Suvadin, Home

जनवरीमै ९१ हजार पर्यटक नेपाल भित्रिए 

यस अवधिमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १४ हजार ६५० पर्यटक आएका छन्। चीनबाट १४ प्रतिशतले वृद्धि १३ हजार ४८८ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
पाेखरामा रमाउँदै पर्यटक ।

काठमाडौं,१ फाल्गुन-सन् २०१९ को जनवरी महिनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।

 नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार तीन सय पर्यटक नेपाल आएका छन् भने १४ हजार ४९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन्। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.५ प्रतिशतले बढी हो।

यस अवधिमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १४ हजार ६५० पर्यटक आएका छन्। चीनबाट १४ प्रतिशतले वृद्धि १३ हजार ४८८ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

बोर्डका अनुसार गत वर्षको तुलनामा जनवरीमा थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या क्रमशः ६९.८ प्रतिशत, ३८ प्रतिशत र ८.४ प्रतिशतले वृद्धि भएको छ।

यसैगरी बेलायत, जर्मनी र फ्रान्सलगायत युरोपेली मुलुकबाट ११ हजार ९९६ नेपाल भ्रमणमा आएका छन्। जनवरीमा बेलायतबाट चार हजार १३०, जर्मनीबाट एक हजार ५४९ र फ्रान्सबाट एक हजार ३७५ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

गत वर्षको तुलनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या २८.१ प्रतिशतले वृद्धि भएको छ भने अस्ट्रेलियाको पर्यटकको सङ्ख्या ३१.३ प्रतिशतले वृद्धि भएको देखिन्छ।

जनवरीमा मात्र अमेरिकाबाट सात हजार २८ पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट तीन हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेका छन्।


 

More form the Internet

loading...