Suvadin, Home

Cover Image

सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पतालमा तनाव

कैलाली, चैत ८ - चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले शुक्रबार सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको उपचारकाक्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सुत्केरी व्यथा लागेपछि चैत ४ गते सेती अञ्चल अस्पताल धनगढीमा भर्ना भएकी रेखाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत् उनले स्वस्थ शिशु जन्माइन् । शिशुको अवस्था सामान्य छ । तर, शल्यक्रियापछि रेखाको भने पेट सुन्निएको मृतकका श्रीमान् जय थापाको भनाइ छ ।

उपचारमा संलग्न चिकित्सकले ‘ग्यास्ट्रिक’को कारण देखाउँदै दुई दिनसम्म रेखाको उपचार गरिरहे पनि थप उपचारका लागि केही नभनेको उनको आरोप छ । तर, पेट सुन्निने समस्या कम नभएपछि रेखालाई थप उपचारका लागि ७ गते बिहान बाँकेको कोहलपुर ‘रेफर’ गरिएकोमा बाटोमा नै बिरामीको मृत्यु भएको उनका श्रीमान् जयले जानकारी दिए ।

मृतकको शव आफन्तले बुझ्न मानेका छ्रैनन् । चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव नबुझेका हुन् । सेती अञ्चल अस्पतालका डा। खगेन्द्रप्रसाद भट्टले चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्ने आरोपको खन्डन गरे ।

उनले जनशक्ति अभावका कारण बिरामीलाई उचित ध्यान दिन नसकेको स्वीकार गरे । तर, लापरबाहीले नै मृत्यु नभएको बताए । मृतकका आफन्तले ‘लापरबाही’ गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने माग राख्दै शुक्रबार बिहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

उनीहरुले घटनाको छानबिन हुनुपर्ने, बच्चाको स्याहार–सुहारको व्यवस्था हुनुपर्नेलगायतका माग गरेका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको छ ।


 

More form the Internet

loading...