Suvadin, Home

सर्वोच्चकाे आदेशमा तिलगंगा-गुह्येश्वरी सडक सधैंका लागि बन्द

‘अब यो सडकमा सवारी गुड्दैनन्,’ ढकालले भने, ‘धेरै पक्षको चासो र चिन्ताको विषयका रुपमा रहेको यो सडक बन्द गरेका छौं ।’ यो सडकले पशुपति क्षेत्रमा भू-क्षय समेत निम्ताएको थियो । यसैलाई देखाएर कोषले श्लेष्मान्तकमा कंक्रिटसहितको कुलो निर्माण गर्न खोजेको थियो । तर, सडक नै बन्द गर्नुपर्ने भन्दै सम्पदा अभियन्ताले चर्को रुपमा काम गरिरहेका थिए ।

काठमाडौं, जेठ १ - पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा क्षेत्रमा सञ्चालनमा रहेको तिलगंगा-ताम्रगंगा (गुह्येश्वरी निस्कने)सडक सधैंका लागि बन्द गरेको छ । सर्वोच्च अदालतले आदेश दिएको ३ वर्षपछि बल्ल सडक बन्द भएको हो ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले ७ वर्षअघि नै यो सडकमा सवारी अवागमन नरोकिएमा विश्व सम्पदा सूचीबाट पशुपतिलाई हटाउने चेतावनी दिएको थियो । सन् २०१३ मानै बन्द हुनुपर्ने यो सडक पशुपति क्षेत्रको सुरक्षा बार लगाउने काम हुँदै गर्दा बन्द गरिएको हो । पशुपति क्षेत्रलाई सुरक्षा बारभित्र समेट्ने क्रममा स्वतः यो सडक बन्द भएको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए ।

‘अब यो सडकमा सवारी गुड्दैनन्,’ ढकालले भने, ‘धेरै पक्षको चासो र चिन्ताको विषयका रुपमा रहेको यो सडक बन्द गरेका छौं ।’ यो सडकले पशुपति क्षेत्रमा भू-क्षय समेत निम्ताएको थियो । यसैलाई देखाएर कोषले श्लेष्मान्तकमा कंक्रिटसहितको कुलो निर्माण गर्न खोजेको थियो । तर, सडक नै बन्द गर्नुपर्ने भन्दै सम्पदा अभियन्ताले चर्को रुपमा काम गरिरहेका थिए ।

युनेस्कोले सो सडक बन्द गर्न चेतावनी दिए पनि सरकारले वैकल्पिक सडकको व्यवस्था गर्ने भन्दै अटेर गर्दै आएको थियो । २०७१ मा अधिवक्ता तुलसी सिंखडाले सर्वोच्चमा रिट हालेर सडक बन्द गर्न आदेश मागेका थिए । न्यायाधीश आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले २०७३ मा सडक बन्द गर्न आदेश जारी गरेको थियो ।

यो सडकबाट दैनिक ट्रक, ट्रिपर र पानी बोक्ने ट्यांकसहितका सवारी गुड्ने गरेका थिए । बालुवायुक्त सडकमा भारी सवारी गुड्दा यसले पशुपति क्षेत्रका सम्पदामा क्षतिको जोखिम बढाएको थियो ।

यही सडकमा कारण श्लेष्मान्तकमा भूक्षय बढेको निश्कर्ष विज्ञहरुले नै निकालेका थिए । यस्तो भूक्षयले विश्वरुपा मन्दिर नै चर्किन थालेको छ । यही भूक्षय रोक्ने भन्दै माथिबाट कुलो खन्न खोजिएको थियो । प्राचीन स्मारक संरक्षण ऐन र अदालतको आदेश विपरित सञ्चालनमा रहेको सडकलाई बन्द गरिएको सदस्य सचिव ढकालले बताए ।

 

 

 


 

More form the Internet

loading...