Suvadin, Home

Cover Image

कस्तो रहला २०७६ साल ? केही भ्रम र यथार्थ

Author's Commentary

यो आलेख कुनै देशका बारेमा गरिने भविष्यवाणी कत्तिको प्रभावकारी हुन्छ ? ज्योतिषीय मान्यताका आधारमा २०७६ साल नेपालका लागि कस्तो रहनेछ रु लगायतका जिज्ञासा साम्य पार्ने उद्देश्यमा केन्द्रित हुनेछ ।

Sb Saud |

काठमाडौं, चैत २९ - विक्रम संवत्को नयाँ पात्रोअनुसार हामी नयाँ वर्ष प्रवेश गर्दैछौं । विभिन्न प्रिय–अप्रिय घटनाहरु झेल्दै, भोग्दै २०७५ साल बिदा हुँदैछ ।

यसैबीचमा नेपाल र नेपालीका नयाँ वर्ष कस्तो रहला भन्ने विषयमा व्यापकरुपमा ज्योतिषीय विश्लेषण भइरहेका छन् । शास्त्रीय आधार एउटै भएपनि विश्लेषण र भविष्यवाणी फरक–फरक किसिमका प्रकट भइरहनुले धेरै पाठकलाई अन्योलमा पारिदिएको छ ।

ज्योतिषशास्त्रको क्षेत्र विशाल छ । जसअन्तर्गत्को एउटा शाखा फलितज्योतिषले आकाशीय ग्रह–पिण्डहरुले पृथ्वी र मानव जीवनमा पार्ने प्रभावका बारेमा अध्ययन गर्दछ ।

यो आलेख कुनै देशका बारेमा गरिने भविष्यवाणी कत्तिको प्रभावकारी हुन्छ ? ज्योतिषीय मान्यताका आधारमा २०७६ साल नेपालका लागि कस्तो रहनेछ रु लगायतका जिज्ञासा साम्य पार्ने उद्देश्यमा केन्द्रित हुनेछ ।

आकाशमा ग्रह, नक्षत्र तथा पिण्डहरुको संख्या अनगिन्ती रहे पनि ज्योतिषशास्त्रले मूलतः पृथ्वीबाट अत्यन्तै निकट रहेका र पृथ्वीवासीलाई ठूलो प्रभाव पार्ने ग्रहका बारेमा मात्र अध्ययन गर्दछ । कुनै व्यक्तिको जीवनको भविष्यवाणी गर्दा उसको जन्मकालमा ग्रहको स्थिति र अवस्थितिलाई गणना गरेर त्यसको आधारमा गर्नुपर्छ ।

त्यसैगरी, कुनै देशको भविष्यका बारेमा जान्नको लागि त्यो देशको उद्भवको समयसम्म पुग्नुपर्छ र त्यसका आधारमा कुण्डली बनाउनुपर्छ । नेपालको अस्तित्व कुन मिति र समयदेखि सुरु भयो भन्ने विषयमा आधिकारिक र विश्वसनीय तथ्यांक फेलापर्न सकेको छैन ।

त्यसको विकल्पमा देशको पहिलो नामाक्षरका आधारमा राशि पत्ता लगाउने र त्यसका आधारमा आगामी दिनको भविष्यवाणी गर्ने विकल्प पनि रहेको छ । यसबाट सूक्ष्म ढंगले विश्लेषण हुन नसके पनि मोटामोटी रुपमा सत्यताको नजिक भने पुग्न सकिन्छ ।

कतिपयले वर्षको प्रारम्भ भएको समयको जगल्लग्न कुण्डलीलाई आधार मानेर नेपालकाबारेमा फलादेश गरिरहेका छन् । तर, सत्य के हो भने त्यो कुण्डली नेपाल, भारतलगायतका देशहरुमा पनि एउटै किसिमको हुन्छ ।

ग्रहहरुको संयोग र अवस्थिति करिब–करिब सम्पूर्ण विश्वका लागि एउटै हो । तसर्थ, त्यसबाट नेपालको भविष्यवाणी गर्र्नुले खासै अर्थ राख्दैन ।

तर, नेपालको राशिलाई लग्न मानेर वर्षप्रारम्भको बेलामा भएका ग्रहको अवस्थितिअनुसार भने स्थूलरुपमा नेपालका बारेमा केही कुरा अनुमान गर्न सकिन्छ ।

ज्योतिषीका अलावा विभिन्न विश्लेषक तथा विशेषज्ञहरुले विकसित घटनाक्रमका आधारमा आगामी दिनको प्रक्षेपण गरिरहेका छन् । त्यसमा मुख्य आधार विभिन्न घटनाक्रम, चिन्तनशक्ति तथा विभिन्न तथ्यांकको आधार रहेको हुन्छ ।

तर, ज्योतिषीय दृष्टिकोणबाट आगामी दिनको भविष्य विश्लेषण गर्दा भने मुख्य आधार ज्योतिषशास्त्रका मूल्य, मान्यता र नियमलाई आधार बनाइएको हुन्छ ।

जीवन र जगतका हरेक विषयमा बहुआयामिक पक्षको प्रभाव पर्ने भएकाले ज्योतिषीय विश्लेषण पनि निरपेक्ष भने हुन सक्दैन । वर्तमान परिवेशको समकालीन जगमा टेकेर नै ज्योतिषीय विश्लेषण गर्ने हो । ग्रहहरुले पनि समयको सापेक्षताका आधारमा नै शुभाशुभ फल प्रदान गर्दछन् ।

कुनै देशको आगामी दिनको फलादेश गर्दा वर्तमान राजनीतिक परिवेश, ऐतिहासिक पृष्ठभूमि, राज्यको शासन प्रणाली आदिलाई पनि विचार गर्नुपर्छ । देश, काल परिस्थितिअनुसार ज्योतिषीय तथ्यको आधारमा टेकेर फलादेश गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता पनि छ ।

वर्ष २०७६ मा कलह, झै–झगडा र वैमनस्य बढ्ने 

विरोधीकृत् नामक संवत्सर समाप्तिसँगै अहिले परिधावी नामको संवत्सरको प्रवेश भएको छ ।

संवत्सर फलका आधारमा विभिन्न राष्ट्रकाबीचमा परस्पर झै–झगडा, कलह र वैमस्यताको स्थिति तुलनात्मकरुपमा बढी निम्तने सम्भावना छ ।

प्रधानमन्त्री र मन्त्रीहरुबीच समन्वय र सहकार्यको अभाव हुने १

यो वर्ष शनि ग्रहले राजाको पद पाएको छ भने सूर्य ग्रहले मन्त्री पद पाएको छ । आपसमा शत्रुको व्यवहार गर्ने यी दुई ग्रहमध्ये शनिलाई सूर्यको पुत्र मानिन्छ ।

पुत्र राजा र पिता मन्त्री भएको हुँदा प्रधानमन्त्री र मन्त्रीहरुबीच समन्वय, सहयोग र सहकार्यको अभाव देखिनेछ ।

नेपालको वृश्चिक राशि पर्ने भएकाले सोहीअनुसार नेपालको लागि २०७६ साललाई यसरी विश्लेषण गर्न सकिन्छ ।

१. राजनीतिक तथा सामाजिक क्षेत्रः उतार–चढावयुक्त

मुलुकको राजनीतिक क्षेत्रमा केही उतार–चढाव आउनेछन् । जनतामा गुनासा र निराशाको अवस्था कायमै रहनेछ ।

बुद्धि स्थानमा बुध ग्रह नीच भइ बसेका कारण बौद्धिकस्तर खस्किनेछ र बौद्धिक सम्पत्तिको परिचालन र सदुपयोग नहुने देखिन्छ ।

धार्मिक आन्दोलन हुने 

गलत सोँच र प्रवृत्तिका व्यक्तिहरुको हालीमुहाली हुने हुँदा दूरगामीरुपमा नकारात्मक प्रभाव पार्ने निर्णय हुन सक्छन् । धार्मिक गतिविधि विगतको तुलनामा बढेर जानेछन् ।

धार्मिक आन्दोलनले आकार बढाउनेछ । तर, त्यसको परिणाममुखी प्रभाव भने देखिने छैन ।

सरकार परिवर्तनको चलखेल हुने

आन्तरिक कहल र गृहयुद्ध देखा परिरहनेछ । सरकार परिवर्तनका लागि सशक्त चलखेल भएपनि सम्भावना एकदमै क्षीण छ । यद्यपि, मन्त्री भने अदल–बदल हुनेछन् ।

अन्तर्राष्ट्रिय सम्बन्धमा उल्लेख्य सुधार आउनेछ । शत्रुहरुले सहजै आक्रमण गर्नसक्ने छैनन् ।

कर्मचारीतन्त्रमा निराशाजनक अवस्था उत्पन्न हुने देखिन्छ । वृश्चिक राशिमा शनिको प्रकोप भएकाले उच्चपदस्थ व्यक्तिका निर्णय विवादित हुने वा महत्वपूर्ण निर्णयहरु कार्यान्वयनमा नआउने समस्या देखिन्छ ।

राजनेताको स्वास्थ्यमा समस्या 

छात्र–छात्रामा विदेश पलायनको दर बढेर जाने देखिन्छ । राजनेताको स्वास्थ्यमा समस्या आउने योग छ ।

सेवामूलक क्षेत्रमा अग्रसरता बढ्ने, पत्रकारिता क्षेत्रको प्रशंसनीय भूमिका रहने देखिन्छ ।

यसका अतिरिक्त भाग्यले ठूलो साथ दिनेछ भने विकास निर्माणका गतिविधिमा जनताको अग्रसरता बढ्नेछ ।

२. आर्थिक क्षेत्रः अवसर प्रशस्त तर दुरुपयोगको खतरा

नेपालको राशि कुण्डलीअनुसार धनेश वृहस्पति स्वगृही भइ बसेको हुँदा आर्थिक उन्नतिका स्रोतहरु र अवसरहरु प्रशस्त मात्रामा देखिन्छ । तर, साथमा शनि र केतुको संयोगले त्यसको दुरुपयोग हुने खतरा पनि उत्तिकै छ ।

तसर्थ, अत्यन्त सजगताका साथ उपलब्ध स्रोत र साधनको परिचालन गर्नसके आर्थिक सूचकांकहरु सकारात्मक दिशातर्फ जाने सम्भावना छ ।

राष्ट्रिय सम्पत्तिको अनावश्यक दुरुपयोग नहुने देखिएकाले भ्रष्टाचार घट्ने आँकलन गर्न सकिन्छ ।

आर्थिक क्षेत्रमा वैदेशिक लगानी र सहयोग बढेर जानेछ । कृषि क्षेत्रमा उत्पादकत्व त बढ्नेछ तर बजार नपाउँदा जनता निराश बन्नेछन् । यान्त्रिक वस्तुको कारोबार बढ्ने देखिन्छ ।

३. दुर्घटना तथा शान्ति-सुरक्षाको क्षेत्र

महिला हिंसा बढ्नेछ । दुर्घटना केही घटेपनि उल्लेख्य सुधार आउने छैन । आगलागीका घटनामा बढोत्तरी हुनेछ ।

प्राकृतिक प्रकोप, बाढी–पहिरो, भूक्षयलगायतका समस्याले सताउनेछ । साउन, पुस र चैत महिनामा सवारी–साधनको दुर्घटना बढी हुने सम्भावना छ । जनतामा रोगब्याधिको प्रकोप बढ्न सक्नेछ ।

सैन्य शक्ति परिचालनको अवस्था 

सैन्य शक्तिको परिचालन गर्नुपर्ने अवस्था आउन सक्छ । सरकार र सुरक्षा निकायबीच केही बेमेलको स्थिति सिर्जना हुने देखिन्छ ।

यसरी ज्योतिषीय दृष्टिकोणबाट समग्ररुपमा विश्लेषण गर्दा नेपालका लागि २०७६ साल मध्यम वर्षकारुपमा देखिन्छ ।

विशाल चुनौती र व्यापक अवसरका रुपमा रहेको यस वर्षलाई उमंग र उत्साहमा बदल्न शासकवर्गले उच्च नैतिकता, विवेक र संयमता अपनाएर अघि बढ्ने ल्याकत राख्नुपर्छ ।

ग्रहहरु निरन्तर रुपमा आ–आफ्ना कक्षमा घुमिरहेका छन् । ग्रहहरुको स्थान परिवर्तनअनुसार तिनीहरुले पार्ने प्रभाव पनि फरक–फरक हुन्छ । वर्ष दिनमध्ये पनि विभिन्न महिनामा ग्रहको प्रभाव फरक–फरक पर्दछ । त्यसका लागि मासिक लग्नकुण्डली बनाएर विश्लेषण गरिन्छ ।

त्यसैगरी, हरेक दिनको फल पनि फरक–फरक हुन्छ । देशभित्रका शासकवर्गका पनि आ–आफ्ना किसिमका कुण्डली हुन्छन् । तिनीहरुलाई ग्रहले पार्ने सकारात्मक र नकारात्मक प्रभावले पनि देशको भाग्य र भविष्य सम्बन्धित रहेको हुन्छ ।

त्यसैले यस विषयलाई एकपक्षीय रुपमा मात्र विश्लेषण गर्नुभन्दा बहुकोणीय तरिकाले विश्लेषण गर्नु वाञ्छनीय हुन्छ । यसका साथै मानिसले गर्ने कर्मका आधारमा पनि ग्रहको प्रभावलाई प्रबल र निष्तेज पार्न सकिन्छ ।

ज्योतिषशास्त्रले समस्यामात्र खडा गर्दैन समस्याबाट उन्मुक्ति गराउने हैसियतसमेत राखेको छ । ग्रहका आधारमा देखिएका समस्यालाई सकारात्मक कर्मबाट निवारण गर्न सकिन्छ ।

नव वर्ष सबैको लागि अनुकूल र मंगलमय बनोस् शुभदिनको शुभकामना 


 

More form the Internet

loading...