Suvadin, Home

दुर्घटनामा तीन जनाको ज्यान गयो

 मोरङ, सुनसरी र काठमाडौंमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मोरङको रंगेलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौं, चैत ३ - मोरङ, सुनसरी र काठमाडौंमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

मोरङको रंगेलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। रंगेली नगरपालिका-७ झुगिटोलमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापा महाभारा-१ का ३० वर्षीय दिपक महतोको मृत्यु भएको हो। को१क १८४६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे७प ८२३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनापश्चात् फरार रहेका ट्रक चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। 

यता सुनसरीमा नम्बर नखुलेको सवारी साधनकाे ठक्करबाट एक जनाको को मृत्यु भएको छ भने एक जना  घाइते छन्।

सुनसरीको भासी नगरपालिका-४ मा बुधबार राति सवारी साधनको ठक्करबाट साइकल चालक सुनसरी डुम्राहा-५ का सुमन चौधरीको मृत्यु भएको छ।

गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति नै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका डुम्राहाकै सुरज चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ।

राति  ९ बजे साइकलमा सवार सुमनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हाे। दुर्घटनापछि फरार चालक र सवारी साधनको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

यता काठमाडौंको बुढानिलकण्ठमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौंको बुढानिलकण्ठ-४ स्थित देउवाचोकमा बुधबार बेलुकी ८ बजे नम्बर खुल्न नसकेको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुली घर भई हाल देउवाचोक नजिकै बस्दै आएका ६० वर्षीय वीरबहादुर थापामगर  छन्। सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका थापामगरको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति १२ बजे मृत्यु भएको हो। दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेकाे प्रहरीले जनाएको छ। 


 

More form the Internet

loading...