Suvadin, Home

महाभूकम्पलाई फर्केर हेर्दा
भक्तपुरमा नारा लाग्यो, ‘नेपाली सेना जिन्दावाद!’

मेजर रञ्जीत थापाको नेतृत्वमा रहेको नगरकोट सुरक्षा गुल्ममा ९३ जनाको टोली थियो। सैनिक स्कुल सल्लाघारीमा क्याप्टेन निराजन सापकोटाको नेतृत्वमा ६२ जनाको टोली थियो। तलेजु मन्दिर सुरक्षार्थ १९ जनाको टोली थियो। सुरक्षा पोस्ट तलेजु पुरातत्व विभागमा जमदार वीरेन्द्र भट्टसहित १९, लप्टनडाँडा इन्टेलिजेन्स स्कुल, आर्मी स्कुल शैक्षिक समाचार शिक्षालय सुरक्षा बेसमा पनि थिए २८ जना। राणाले सेटबाट आदेश दिए – आ–आफ्नो ठाउँबाट टोली बनाएर निस्किनू।
भूकम्पले च्यापिएका बालक उद्धार गर्दै सेनाको टाेली। तस्बिर : गुगल

काठमाडौं, वैशाख १२ - २०७२ वैशाख १२ गते। ज्वाला दल गण सूर्यविनायकका तत्कालीन कर्णेल अनुपजंग विक्रम राणा खाना खानका लागि भनेर तयारीसाथ टेबलमा बसिरहेका थिए। शनिबारको दिन भएको कारण ड्युटी थिएन। बिहान अबेरसम्म शारीरिक अभ्यास गरे।

मध्याह्न १२ बजेर केही मिनेट कटेपछि उनी खाना खाने तयारी गर्दैथिए।

एक चम्चा खाना मुखमा हालेपछि अप्ठेरो महसुस हुन थाल्यो। खटटट आवाज आयो। रिंगटा छुटेजस्तो भयो। हल्लिन थाल्यो।

मनमा थोरै डर पनि लाग्यो। प्रकृतिले यति गतिविधि गरिसक्दा भूकम्प आएको हो भन्ने चाल पाउन राणालाई कठीन परेन।

खाना टेबुलमै छोडिदिए। बाहिर खुला ठाउँमा निस्किए।

जवानहरू अघि निस्किसकेका रहेछन्। उनीहरू भनिरहेका थिए, ‘भूकम्प आयो ... भूकम्प आयो।

राणा खुला ठाउँमा बसिरहे। अन्यत्र जान नसकिने नै अवस्था थियो किनभने खुला ठाउँमै बस्दा पनि भूकम्पले शरीर यताउता पारिदिइरहेको थियो। त्यस किसिमको भूकम्प सायद पहिलोपटक अनुभव गर्दैथिए।

गणको चारै दिशा घुमेर नजर लगाए। भक्तपुर क्षेत्रबाट इँटाको धुलो आकाशमा बादलझैं दौडिन थाल्यो। धुलोले वायुमण्डल राताम्ये बन्दैथियो।

एउटा कर्णेलले यति देखेपछि घटनाको अनुमान लगाउन कठीन परेन। अनुपविक्रमले मनमनै सोचेपक्कै पनि ठूलो जनधनको क्षति हुनुपर्छ। 

उनको शंका यथार्थ हो भन्ने प्रमाण हात लाग्न बेर लागेन।

भूकम्प रोकिएको महसुस भएपछि उनले जवानहरूलाई आदेश दिए- तुरुन्त तयार होऊ।

फौजी जीवन, उसमाथि नेपाली सेना। बिदाको दिन वा अरु कुनै बहाना झिक्ने कुरो आउँथेन। आपतविपतका लागि र विशेषगरी भूकम्पमा नेपाली सेनाको जिम्मेवारी महत्वपूर्ण हुन्छ भन्ने कर्णेल राणाले सोचे।

सिपाहीहरू तयारीका निम्ति हिँड्न लागेका थिए। त्यतिबेलै उनले सेटमार्फत अर्को आदेश पनि दिए कसैलाई केही भएको छ कि पहिले चेकजाँच गर्नू।

भक्तपुरतिरबाट वायुमण्डलमा उडिरहेको धुलो कम भइसकेको थिएन। बरु कोलाहलजस्तो लाग्ने आवाज हल्काफुल्का कानमा ठोकिरहेको थियो। राणा के कसो भयो होला भनेर चिन्तित बन्दैथिए।

सेट बज्यो - हाम्रो गणमा कसैलाई केही भएको छैन सर।

मन ढुक्क भयो। आफू बाँचियो भने न संसार बचाउन सकिन्छ। राणाले आफ्नो मन शान्त त पारे। तर, यति ठूलो आवाज दिने गरी आएको भूकम्प र ततपश्चात वायुमण्डलमा कुदिरहेको दृश्य अशुभ लागिरहेको थियो।

परिस्थिति यस्तो थियो कि उनीमात्र गणमा रहेछन्, अरु सैन्य अधिकृतहरू बिदाको दिन भनेर घर गएका रहेछन्।

केहीबेरमा सिपाहीहरू कम्ब्याट लगाएर आइपुगे। सबैलाई सामेल गराए।

भयभीत थिए उनीहरू। कसैले घरमा फोन लागेन भनिरहेका थिए। आत्तिरहेका थिए।

अल आर ओके?,’ राणाले सोधे।

ओके सर,’ सामेल भएकाहरूले प्रत्युत्तरमा भने।

भक्तपुर सुकुलढोका नजिकको क्षेत्रबाट आवाज आएको हुनुपर्छ। आईमाई केटाकेटी चिच्याएजस्तो सुनिइरहेको थियो। बम पड्किएपछि उडेजस्तै वायुमण्डलमा धुलो दौडिइरहेको थियो।

एक प्लाटुन टोली भक्तपुर मुभ गर्नका लागि राणाले तयार पारे। गाडी तयारी अवस्थामै थियो। सुकुलढोकातर्फ जान निर्देशन दिँदै आफू पनि त्यही टोलीका साथ हिँडे।

भूकम्प गएको पच्चीस मिनेट पनि राम्रोसँग भएको थिएन होला, हामी रेडी भइसकेका थियौं,’ राणा सम्झिन्छन्।

जब भक्तपुर दरबार स्क्वायर अगाडि टोली पुग्यो। त्यहाँ त घर भत्केर बाटो बन्द भइसकेको रहेछ।

राणाले फेरि सोचे, ‘यस्तो धेरै ठाउँमा भएको हुनुपर्छ, किनभने घर भत्केर इँटाको धुलो आकाशतिर डुलेको हुनुपर्छ।

गाडीबाट उत्रिए। जवानहरू पनि उत्रिए। अगाडि घर भत्केको थियो। स्थानीयको एउटा समूह बालबच्चा लिएर सेना भएतिर दौडिरहेको थियो। जीउ धुलाम्मे थियो। भर्खर धुलोबाट निस्किएजस्तो। सबै अत्तालिएका थिए। कोही रुँदै थिए, कोही घर भत्कियो मेरो भनेर कराइरहेका थिए। यस्तो वातावरणमा के गरुँ कसो गरुँ भइरहेको थियो।

मान्छेहरूमध्येबाट कसैले भने- त्यो भत्केको घरमा मान्छे मरेको छ।

राणा अगाडि बढ्न भनेर टोलीसाथ तयारी हुँदैगर्दा चारैतिरबाट आवाज आउन थाल्यो यता पनि भत्केको छ, यता मेरो बुबा च्यापियो, आमा। मेरो छोरा मर्यो। लाश निकालिदेऊ। कतिकति।

राणालाई यी सब कुराले सोचनीय बनायो। मनमनै बोले, ‘वायुमण्डलमा कुदेको बादलरुपी धुलोको यथार्थ यो रहेछ।

हजुरआमा र बुबाको डेथ भइसकेको छ हजुर,’ कोही बोल्यो।

बोल्नेहरू धेरै थिए, को कस्तो के हो भनेर खुट्याउने परिस्थिति थिएन। दृश्य टोलाउँदै गर्दा कसैले बोलेको यो कुराले उनले आफ्नो बाबुआमा पनि सम्झे। के भयो कसो भयो भन्ने चिन्ता दिमागको एउटा कुनामा दौडिरहेको थियो।

अर्कोतिर आफू मरेर अरुलाई बचाउनुपर्ने नेपाली सेनाको कर्तव्य हुन आउँछ भन्ने फौजी जिन्दगी पनि सम्झे। आफू त जे होला पहिले दुःखमा परेका जनताको सेवा गर्नतिर अग्रसर हुनु जरुरी हुन आउँथ्यो।

भित्र दुई जना केटाकेटी छन्, उनीहरू च्यापिएजस्तो लाग्छ चिच्याइरहेका छन्,’ फेरि अर्को कोही बोल्यो।

कर्णेल राणासँग ९ जनाको टोली थियो। सेक्सन लेभलमा ११ जनाको अर्को एउटा टोली क्याप्टेन मनोज थापाको नेतृत्वमा तयार भइसकेको थियो।

नेपाली सेना सानो-सानो टुक्रामा विभाजित भएर मुभ भयो।

गणभित्र ३०८ जनाको टोली थियो। मातहत पोस्ट गरेर ८१९ जनाको टोली यो गण मातहत थियो। चार वटा गुल्म थिए। त्यसैले पनि होला राणालाई चारै तिरबाट सहयोग जुट्यो, सेनाको जनशक्ति मैदान उतार्न समय लागेन।

मेजर रञ्जीत थापाको नेतृत्वमा रहेको नगरकोट सुरक्षा गुल्ममा ९३ जनाको टोली थियो। सैनिक स्कुल सल्लाघारीमा क्याप्टेन निराजन सापकोटाको नेतृत्वमा ६२ जनाको टोली थियो। तलेजु मन्दिर सुरक्षार्थ १९ जनाको टोली थियो। सुरक्षा पोस्ट तलेजु पुरातत्व विभागमा जमदार वीरेन्द्र भट्टसहित १९, लप्टनडाँडा इन्टेलिजेन्स स्कुल, आर्मी स्कुल शैक्षिक समाचार शिक्षालय सुरक्षा बेसमा पनि थिए २८ जना।

राणाले सेटबाट आदेश दिए आफ्नो ठाउँबाट टोली बनाएर निस्किनू।

भूकम्प, आगलागी, बाढीपहिरोजस्ता दैवी प्रकोपमा हो हामीलाई बाहिर निस्किन कतैबाट पनि आदेश आइरहन पर्दैन,’ नेपाली सेनाको कर्तव्यबारे राणा यसरी भन्छन् जंगी अड्डामा यस्तो भइरहेको छ भनेर जानकारीको अपडेट चाहिँ कमाण्डरले सुनाइरहनुपथ्र्यो, त्यति हो।

आँखा अगाडि जनताको रोदनले समय खेर फाल्न हुँदैन भन्ने संकेत गरिरहेको थियो। राणालाई भक्तपुरका सबै गल्ली गल्ली डुल्न मन लागिरहेको थियो। मातहत सबैतिरको सुरक्षा पोस्टलाई निर्देशन दिइसकेको हुनाले सेना आउन बेर लाग्थेन। उनी आफैंसँग पनि बुट, हेल्मेट र युनिफर्म लगाएको टोली तयारी अवस्थामै थियो।

सानो गाडी पनि सबैतिर दौडाइदिउँजस्तो लागेको थियो। तर, बीचबीचमा अवरोध छ भन्ने सुन्नमा आएकाले समस्या परिरहेको थियो कर्णेल राणालाई।

कहाँबाट सुरु गर्ने त उद्धार? एकछिन त प्रश्नचिन्ह अगाडि टक्क उभियो। किनभने चारैतिरबाट बचाउ...बचाउ आवाज आइरहेको छ।

कर्णेल राणा पहिले जहाँ पुगेका थिए, दरबार स्क्वायर त्यहीँबाट सुरु गरौं भन्ने लाग्यो। सर्वप्रथम दुई जनालाई उद्धार गर्ने काम त्यहीँ भयो।

सबै ध्वस्त भएजस्तो लागेको थियो। चार तलाको घर। सबैभन्दा तल परिवार बस्दा रहेछन्। चार तलामध्ये दुई तला पूरै झरेको थियो। झरेको त्यो दुई तलाको इँटा माटोले बाटो ब्लक भएको थियो।

त्यही घरबाट चढ्ने कुरा भएन। किनभने पराकम्प घरिघरि आउन थालेको थियो।

हातमा केही पनि सामग्री थिएन। वरिपरि भेला भएका मान्छेलाई डोरी मागे। अनि त्यही डोरीमात्र बोकेर नेपाली सेनाका सिपाहीहरू त्यो भत्केको घरभित्र रहेका मान्छे निकाल्न अर्को घरको छत हुँदै छिरे।

केहीबेर नलाग्दै सेनाले त्यो घरमा च्यापिएका एक जना पाका हजुरबुबाको शरीर भेटायो। उनको ढुकढुकी चलिरहेको थियो। पहिले उनलाई अस्पताल लैजान जरुरी थियो। कर्णेल राणाले बृद्धलाई अस्पताल लैजाने बन्दोबस्त मिलाइदिए। त्यहीँ अर्की बृद्धा हजुरआमाको लाश भेटियो।

दलिन खसेर थिचेको रहेछ,’ राणाले भूकम्प गएपछिको पहिलो उद्धार सम्झिए। त्यो सकिएपछि राणा केटाकेटी च्यापिएको ठाउँतर्फ केन्द्रित हुन पुगे।

आँखी झ्याल थियो। विभिन्न चित्रले कलात्मक घर, इँटा ढलानको पक्की थियो। दोस्रो तलाको भर्याङले किचेको थियो। उनकी दिदी चाहिँ सकुशलै थिइन् तर बन्धक अवस्थामा।

चार पाँच जना स्थानीय र त्यसमाथि सेनाको टोलीले उनीहरूलाई त्यहाँबाट निकाल्ने प्रयास थाल्यो।

कोही त के गर्ने कसलाई भन्ने थाहा नभएर रोइरहेका थिए,’ राणा भन्छन्, ‘को कहाँ कस्तो अवस्थामा छ भन्ने थाहै थिएन।

आधा घन्टा पैंतालिस मिनेटको प्रयासपछि दुबै जना दिदीभाइको उद्धार सफल भयो। राणासहितको टोली त्यसपछि इनाचोकतर्फ लाग्यो।

***

दत्तराम मन्दिर, धुलैधुलो र भत्केका घरबाट निस्केको ढुंगामाटोको गन्ध वायुमण्डलमा बहिरहेको थियो। दुई सय मिटर पर मान्छेहरू कराइरहेका थिए।

राणाले सिधै त्यहीँ जाने निधो गरे।

त्यहाँको एउटा चार तले घर पूरै ढलेको भेटियोे। त्यहीँ वरिपरि तीन चार वटा घर सबै ढलेका थिए। वरिपरि भेला भएकाहरूले भित्र मान्छे किचिएको जानकारी दिए।

टोली पुनः आफ्नो कर्तव्यतर्फ केन्द्रित भयो। ८७ वर्षकी एक महिला रहिछन्।

टोलीले पाँच घन्टा लामो समयसम्म खोतलेपछि ती महिला ज्युँदै फेला परिन्। त्यस्तो गरी पुरिएकी मान्छे पनि जीवित भेटायौं,’ राणा सम्झन्छन्, ‘यो त मिराकल नै जस्तो भयो।

अर्कोपट्टि इनारकै साइडमा एक जनामात्र जीवित भेटिए। त्यहाँबाट तीन वटा लाश निकालियो। अगाडिको गल्लीबाट एघार वर्षे बालिकालाई उद्धार गरेपछि सेनाको टोलीको सक्रियताबारे स्थानीय मान्छेले प्रशंसा गर्न थाले।

स्टेचर थिएन। ब्लाङकेटको स्टेचर बनाएर उनलाई अस्पताल पठाइयो।

पछि म अस्पताल जाँदा ती युवती बितिन् भन्ने खबर आयो,’ राणा भन्छन्, ‘उद्धार गरिएकी महिला चाहिँ म हनुमानघाट जाँदा स्कुलको बाहिरपट्टि घाम तापेर बसिरहेको अवस्थामा भेटाएँ, ज्यादै खुसी लागेको थियो।

***

क्याप्टेन कृष्ण बासी २०७१ असार १५ गते समलजीत गुल्म बारा कलैयाबाट ज्वाला दल गणमा सरुवा भएर आएका थिए। भक्तपुरकै स्थानीय बासिन्दा भएका कारण उनलाई यहाँका टोलटोल र गल्ली थाहा थियो।

२०७२ साल वैशाख १२ गते पनि सदाझैं ब्यारेकभित्र आफ्नै कोठामा थिए। बिस्केट जात्रा भर्खर सकिएको थियो। भक्तपुरमा देवाली चलिरहेको थियो। भोज खाने तयारी हुँदै थियो।

फोनमा बोलिरहेका थिए। अचानक गडड आवाज आयो। भुइँचालो आएको थाहा पाइहाले। हतारहतार दौडिएर उनी जीमहलको पछाडिपट्टि पुगे। त्यहाँ अडिन पनि अप्ठेरो भयो किनभने बिजुलीको पोल यताउती गरिरहेको देखे।

पोल ढल्ला भन्ने पिरले उनी खुला चउरमा दौडिए। जता पनि धुलो उडिरहेको थियो। १ देखि १० नम्बर वडाभरि अत्यधिक मात्रामा धुलो उडिरहेको थियो।

भर्खर तालिम सकेर सिपाहीहरू आइपुगेका थिए, शनिबार आफ्नो घन्टे बिदा सकेर। तिनीहरू सबैलाई सामेल गराए र ३५ जनाको टोली लिएर उनी धुलो उडेको क्षेत्रतर्फ दौडिए।

गणको गेटमै एक जना व्यक्ति स्कुटर चलाएर आउँदै थिए। तिनले भने, ‘जताततै ध्वस्त छ, १७ नम्बर वडातिर मान्छे च्यापिएका छन्।

कता जाउँ के गरुँ टुंगो थिएन, त्यसैले उनी ती स्कुटर चालकले भनेबमोजिम १७ नम्बर वडातिर दौडिए। पाँच तले अग्लो घर। माटोको गारो, पूरै ढलान झरेको थियो। एक जना बुढा एक जना बुढी रहेछन् त्यहाँ च्यापिएका।

बुढा बितिसकेका रहेछन्। ट्रकको चार वटा जग निकालेर त्यो झरेको भागलाई उचाल्यो टोलीले। त्यसपछि ढुकढुकी चलिरहेकी बृद्धा फेला परिन्। उनलाई तुरुन्तै भक्तपुर अस्पताल लगियो। तर, उनको उपचार गर्न ढिला भइसकेको थियो, अस्पतालमै बितिन्।

कता के गर्ने भन्ने टुंगो नभएको बेला जसले जता भन्छ उतै जानु बाध्यताजस्तै थियो। विधंश भएको क्षेत्र थियो। वरिपरि मान्छे कोही आफ्ना लालाबाला लिएर बाहिर चिच्याउँदै, रुँदै, कराउँदै निस्केका थिए, कोही च्यापिएकाको उद्धारका निम्ति हारगुहार गरिरहेका थिए।

बासी नेतृत्वको टोली स्थानीयले जताजता भन्छन् त्यतै मुभ हुँदै गयो।

स्थानीयले भक्तपुर१३ को नास्मा गल्लीतिर इसारा गरे। जहाँ एउटा घर लडेको रहेछ। एक जना बुढा मान्छे, एक बुढी र बच्चालाई घरले किचेको रहेछ।

चार तले घर पूरै खसेको थियो। दोस्रो तला अलिकति बाँकी थियो,’ बासी भन्छन्, ‘तीन जनालाई नै उद्धार त गरियो तर सबैको मृत्यु भयो।

पोटरीस्क्वायर वडा नम्बर १२ जहाँ १२ जनाको मृत्यु भइसकेको थियो। कतिपय लाश स्थानीयले निकालेका थिए भने कतिपय सेनाको टोलीले निकाल्यो।

हृदयविदारक लाग्ने त्यो लाशलाई छिचोल्दै एक जना महिला आइन्। अनुहार आँशुले भरिएको थियो। आफन्त बियोगमा छटपटिएकी थिइन्। सेनाको टोलीछेऊ आएपछि उनले भनिन्, ‘सर मेरो ६ वर्षकी छोरी च्यापिएकी छ, निकाल्दिनुस् न।

दुई हात जोडेकी थिइन्। रोइरहेकी एउटी महिलाको त्यो अनुरोधपूर्ण नमस्कारले बासीको पनि मन अमिलो भयो। तर, धैर्यतालाई बचाइराख्नुको विकल्प थिएन।

बासी नेतृत्वको टोली ती महिलाको घर लाग्यो। सर्वप्रथम घरभित्र प्रवेश गर्न खोजेको थियो, वाल लड्यो। वाल लडेपछि टोली छिर्न सकेन।

स्थानीय एक बृद्धको मृत्यु भएको थियो। घर पूरै ब्लकमा परेकाले कतैबाट भित्र छिर्न सकिन्छ कि भन्ने आश थियो। त्यसैले ती बृद्धको घरबाट भर्याङ लिएर टोली गयो। भर्याङको सहयोगमा विकास आले झ्यालबाट छिरे। त्यतिञ्जेलसम्ममा ३५ जनाको अर्को टोली आइसकेको थियो। ती बालिका सबैभन्दा माथिको तलामा च्यापिएकी रहिछन्, टोलीले जीवितै उद्धार गर्न सक्यो।

पराकम्प आउन छोडेको थिएन। उद्धारकैबीच घरिघरि पराकम्प आउँदा मनमा हल्का डरको सिरेटो चल्थ्यो। तर, पराकम्प आउँछ भनेर आफ्नो कार्य रोक्न कर्तव्यले दिन्नथ्यो। सोहीकारण पनि सेनाको टोली आफ्नो कर्तव्यपथमा लम्किरह्यो।

भोलिपल्ट दिउँसो १२ः१५ बजेको थियो। बासीलाई फोन आयो, कर्णेल साहेबहरू आउँदै हुनुहुन्छ भनेर। वडा नम्बर ७ मा पुग्दा सेनाको त्यो टोलीसँग भेट भयो। त्यहाँ पुगेपछि ५६ जना गर्दै टिम बाँडियो।

भोलाही वडा नम्बर ५ पुग्दा क्याप्टेन राजीव कार्की भेटिए। उनको कमाण्डमा अर्को टोली निस्केको रहेछ। उनीहरू चोर्फा ७ नम्बर वडा गए। जहाँ २२ जना व्यक्ति च्यापिएको खबर थियो। २२ मध्ये उद्धार गर्दा १४ जनाको मृत्यु भयो। बाटोमा बसेका पनि मरेका थिए, देवालीको भोजन गरिरहेका बेला घर भत्केको रहेछ।

त्यसपछि टोली इनाचोक लाग्यो। जहाँ एकैठाउँ पाँच जनाको लाश भेटिएको थियो। बूढी आमा दुई जना, अधवैंशे एक र दुई छोराछोरी च्यापिएका रहेछन्। लाश निकाल्दै आफन्तलाई बुझाउँदै गए।

यता पनि लडेको, उता पनि लडेको। कोही मरेका, कोही जीवित। कसको उद्धार गर्ने कसको नगर्ने खुबै समस्या आइलाग्यो। त्यहीबेला सेनाले निर्णय गर्यो, जो जीवित छ उसको मात्र उद्धार गर्ने। किनभने मृतकको उद्धारमा समय दिँदा समयमा उद्धार नपाएर जीवित व्यक्तिको ज्यान जान पनि सक्थ्यो।

मृतकको लाश निकाल्दै गरौंला, पहिला जीवितलाई उद्धार गरौं भन्ने निर्णय भयो,’ बासीको भनाइ रहेको छ।

दत्तात्रयको सकोलान भन्ने ठाउँ, वडा नम्बर ३। एक जनामात्र जीवित रहेछन्। नेपाल प्रहरी र सेनाको संयुक्त टोलीले साँझ ६ बजेतिर उद्धार गरेर अस्पताल पठायो। त्यसपछि फेरि सूर्यमणि १, , ३ तर्फ केन्द्रित भयो टोली। किनकि, त्यहाँ धेरै मान्छेको ज्यान तलमाथि भएको भन्ने खबर थियो।

नभन्दै पुग्दा त्यस्तै रहेछ। त्यहाँ २६ जनाको लाश भेटिएको थियो। त्यहाँ धेरैभन्दा धेरै व्यक्तिलाई जीवित उद्धार गरियो। १८ जना व्यक्तिलाई सेनाले उद्धारपश्चात अस्पताल पठाएको थियो। सबभन्दा बढी बच्चा र आईमाई थिए।

त्यहाँ त्यति काम भ्याएर सेनाको टोली फेरि दत्तात्रयकै जेला गल्ली र मर्को गल्लीतिर लाग्यो। क्याप्टेन मनोज पनि थिए। झन्डै ७ बजेको थियो। सूर्यमणिको टोचा भन्ने ठाउँमा घर लडेर पहाड बनेको थियो। त्यहाँबाट चार जना मान्छे जीवितै निकालियो। २६ जना च्यापिएका रहेछन्।

त्यहीबेला एक जना बृद्ध गुनासो गर्दै आए। उनले भने, बच्चा च्यापिएको छ। मोटरसाइकल राख्ने ठाउँमा बच्चा च्यापिएको छ भनेर बृद्धले गुनासो गरेपछि टोली त्यता मोडियो। खोज्दै जाँदा साढे ६ घन्टापछि त्यहाँबाट बच्चा जीवित उद्धार गरियो।

जहाँ नेपाली सेना, त्यहाँ उत्कृष्ट कार्यसम्पादन। खाइनखाइ, वैशाख महिनाको त्यो गर्मी, त्यसमाथि भूकम्पले छियाछिया भएको ठाउँमा जोखिमको थोरै पनि पर्वाह नगरी, आफ्नो जीउज्यानको बाजी थापेर जनताको काममा समर्पित भएको देखेर स्थानीय रुन्थे। ती बच्चाको उद्धारपश्चात स्थानीयको ठूलो भीड उत्साहित भएर अगाडि बढ्यो र बासीलाई उचालेर दौडाउँदै जुलुश लाउन थाल्यो।

नारा लाग्यो, नेपाली सेना जिन्दावाद।

आफूले गरेको कार्यले स्थानीयबाट प्रशंसित हुँदा सेनालाई थप जोशजाँगर प्राप्त हुँदै गएको थियो।

वैशाख १३ गते टोली मुलढोका४ तिर प्रस्थान गर्यो। त्यहाँको एक घरमा फलामको कुर्सीले च्यापिएको ठाउँबाट एक जनाको जीवित उद्धार भयो।

कतिबेला सुत्ने कतिबेला उठ्ने ठेगान हुन्नथ्यो,’ बासी भन्छन्, ‘जताजता मान्छेले बोलाउँछन्, उतैउतै गयौं।

त्यसरी टोलटोलमा डुल्दै जाँदा बासीले आफ्नै घर भत्केको थाहा पाए। धन्य कसैलाई केही पनि भएको रहेनछ। आफन्त चिन्तित अवस्थामा भेटिएका थिए। कसलाई के भन्ने सान्त्वना दिने पनि अवस्था थिएन। कर्तव्यले थिचेको थियो। जनता उद्धारको पर्खाइमा थिए।

एकातिर भोटिघाटको दृश्य बिरत्त लाग्दो थियो। लाशहरू पोल्ने मान्छेसम्म थिएनन्। न मलामी थिए।

दिउँसो १ बजेको थियो। सेनाको टोलीले केही पाल वितरण गर्ने योजना बनाएको थियो। रेडक्रस आफूले पाल बाँड्न नसकेपछि त्यो पाल सेनाको जिम्मामा दिएको थियो। सेनाले पाल बाँड्दैछ भन्ने सुनेपछि स्थानीयको भीड त्यतै बढ्यो।

जनता सेनालाई समातेर धुरुधुरु रुन्थे। कसलाई दिने, कसलाई नदिने, थोरैमात्र आइपुगेको त्यो पाल बाँड्न सकस भयो। पाल बाँड्न एउटा ट्रक आएको थियो। १७ नम्बर वडामा २५ वटा पाल छोड्यो। ब्यासी वडा नम्बर १० मा २५ वटा छोड्यो। गाडीको पछाडि धेरै मान्छे दौडिएका थिए, तर सबैलाई पाल दिन सकिएको थिएन। महालक्ष्मीमा चार वटा छोडे। कमलविनायक आयो टोली, त्यहाँ बाँड्न सकेन। महेश्वरीको खेल मैदानतिर लाग्यो। ३ नम्बर वडामा धेरै नै क्षति भएको थियो। सबै मान्छे खुला मैदानमा भेला भएका थिए। त्यहाँ पालैपालो गरेर पाल बाँडियो। त्यसपछि सेनाको टोली कमलविनायकमा गयो। २५ वटा बाँकी राखेर पाँच बण्डल पाल गाडीबाटै फुत्तफुत्त फाल्दै टोली अगाडि बढ्यो।

१९ गतेसम्म त लाशै निकालियो। लाश निकाल्न विदेशी टोली पनि संलग्न थियो। टर्की, जर्मनीको टोली थियो। १४ गतेको दिन इन्डियन आर्मीको एउटा टोली आएको थियो। १० बजेको समय थियो। तर, उनीहरु फर्के। पछि फेरि आए।

पाँच छ दिनपछि दुई जना कर्णेलको साथमा आएको थियो भारतीय आर्मीको। १७÷१७ जनाको कमाण्डमा थिए उनीहरू। उनीहरू स्केट चलाउँथे। स्काभेटर चलाउन सक्ने स्थिति नै थिएन।

त्यही दिन सुरक्षा समितिको बैठक डाकियो। सेनाका तर्फबाट क्याप्टेन बासी थिए। सशस्त्र र जनपथ प्रहरीका एक एक जना इन्स्पेक्टर आएका थिए। त्यहाँ सामान्य किसिमको ब्रिफिङ भयो। र, संरचना हटाउने विषयमा निर्णय भयो।

हामी खाली हात थियौं, उपकरण थिएन,’ बासी भन्छन्।

जेलामा टर्की, नेदरल्याण्ड, पोर्चुगल, कोरियनलगायत देशबाट आएको उद्धार टोली पनि सक्रिय थियो।

सेना, सशस्त्र र जनपथ प्रहरी, नगरपालिकाका इन्जिनियरसहितको टोली संरचना हटाउने कार्यमा सक्रिय थियो। त्यसमा सेनाका २५ जना जनशक्ति परिचालन भएका थिए। सूर्यमणिको त्यस्तै ६ फिटको गल्ली थियो, काम त्यहीँबाट सुरू गरिएको थियो। जहाँ धेरै भत्केको पनि थियो। त्यहाँ छिर्दाछिर्दै ठूलो भुइँचालो आयो।

वाल बङ बङ खस्न थाल्यो। यता पनि खस्ने उता पनि खस्ने भइरहेको थियो।

पहिले वरिपरि रहेका स्थानीयमा सेनाको नजर पर्यो। बासी नेतृत्वको टिम जनतालाई सुरक्षित ठाउँमा लान फेरि अगाडि बढ्यो। पहिले बुढाबुढीलाई सुरक्षित ठाउँ पुर्याए। अनि अरुलाई पनि पालो गरेर सुरक्षित ठाउँमा पठाए। तर, त्यहीबेला भूकम्पले घर भत्किँदा उछिट्टिएको एउटा मुढो आएर तेर्सियो, देब्रे खुट्टा त्यहाँ ठोक्कियो। मुढोले खुट्टा ठोक्किएपछि बासी सामान्य घाइते भए। स्थानीय  जनस्वास्थ्य कार्यालयमा उपचारका लागि गए। एक हप्ता उपचारमै बित्यो।

एक हप्ते विदापश्चात फेरि चाँगुतिर गए बासी। सेनाले दिएको लोडर १ थान थियो। पिएसजी ३२० एक थान थियो। त्यसले पनि राम्रोसँग काम गर्न सकेको थिएन। संरचना हटाएपछि १,,३ नम्बर वडा सबै ग्राउन्डजस्तो भयो। १९ वटा टिपर, पाँच वडा ब्याकलोडर, पिसी २०० दुई थान थियो। पिसी २०० छिराउन खोजियो, धेरै तौल भएका कारण भित्रसम्म छिर्न सकेन। त्यसपछि रुट डाइभर्ट गरेर त्यसलाई संरचना हटाउने कार्यमा प्रयोग गरियो। चोर्चा भन्ने ठाउँमा पन्ध्र दिन समय लागेको थियो।

भक्तपुरमा खासै समन्वय हुँदैनथ्यो। सेनाको टोली प्रायः एक्लैएक्लै खटिइरहेको हुन्थ्यो। सडक विभागले कहिले बजेट छैन, कहिले तेल छैन भनेर अल्झाइरहन्थ्यो। इन्जिनियरले सहयोग त गर्थे तर खाली बजेट छैनमात्र भन्ने गर्थे।

त्यसपछि क्याप्टेन बासीले सबै इन्जिनियर बोलाए। १७ जनाको टिम थियो। उनले सम्बन्धित वडामा पूर्ण क्षति, आंशिक क्षति विवरण बनाउन लगाए। आठ दिनको समय लाग्यो सबै विवरण आउन।

क्याप्टेन बासीको अनुभवमा उद्धारमा खटिएको बेला मन छुने हृदयविदारक घटना देखियो। हातहातै लाश कुदाइयो, घाइते उद्धार गरियो। तर मनमा कहिले पनि वितृष्णा फैलिएन। सुरक्षित साथ बस्थे, पराकम्प आएको बेला टोलीलाई होसियारी अपनाउन उर्दी गर्थे।

आफ्नो टोलीका एक जना पनि जवान घाइते भएनन्, जसरी गएका थिए त्यसरी नै फर्किए।

आत्मविश्वासले पनि हो,’ उनी भन्छन्, ‘हामी कर्तव्यमा बढी केन्द्रित हुन्थ्यौं, आफ्नो आन्तरिक जीवन के छ त्यतापट्टि ध्यान दिँदैनथ्यौं, फौजीको जीवन भएका कारण पहिले जनता भन्ने भावना आउँदो रहेछ।

घरपरिवार कहाँ के गर्दैछन् भन्ने पत्तो थिएन। घरिघरि फोन चाहिँ आउँथ्यो। त्यतिबेला उनी भन्थे, म सुरक्षित छु, सुरक्षित तरिकाले बस्नु है।

खाना खाने ठाउँ हुन्नथ्यो, सबैतिर ध्वस्त। टुसुक्क बस्ने ठाउँ नरहेकाले उनीहरू खाना खानका लागि मसानघाट पुग्थे। जहाँ एकै परिवारका ७-८ जनासम्मको लाश पोलिन्थ्यो। हनुमानघाट जहाँ तीन सयभन्दा बढी लाश एकै ठाउँ जलाइएका थिए।

देवालीमा बोका काटेर पोल्ने चलन छ,’ बासी भन्छन्, ‘त्यहाँ त्यसरी नै लाश पोलिन्थ्यो।

स्थानीयबाट सेनालाई ठूलो मद्दत पुगेको थियो। स्थानीय त कतिपय ठाउँमा नजानु भन्थे, त्यहाँ जोखिम छ भन्थे। तर जहाँ पनि पुग्नुपर्ने अवस्था थियो। गणको तर्फबाट लोकेसन पत्ता लगाउन गाह्रो थियो, क्याप्टेन बासी भक्तपुरका स्थानीय भएका कारण सजिलो भएको थियो। आफू पनि खटिने, सेनाका जवानलाई पनि ठाउँ देखाएर खटाउने कार्यमा उनको ठूलो भूमिका रहेको थियो।

इण्डियन आर्मी, नेपाली आर्मी, भग्नावशेष व्यवस्थापन समिति थियो। तीनवटै निकाय मिलेर भग्नावशेष पन्छाएको थियो। उपकरण कम थियो, सुरुदेखि नै उपकरणको खाँचो खड्केको थियो तर अन्तिम अवस्थासम्म उपकरण प्राप्त भएन। गोलमडी, चोर्चा, इनाचोक, ब्यासी, सूर्यमणि, जेला, चासुखेल, भुलुखेलको भग्नावशेष पन्छाइएको थियो। भक्तपुर नगरपालिकाभित्र मात्र ८ हजार घर भत्केका थिए।

तस्बिरहरू : इन्टरनेट


 

More form the Internet

loading...