Suvadin, Home

बेवारिसे बमलाई बसले ठक्कर दिँदा ३४ जनाको मृत्यु, मृत्यु हुनेमा अधिंकाश महिला र बालबालिका

बम अफगानिस्तानको विद्रोही समूह तालिवानले विष्फोट गराएको प्रारम्भिक अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तालिवान लडाकु समूह सुरक्षा बललाई लक्षित गरी विष्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ आक्रमण गर्दै आएका छन् ।

एजेन्सी, साउन १५ - अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दूरीमा चल्ने एउटा यात्रीबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत मध्ये कम्तीमा पनि ३४ जनाको ज्यान गएको छ ।

सुरुमा प्राप्त समाचारमा उक्त दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरूले उक्त घटनाको पुष्टि गरेका छन् । स्थानीय समयानुसार आज बिहान करिब ६ बजेको समयमा भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते हुनेहरूलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

बम अफगानिस्तानको विद्रोही समूह तालिवानले विष्फोट गराएको प्रारम्भिक अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तालिवान लडाकु समूह सुरक्षा बललाई लक्षित गरी विष्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ आक्रमण गर्दै आएका छन् ।

तर, तालिवान लडाकु समूहले तयार पारेका घातक घरेलु हातहतियारले पनि सर्वसाधारण जनतालाई हानी पुर्‍याउँदै आएको छ ।अफगानिस्तानमा जारी द्वन्द्वमा परी यसै वर्षको सुरुको छ महिनामा नै एक हजार तीन सय ६६ जना सर्वसाधारणको मृत्यु भइसकेको छ भने दुई हजार चार सय ४६ जना घाइते भएका छन् ।


 

More form the Internet

loading...