Suvadin, Home

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तय गर्न गृहकार्य

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणका लागि दुवै पक्ष गृहकार्यमा जुटेका छन् । यद्यपि, असोज अन्तिम साता हुन सक्ने भनिएको भ्रमणबारे नेपाल र चीन दुवैले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

 राष्ट्रपति सी असोज अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् । नेपालले पनि उनी भारत जाँदा वा फर्किँदा उनको भ्रमण होस् भन्ने चाहना कूटनीतिक च्यानलमार्फत पठाइसकेको छ । चीनले सीको भ्रमण कूटनीतिक एजेन्डामा रहेको र नेपाल आउन यो वर्ष उपयुक्त हुने जवाफ पठाएको छ । दुवै पक्ष भ्रमणको गृहकार्यमा जुटेका छन् । 

‘राष्ट्रपति सीनिकट भविष्यमा आउने सम्भावनालाई नकार्न सकिँदैन,’ उच्च कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘अघिल्लो सातादेखि काठमाडौंमा चिनियाँ पक्षको सक्रियता पनि बढेको छ ।’ चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी छिन् ।

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच २६ असोजमा भारतमा अनौपचारिक वार्ता हुँदै छ । ‘त्यसअघि वा पछि पारेर राष्ट्रपतिको भ्रमण गराउने प्रयास भएको छ । तर, यकिन भइसकेको छैन’ परराष्ट्र स्रोतले भन्यो । 

अघिल्लो साता पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको प्रतिक्रिया दिएका थिए । ज्ञवालीलाई १८ असारमा परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले बेइजिङमा राष्ट्रपति सीको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको र गृहकार्य गर्नुपर्ने बताएका थिए ।

चीनको दालियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधाघन्टाको छलफलको मुख्य विषय नै सीको सम्भावित नेपाल भ्रमण थियो । 

‘उच्चस्तरीय भ्रमणप्रति हामी सकारात्मक छौँ । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ विदेशमन्त्री वाङले भनेका थिए । चिनियाँ मन्त्रीले दुवै पक्षबीच परामर्श जारी राखिने बताएको थियो । 


 

More form the Internet

loading...