Suvadin, Home

Cover Image

लिबियामा अपहरित ४ नेपालीको उद्धार गरी स्वदेश फर्काईदै

दूतावास र युनाइटेड नेसनले उनीहरुलाई मंगलबार नै उद्धार गरी सुरक्षित सेल्टरमा ल्याइसकिएको मन्त्रालयले जनाएको छ। विद्रोही समूहले नङसमेत उप्काइदिएको भन्ने खबर पीडित युवाहरुले नै सार्वजनिक गरे पनि उनीहरुलाई विद्रोही समूहले त्यस्तो जटिल यातना नदिएको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। ‘इजिप्टस्थित दूतावास र युएनको सक्रिय पहलमा चारै जनालाई सकुशल उद्धार गरिएको छ, उनीहरुलाई नेपाल फर्काउन पहल गरिँदैछ,’ उनले भने। 

काठमाडौं, जेठ २९ - युद्धग्रस्त लिबियामा अपहरणमा परेका ४ नेपालीको उद्धार गरिएको छ। इजिप्टस्थित नेपाली दूतावास र युनाइटेड नेसन (युएन) को पहलमा उनीहरुको सुरक्षित उद्धार गरिएको हो । 

उद्धार गरिएकाहरुमा लमजुङका पूर्णप्रकाश अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई रहेका छन् । एक हप्ताअघि लिबियाबाट इटली जाने क्रममा लिबियाको जविया ओसमा एन आर्मड नामक सशस्त्र विद्रोही समूहको नियन्त्रणमा परेको उनीहरुले खबर गरेका थिए । उक्त समूहले अपहरणपछि सबै नङसमेत उप्काइदिएर यातना दिएको र रकमसमेत मागेको बताएका थिए ।

त्यसपछि उद्धारको अपिल गर्दै उनीहरुका आफन्तले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। परराष्ट्रमा निवेदन परेसँगै आइतबार इजिप्टस्थित नेपाली दूतावासलाई खबर गरी उद्धारका लागि पहल गर्न मन्त्रालयले निर्देशन दिएको थियो । 

दूतावास र युनाइटेड नेसनले उनीहरुलाई मंगलबार नै उद्धार गरी सुरक्षित सेल्टरमा ल्याइसकिएको मन्त्रालयले जनाएको छ। विद्रोही समूहले नङसमेत उप्काइदिएको भन्ने खबर पीडित युवाहरुले नै सार्वजनिक गरे पनि उनीहरुलाई विद्रोही समूहले त्यस्तो जटिल यातना नदिएको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। 

‘इजिप्टस्थित दूतावास र युएनको सक्रिय पहलमा चारै जनालाई सकुशल उद्धार गरिएको छ, उनीहरुलाई नेपाल फर्काउन पहल गरिँदैछ,’ उनले भने। 

लिबिया सुरक्षाका हिसाबले निकै जोखिमपूर्ण युद्धग्रस्त मुलुक रहेकाले नेपाल सरकाले त्यहाँ जान नेपालीहरुलाई प्रतिबन्ध लगाएको छ। तर नेपाली कामदार राम्रो काम र कमाइको प्रलोभनमा लिबियासम्म पुगेर युद्धमा फस्ने गरेका छन्। 

पटकपटक गरेर लिबियामा फसेका २० जनाभन्दा बढी नेपाली युवालाई इजिप्टस्थित नेपाली दूतावास, नेपाली शान्तिसेनाको टोली र अन्तर्राष्ट्रिय आप्रवासी संगठन लगायत विभिन्न संघसंस्थाले उद्धार गरेर नेपाल फर्काइसकेका छन्। 

लिबियाको युद्धग्रस्त क्षेत्रमा फसेर उद्धार गरिएका युवाहरुका अनुसार उनीहरुलाई युएईको भिजिट भिसा बनाएर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाइन्छ र युएई हुँदै लिबिया पुगेर फसाइन्छ। 

कतिपय युवाहरुलाई भारतको बाटो हुँदै पनि लिबिया पुर्‍याइने गरेको खुलेको छ। मासिक १ हजारभन्दा बढी अमेरिकन डलर कमाई हुने प्रलोभनमा धेरै युवाहरु एजेन्टको पन्जामा फस्ने गरेका छन्। प्रतिव्यक्ति उनीहरुसँग एजेन्टले ३ लाखदेखि ५ लाखसम्म लिने गरेका छन्।
 


 

More form the Internet

loading...