Suvadin, Home
Citizen Bank 806.7k

Cover Image

प्रहरीलाई दलाली र चाकडी नगर्न प्रधानमन्त्री ओलीको निर्देशन 

नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’

काठमाडौं,२९ माघ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन्। सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका छन्।

नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली वा दमन गर्नका लागि होइन, कर्तव्य पालनाका लागि हो ।’

प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन दिए। प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उनको भनाइ थियो। 

प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए।

प्रहरीको नीतिगत तहबाहेकमा राजनीतिक हस्तक्षेप छैनः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले कमजोर कार्यसम्पादनबाट जोगिन प्रहरीले राजनीतिक दबावको बहाना बनाउन नहुने बताएका छन्। उनले राजनीतिक अभिष्ट पूरा गर्न अपराधलाई अतिरञ्जित गरिएको भन्दै त्यसो नगर्न पनि आग्रह गरे ।

नेपाल प्रहरीको तालिम केन्द्रमा मंगलबार बिहान आयोजित प्रहरी इन्स्पेक्टरहरुको दीक्षान्त समारोहमा बोल्दै उनले नीतिगत तहमा राजनीतिक प्रभाव भए पनि अन्यमा नरहेको जिकिर गरे।

‘प्रहरीले काम गर्न नसक्दा राजनीतिक दबाव र प्रभावलाई बहाना बनाउनु हुन्न’, गृहमन्त्री थापाले भने, ‘नीतिगत तहमा स्वभाविक रूपमा राजनीतिक दबाव छ। तर, अन्यमा प्रहरी नै जिम्मेवार छन्।’

प्रतिपक्ष दलहरुले प्रहरीका पछिल्ला केही अनुसन्धानप्रति प्रश्न उठाइरहेका बेला गृहमन्त्री थापाले प्रतिपक्षको नाम नलिई त्यसलाई राजनीतिक अभिष्ट पूरा गर्न चालिएको अतिरञ्जित कदमको संज्ञा दिए। अपराधलाई अतिरञ्जित गरिए पनि त्यसमा प्रहरी सचेत हुनुपर्ने गृहमन्त्री थापाको भनाइ छ।


 

More form the Internet

loading...