Suvadin, Home

दुर्गापुरका बासिन्दा वर्षौंदेखि आइरनयुक्त पानी पिउन बाध्य

ट्युबवेलको पानीमा आइरनको मात्रा अत्यधिक भएपछि झापाको दुर्गापुरका स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ । ट्युबलेटको पानीमा आइरनको मात्र बढेपछि सिमेन्टको ठूलो रिङमा बालुवा, गिटी, कोइलालगायतका सामग्री राखेर फिल्टरको व्यवस्था त मिलाएका छन् तर त्यति गर्दा पनि पानी रातो नै हुन्छ ।

झापा, असार ३१ - झापाको कन्काई नगरपालिकास्थित दुर्गापुरका १३ सय घरपरिवार शुद्ध पानी पिउनबाट बञ्चित भएका छन् । खानेपानी आयोजनाले गति लिन नसक्दा उनीहरु वषौँदेखि आइरनयुक्त पानी पिउन बाध्य भएका हुन् ।

ट्युबवेलको पानीमा आइरनको मात्रा अत्यधिक भएपछि झापाको दुर्गापुरका स्थानीयले ठूलो समस्या भोग्नुपरेको छ । ट्युबलेटको पानीमा आइरनको मात्र बढेपछि सिमेन्टको ठूलो रिङमा बालुवा, गिटी, कोइलालगायतका सामग्री राखेर फिल्टरको व्यवस्था त मिलाएका छन् तर त्यति गर्दा पनि पानी रातो नै हुन्छ ।

हरेक महिना फिल्टरको बालुवा फेर्नुपर्ने बाध्यतामा रहेका उनीहरुलाई बालुवा लिन विरिङ खोलासम्म धाउनुपर्ने बाध्यता छ । फिल्टर गरेको पानी पिउँदा पनि उनीहरु स्वस्थ छैनन् ।

कपडा, प्रयोग गर्ने भाँडाकुँडा रातो हुने भएकाले कपडा धुनको लागि अधिकांश खोलामै धाउँछन् । घरको ट्युबवेलमा आउने पानी चलाउँदा हातखुट्टा फुट्ने समस्या छ । मेयरदेखि सांसद्सम्मलाई पटकपटक समस्या दर्साउँदा पनि सम्बोधन नभएको स्थानीय झुमा दाहालको गुनासो छ ।

उसो त यहाँका स्थानीयलाई देखाएर ‘प्रजापति जामुनवाडी कन्काई खानेपानी आयोजना’ र ‘प्रजापति खानेपानी विस्तार आयोजना’ डीपीआर पनि तयार भइसकको छ तर कामले गति लिन सकेको छैन । पर्याप्त बजेट नहुँदा काम हुन गर्न समस्या भएको कन्काइ नगरपालिका १ का वडाध्यक्ष रोशन पोखरेलको भनाइ छ ।

प्रजापति खानेपानी विस्तार आयोजनालाई यसवर्ष २० लाख र प्रजापति जामुनबाडी कन्काइ खानेपानी आयोजनालाई ५ लाख मात्र बजेट विनियोजन भएको छ । २ करोडको लागत लाग्ने आयोजनालाई ५ लाख छुट्याउँदा समस्या भएको आयोजनाका सचिव निर्मल कुमार खनाल बताउँछन् ।


 

More form the Internet

loading...