Suvadin, Home

राष्ट्रपति समक्ष प्रधानमन्त्रीको वार्षिक प्रतिवेदन पेश

काठमाडौं,बैशाख २ - राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश गरे ।

नेपालको संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपति समक्ष पेश गर्नुपर्ने उल्लेख छ । त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानवअधिकारको संरक्षण र सम्बद्र्धन राज्यका निर्देशक सिद्धान्तहरुको अनुशरण तथा राज्यका नीतिको क्रमशः कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने राज्यको दायित्व हुनेछ । संविधानको धारा ५२ मा उल्लेख छ ।

निर्देशक सिद्धान्तमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरी राख्दै नागरिकको जीउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानवअधिकारको मूल्य र मान्यतालगायतका विषयवस्तुको सुनिश्चितता गर्नु राज्यको उद्देश्य हुनेछ ।

राष्ट्रिय एकता र सुरक्षा, राजनीतिक तथा शासन व्यवस्था, सामाजिक र सांस्कृतिक रुपान्तरण, अर्थ, उद्योग र वाणिज्य, कृषि तथा भूमि सुधार, विकास, प्राकृतिक साधन स्रोतको संरक्षण सम्बद्र्धनसम्बन्धी नीतिलगायतका विषयवस्तु राज्यका नीतिमा पर्दछन् ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्न सङ्घीय संसद्मा एक समिति रहनेछ । उक्त विषयमा लेखिएका कुनै पनि कुरा कार्यान्वयन भए वा नभएको सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने पनि संविधानमा उल्लेख छ ।

 

 


 

More form the Internet

loading...