाथ्य चौकी प्रमुख हरिनारायण चौधरीले बताए। 

पीडित परिवारले जंगली जनारको नियन्त्रण र सर्वसाधारणको सुरक्षा माग गरिरहेका छन्। सरकारले पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति समेत नदिएको स्थानीयको गुनासो छ।

 


 

More form the Internet

loading...