Suvadin, Home

सभामुखको पकेट मारेर हिरासतबाट फरार थुनुवा पक्राउ, दुई प्रहरी निलम्वित

काठमाडाैं, साउन १४ -  बारा इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतबाट फरार भएका चोरी मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश २ का सभामुख सरोज कुमार यादवको पकेटबाट ५० हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ परेर फरार भएका १९ वर्षीय फरोज मियाँलाई प्रहरीले पुनः पक्राउ गरेको हो।

सिम्रौनगढ प्रहरी कार्यालयबाट साउन ३ गते भागेका भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी वडा नम्बर ४ का मियाँलाई मंगलबार रौतहटको गौरबाट प्रहरीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। उनी सूवर्णपुर गाँउपालिकामा बस्दै आएका थिए। सिम्रौनगढ नगरपालिका–३ का गौरीशंकर प्रसाद यादवको जाहेरीले चोरी मुद्दामा अनुसन्धान भइरहेका मियाँ साउन ३ गते राति ८ बजे खाना खुवाउने क्रममा भागेका थिए।

बाराका प्रहरी नायव उपरीक्षक रञ्जीतसिंह राठौरका अनुसार खोजी गर्ने क्रममा मियाँलाई पक्राउ गरिएको छ। पक्राउ परेका मियाँलाई रौतहटबाट सिम्रौनगढमा ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक राठौरले बताए। हिरासतबाट थुनुवा फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालय बाराले एक हवल्दार र जवानलाई निलम्बन गरी कारबाही प्रक्रिया थालेको एसपी भट्टराईले बताए। प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साहलाई निलम्बन गरेको छ।

कार्यालयका डीएसपी रञ्जित सिंह राठौरका अनुसार उनीहरूलाई ३ महिनाका लागि निलम्बन गरिएको हो। हिरासतबाट थुनुवा फरार भएको विषयमा बाराका प्रहरी नायब उपरीक्षक रविसिंह राठौर नेतृत्वको टोलीले छानबिन गरिरहेको छ।
 

 


 

More form the Internet

loading...