Suvadin, Home

Cover Image

त्रिशूली बस दुर्घटना :  १९ जना अझै वेपत्ता, खोजीका लागि पाँच जिल्लामा खटिए प्रहरी 

धादिङ । धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा त्रिशूली नदीमा खसेर भएको बस दुर्घटनाका वेपत्ताहरुको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई गुहारेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर वेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्ला प्रहरी नदी किनारमा खोजी कार्यमा जुटेका छन् । खोजी कार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायसँग समन्वय गरिएको हो ।

चितवनको कुरिनटारमा बसेको समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तले बारम्बार भइरहने सवारी दुर्घटना कम गराउन सरकारले प्रभावकारी कार्य गर्न नसकेको बताएका छन् । वर्षाको समयमा त्रिशूलीमा ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

गत शुक्रबार सर्लाहीको मलङ्गवाबाट चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नंको बस त्रिशूलीमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ को शव फेला परेको छ । उक्त बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशङ्का गरिएको प्रजिअ पाण्डेले बताए । -


 

More form the Internet

loading...