Suvadin, Home

Cover Image

पूर्वराजाको सुरक्षार्थ खटिएको कारको ठक्‍करबाट एकको मृत्यु, एक गम्भीर

विराटनगर, चैत्र २८ - पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको कारले मोरङमा मोटरसाइकललाई ठक्‍कर  दिँदा एक युवाको मृत्यु भएको छ । अर्का युवा भने गम्भीर घाइते भएका छन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठकाअनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका- ९ बुधबारेमा बुधबार राति ८ बजे दुर्घटना भएको हो ।  पूर्व राजाको सुरक्षाका लागि सादा पोशाकमा खटिने सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको बा ३ च ७९६२ नम्बरको पछुवा कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिएको श्रेष्ठले बताए । 

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका(९ का २२ वर्षीय हेम चौधरीको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा राति ९ बजे मृत्यु भएको हो । 

मोटसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन्। उनलाई नोबेलबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको छ। रगत जमेका कारण उनको टाउकोको शल्यक्रिया गरिएको र ४८ घण्टासम्म अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकले बताएका छन् । न्युरो सर्जन डा. विवेक वैद्य नेत्रृत्वको टोलीले टाउकोको शल्यक्रिया गरेका चौधरीको अझै होस् खुल्न सकेको छैन । 

डा. वैद्यले टाउकोमा रगत जमेका कारण शल्यक्रिया गरिएको र अवस्था भने खतरामुक्त नरहेको जानकारी दिए । पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल समेतको टोलीलाई विराटनगर विमानस्थलसम्ममा छाडेपछि झापाको दमकतर्फ फर्कने क्रममा मोटरसाइकललाई ठक्‍कर दिएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार यो राजाको सुरक्षामा खटिने सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने पछुवा गाडी हो । गाडी झापाको दमकबाट पूर्वराजासहितको टोलीको सुरक्षाका लागि भनेर विमानस्थलसम्म पिछा गर्दै आएको थियो।

 

 


 

More form the Internet

loading...