Suvadin, Home

टिप्पणी
'कुकुरको मासु बेच्‍ने थलोको नेतृत्व'मा हत्या आरोपी अग्‍नी 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले लामो रस्साकस्सीपछि आतबार बेलुका सभामुखको उम्‍मेदवारको टुंगो लगायो । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि चार महिना संसद सभामुख विहीन बन्‍यो । 

संसद सचिवालयका सभामुखको अनुपस्थितिमा उपसभामुखले गर्न मिल्‍ने कार्यहरु तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फले गरेकी थिइन् । उनले आफू सभामुख हुन योग्‍य भएकोले तत्काल उपसभामुख पदबाट राजीनामा नदिने र सभामुखमा आफूलाई उमेदवार बनाउन पार्टीले निर्णय गर्नुपर्ने उनको अडान थियो । तर, महिला, जनजाती, उत्पीडन र सीमान्तकृत वर्गको वकालत गर्ने सत्तारुढ दलले एक योग्‍य महिलालाई रुँदै बाहिरिन बाध्य पार्‍यो । 

महिला अधिकारका विषयमा विद्यावारिधी गरेकी, महिला अधिकारको वकालत गर्ने पार्टीको प्रतिनिधि, बहुमत प्राप्त दलको सदस्य हुँदाहुँदै पनि बाध्य भएर उपसभामुख तुम्बाहाङ्फेले सोमबार पदबाट राजीनामा दिनुपर्‍यो । उनले राजीनामा दिँदै भनेकी थिइन्, "राजाविरुद्ध लड्न सजिलो थियो तर, पितृसत्तासँग लड्‍न सकिएन ।" बिना कसुर अरुले गरेको गल्तीको बलीमा शिवमायालाई चढाइयो- यो नेकपाको सबभन्दा ठूलो भूल थियो । 

त्यसैगरी हिजोका दिनमा संसदीय व्यवस्थालाई 'खसीको टाउको देखाएर कुकुरको मासु बेच्‍न थलो' भनेर ब्याख्या गर्ने कम्युनिस्टहरु आज त्यही पदका लागि लछाचुढी गरेको दृश्य थप रोचक बनेको छ । तत्कालीन माले, एमालेदेखि जनयुद्धको 'ठेकेदार' माओवादीले पनि यही वाक्यांशलाई दोहोर्‍याउँदै संसदीय व्यवस्थालाई दुत्कारेको थियो । सोही संसदीय प्रणालीविरुद्ध युद्ध सुरु गरेको माओवादीले १७ हजार मानिसको अकालमा हत्या गरेको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने 'आफूले पाँच हजारको हत्याको मात्र जिम्मा लिने' बताएका छन् । उनले बाँकी १२ हजार मानिसहरु सरकार पक्षबाट मारिएका दाबी गरेका छन् । 

सरकारले संसदलाई आफ्नो लाचार छाया बनाउन खोजेको भन्‍ने आरोप लागिरहेका बेला सरकारले संसदमार्फत अनुमोदन गर्न खोजेका कानुनहरुको प्रकृति हेर्दा पनि संविधानले दिएका जनतका अधिकारहरुलाई कुण्ठित पार्ने किसिमका देखिन्छन् । तत्कालीन अर्थमन्त्री रहेको बेला कृष्णबहादुर महराले सांसद खरिदका लागि चीनसँग ५१ करोड रुपैयाँ सहयोग मागेको टेप सार्वजनिक भएको थियो । त्यसैगरी नेपालको इतिहासमै सम्भवत: एक उच्च पदस्थ व्यक्ति बलात्कार आरोपमा जेल जानुपर्‍यो । 

यस्ता कम्युनिस्टाका गतिविधि हेर्दा हिजोका दिनमा आफूले ब्याख्या गरेको खसीको टाउको राखेर कुकुरको मासु बेच्‍ने थलोको रुपमा साँच्चै विकास गरिरहेका त छैनन् भन्‍ने स्वभाविक प्रश्‍नहरु उठिरहेका छन् । यही सन्दर्भमा सभामुखको उमेदवार बनेका अग्‍नी सापकोटालाई सत्तारुढ दलले अघि सारेको छ । आज सभामुखको उमेदवारी नदिने मिति तय भएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उमेदवारी नदिने निर्णय गरेको छ । 

संविधानको धारा ९१ अनुसार संसदको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र फरक-फरक दलको हुनुपर्ने कानुनी प्रावधान छ । यही प्रावधानलाई टेकेर नेकपाको सकसको घानमा शिवमाया परेकी हुन् । यसअघि तत्कालीन माओवादी र एमालेको एकीकरण हुँदा सभामुख-उपसभामुख चयन भएकोले सत्तारुढ दललाई 'फेस सेभिङ' को छुट थियो । तर, पनि नेकपाले संविधानको पालनालाई आँखा चिम्लेको र सत्तारुढकै आग्रहमा सर्वोच्चमा यसविरुद्ध परेको रिटको सुनुवाई पनि समयमा भएको थिएन । यो मुद्दा सर्वोच्चमा विचाराधिन छ । 

यहीबीच सभामुख बन्‍न लागेका सिन्धुपाल्चोकका सांसदसमेत रहेका अग्‍नी सापकोटाविरुद्धको हत्याको मुद्दामा पनि सर्वोच्‍च अदालतमा विचाराधीन छ । हिजो कुकुरको मासु बेच्‍ने थलो भनेर ब्याख्य गरिएको संसदको नेतृत्व गर्ने जिम्मेवारी हत्या आरोपी सापकोटालाई सुम्पिन लागिएको छ । सामाजिक सञ्‍जाललगायतका सार्वजनिक मञ्‍चहरुमा राज्यका तीन अंगमध्येको एक महत्वपूर्ण अंग जसले मुलुकको मुल कानुनदेखि सहयाक कानुन, ऐन, नियम बनाउने थलोको जिम्मा हत्या आरोपीलाई दिन लागिएको भन्दै आलोचनासमेत गरेका छन् । 

एकथरीले बलात्कार आरोपीले नेतृत्व गरेको संसदलाई अब हत्या आरोपीले नेतृत्व प्रदान गर्न लागेको भन्ने टिप्पणीसमेत गरेका छन् । सभामुखका उमेदवार सापकोटाविरुद्ध  २०७२ चैत २६ वर्तमान राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले हत्या अभियोगमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।  
 


 

More form the Internet

loading...