Suvadin, Home

अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री रेलमा यात्रामा

वासिंटन, साउन ५ - पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिकाको तीन दिने औपचारिक भ्रमणमा छन् ।

प्रधानमन्त्री भएपछि उनी पहिलो पटक अमेरिकाको औपचारिक भ्रमणमा गएका हुन् । अमेरिका पुगेपछि उनी विमानस्थलबाट रेल चढेर बाहिरिएका छन् । आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ इमरान खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लागेका हुन् ।

स्रोतका अनुसार उनी अमेरिका बसाइका क्रममा पाकिस्तानी राजदूतको निवासमा रहनेछन् । पाँच तारे होटलको साटो उनले अमेरिकी राजदूतको निवासमा बस्ने योजना बनाएका हुन् ।

पाकिस्तान आर्थिक संकटको सामना गरिरहेको छ । देश आर्थिक संकटमा रहेको समयमा फजुल खर्च जोगाउनका लागि प्रधानमन्त्री खानले आफैंबाट पहल थालेका हुन् ।

इमरान खानले प्रधानमन्त्री पद सम्हालेलगत्तै सरकारी निवासमा नबस्ने घोषणा गरेका थिए । उनले सामान्य घरलाई नै आफ्नो निवासका रुपमा प्रयोग गर्दै आएका छन् ।

अमेरिका भ्रमणका क्रममा उनले पाकिस्तानी एयरफोर्सको विमानसमेत प्रयोग गरेनन् । उनी कतार एयरवेजको नियमित उडानबाट अमेरिका पुगेका हुन् ।

इमरान खानले अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रिपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले केही अमेरिकी मन्त्री, सांसदहरुसँग समेत भेटवार्ता गर्ने जनाइएको छ । (एजेन्सी)


 

More form the Internet

loading...