Suvadin, Home

हिमालमा फल्‍ने स्याउ फल्यो तराईमा 

बुटवल । सामान्यतया स्याउ हिमालमा फल्ने फल हो। यदाकदा उच्च पहाडी क्षेत्र तथा ओसिलो क्षेत्रमा पनि स्याउ फलेको सुनिन्छ। तर, हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ प्रचण्ड गर्मी हुने तराईमा पनि फलेको छ भन्दा अचम्म लाग्नसक्छ।

रुपन्देहीको लुम्बिनी नर्सरीले 'लो चिलिङ्ग' जातको स्याउ फलाएको तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरी सञ्चालक रमेश पाण्डेले बताए । उनका अनुसार यसको बिरुवा भारतको कलकत्ताबाट ल्याइएको थियो।

उनले २ वर्ष अघिदेखि यसको परीक्षणका रुपमा उक्त जातको स्याउको बिरुवा रोपेका थिए। ‘गत वर्ष ५/६ वटा मात्रै फल लागेका थिए, यो वर्ष भने स्याउको बोटमा लटरम्म फल लागेका छन्,’ उनले भने।

जंगली प्रजातिको 'मिलिङ्ग' जातको स्याउको बोटमा कलमी गरी 'लो चिलिङ्ग' जातको अर्को स्याउकाे प्रजाति विकास गरिएको हो। चिसो मौसम नभएको स्थानमा समेत यो जातको स्याउ फलेको हाे। जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको उनले बताए।

'५० वटा बिरुवाको 'क्रसिङ' गरी 'लो मिलिङ्ग' जात तयार गरिएको हो, स्याउ फलाउने अभियान अहिले आएर मात्रै पूरा भएको छ,' उत्साहित मुद्रामा पाण्डे बताउँछन्। उनको नर्सरीबाट बिरुवा लगेकाहरुको घरमा समेत लटरम्म स्याउ फलेकाे बुझिएकाे छ। गुल्मी र पाल्पामा समेत एकैसाथ बिरुवा रोपिएको थियो। ती सबै बाेटमा फल लागेकाे छ।

सामान्यतया स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा असारमा फल लाग्छ। तर, गर्मी मौसमका कारण तराईमा भने बैसाख/जेठमै फलेकाे उनले बताए। 'गत वर्ष फलेको फल गुलियो थियो,' पाण्डेले भने, ‘स्याउ हरियोबाट रातो हुँदैे पाक्यो, खाँदा बजारमा पाइने जस्तै गुृलियो स्वादको पाएँ।’
 


 

More form the Internet

loading...